घुँडा खिइने समस्याबाट कसरी बच्ने ?

प्रकाश सिग्देल

मंगलबार, २८ असोज २०७६, १४ : ३३
घुँडा खिइने समस्याबाट कसरी बच्ने ?

पछिल्लो समयमा मानिसहरु हाडजोर्नी दुखाईको समस्याका कारण निकै ठुलो तनावमा पर्ने गरेका छन् । उमेर बढ्दै जाँदा ढाड दुख्ने, घुँडाका जोर्नीको समस्या सृजना हुने, नसा च्यापिने लगायतका समस्याबाट धेरै मानिसहरु पिडामा परेका छन् । पछिल्लो समयमा युवाहरुमा दुर्घटनाका कारण हाडजोर्नीको समस्या बढि देखिएको र बृद्धबृद्धाहरुमा उमेरका कारण यस्तो समस्या सृजना हुन थालेको चितवनको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा प्रमोद लामिछानेले बताउनु भयो । 

युवाहरुमा  दुर्घटनामा परि माच्चिएको हड्डीका कारण समस्या बढि देखिएको र बृद्ध बृद्धाहरुमा घुँडाको दुखाई कुईना कुरकुच्चा र ढाडको दुखाईका कारण निकै ठुलो समस्या देखिएको लामिछानेले बताउनु भयो ।  घुँडा र ढाडको दुखाईले हिँडडुल गर्न बस्न उठ्न नै नमिल्ने अवस्था सृजना हुने गरेको यसका बिरामीहरु बताउँछन् ।

हाडजोर्नी बिशेषज्ञहरुका अनुसार घुँडाको जोर्नीभित्र एक प्रकारको तरल पदार्थ हुन्छ, जसले हाडभित्रको घर्षणलाई कम गर्दछ । साथै जोर्नीलाई पोषण पनि प्रदान गर्दछ । त्यस्तै जोर्नी बनाउन संग्लन रहेका हाडहरु, कुर्कुरे हाड (कार्टिलेज) ले छोपिएको हुन्छन्, जसले हाडबीचको घर्षण कम गर्दछ र जोर्नीलाई लचिलो बनाउँदछ । 

जोर्नीभित्र यस्ता अन्य धेरै बनावटहरु हुन्छन्, जसले जोर्नीभित्र घर्षण कम गर्ने र जोर्नीलाई पोषण दिने काम गर्दछ । यिनै तत्वहरुको कमी हुँदै जाँदा घुँडाको हड्डी  खिइने बिशेषज्ञहरु बताउँछन् ।

घुँडा खिइनु एउटा प्राकृतिक प्रक्रिया भएको हाडजोर्नी रोग बिशेषज्ञ डा लामिछाने बताउनु हुन्छ । हड्डी खिइने धेरै कारणहरु रहेको र यसले विभिन्न किसिमका समस्याहरु निम्त्याउने उहाँको भनाई छ । त्योमध्ये घुँडा दुख्नु ,घुँडा सुनिनु, घुँडा बाँङ्गो देखिनु, घुँडा मारेर वा खुम्च्याएर बस्न गार्ह्रो हुनु, भुइँबाट उठ्न गार्ह्रो हुनु, सिँढी चढ्न गार्ह्रो हुनु आदि रहेको उहाँ बताउनु हुन्छ ।

घुँडा खिइनुको रोकथामको उपायहरु

- पौष्टिक आहार खाने

- घुँडालाई असर पर्ने क्रियाकलापहरु नगर्ने

- घुँडा मारेर धेरै बेर नबस्ने

- अनावश्यक रुपमा सिँढी तलमाथी नगर्ने

- घुँडालाई चोटपटक देखि जोगाउने

- नियमित रुपमा ब्यायाम गर्ने 

- अग्लाे सिरानी हालेर नसुत्ने

घुडाँ खिइएकोमा उपचार बिधि

- फिजियोथेरापी

- औषधि सेवन

- शल्यक्रिया

प्रतिक्रिया दिनुहोस