कृष्णबहादुर महरा नेकपामा नरहेको खुलासा, एमाले र माओवादी मिलेपछि दिएका थिए पार्टीबाट राजीनामा

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १६ : ३२
कृष्णबहादुर महरा नेकपामा नरहेको खुलासा, एमाले र माओवादी मिलेपछि दिएका थिए पार्टीबाट राजीनामा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता नरहेको खुलेको छ ।
संसदीय सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख महरा नेकपामा नरहेको खुलेको हो । 

नेकपाले महरालाई सभामुख तथा सांसदबाट राजीनामा दिन सुझाव दिएको थियो तर उनले सभामुखबाट राजीनामा दिए पनि हालसम्म सांसद पदबाट राजीनामा दिएका छैनन् । उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेताहरु बताउँछन् । 

नेकपाका प्रमुख सचेतक देव गुरुङले महरा नेकपामा नरहेको भन्दै पार्टीको सुझाव मान्न उनी बाध्य नरहेको बताएका छन् । उनले भने, ‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो । पछि फेरि उहाँ पार्टीमा जोडिनुभएको थाहा छैन् । पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दवाव दिन वा निर्देशन दिन मिल्दैन ।’
सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी थिए । तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख बने भने एमालेको तर्फबाट शिवमाया तुम्वाहम्फे उपसभामुख बनेकी थिइन् । 

पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै काँग्रेसले विरोध गर्न थालेपछि महराले पार्टीबाट राजीनामा दिएका थिए । त्यसैले आधिकारीक हिसाबले महरा पार्टीमा छैनन् । त्यही भएर उनी नेकपाको कुनै पनि निर्देशन वा सुझाव मान्न तयार नभएको बताइएको छ । 

अहिलेसम्म महारामाथि लागेको अभियोग पुष्टि भएको छैन । जुन दिन अभियोग पुष्टि हुन्छ त्यो दिन सांसद पद स्वतः जान्छ । त्यही भएर महराले आफ्नो सांसद पदबाट राजीनामा दिएका छैनन् । लागेको आरोप गलत ठहरिए सांसद पदमा फर्किने उनको योजना रहेको छ । यदि अहिले नै राजीनामा दिइ हाले भने मुद्दा जितेपछि पनि पुनः बहाली हुन सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस