यसरी बिते चिनियाँ राष्ट्रपति सी जिनपिङका दुइ दिन नेपालमा

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १५ : १६
यसरी बिते चिनियाँ राष्ट्रपति सी जिनपिङका दुइ दिन नेपालमा

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ दुइदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । शनिबार साँझ पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका राष्ट्रपति सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाइ गरेकी थिइन् । उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, अन्य मन्त्रीगणलगायतका संवैधानिक निकायका उच्च पदस्थ पदाधिकारीहरु उनको स्वागत र बिदाइका लागि विमानस्थलमा पुगेका थिए । 

अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई नेपाली सेनाले २१ तोपको सलामी सम्मान गारत अपर्ण गरेको थियो । विमानस्थल पुगेका उच्चपदस्थ नेपाली अधिकारीहरुले पनि सीलाई स्वागत गरेका थिए ।

विमानस्थल बाहिर नेपाल प्रहरीको तर्फबाट साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो भने बालबालिकाहरुले चिनियाँ भाषामा उनलाई स्वागत गरेका थिए ।

ठाँउठाँउमा स्वागत गेट
विमानस्थलबाट सोल्टी होटलसम्मको यात्राका क्रममा राष्ट्रपति सिलाई ठाँउठाँउमा स्वागत गेटद्धारा, साँस्कृतिक झाँकीद्धारा स्वागत गरिएको थियो । सडकका किनारबाट सरकारी कर्मचारी तथा नागरिकले नेपाल र चीनको झण्डा लिएर स्वागत गरेका थिए । विभिन्न जातजातीका मौलिक झाँकी तथा पञ्चेबाजा बजाइएको थियो ।
साझँ ६ बजे राष्ट्रपति सी होटल सोल्टीमा पुगेका थिए । साँझ ६ः४५ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शीतल निवास पुगेका थिए । शीतल निवासबाट फर्किएर राती ८ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सीलाई होटल सोल्टीमा बसोबासको व्यवस्था मिलाइएको थियो । नेपालको तर्फबाट सोही होटलमा रात्रीभोजको आयोजना गरिएको थियो । रात्रीभोजअघि दुवै देशका राष्ट्रपतिले सम्वोधन गरेका थिए ।

सुरुमा राष्ट्रपति विद्या भण्डारीले स्वागत सम्बोधन गरेकी थिइन् । उनको सम्बोधनपछि राष्ट्रपति सीले सम्बोधन गरेका थिए । सम्बोधन समारोहपछि रात्रीभोजको आयोजना गरिएको थियो ।

सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले नेपाल अव भू–परिवेष्ठ्रित मुलुकबाट भू–जडित मुलुकको रुपमा अघि बढाउन चीनले सहयोग गर्र्ने बताए । उनले नेपाल र चीन बीचका धेरै भन्दा धेरै सीमा नाका खोलेर हिमालय वारपार सम्पर्कलाई विस्तारलाई अघि बढाउने उलने बताएका थिए ।

राष्ट्रपति सीले नेपाल चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गरिने बताए भने केरुङदेखि काठमाडौंसम्मको सडकमार्गको स्तरोन्नतीका साथै सुरुङमार्ग निर्माणका लागि चीनले सहयोग गर्ने बताए ।

रात्रीभोजमा चिनियाँ राष्ट्रपति सीलाई नेपाली खाना
होटल सोल्टीमा भएको रात्रीभोजमा चिनियाँ राष्ट्रपति सीलाई नेपाली खानाको मेन्यू राखिएको थियो । उनलाई नेवारी परिकार मासको बारा, म।म।, साँधेको भटमासको  व्यवस्था गरिएको थियो । लुक्लाको सिमी, कुरिलो र क्वाँटीको झोल, इलामको चिया र गुल्मीको कफिको व्यवस्था गरिएको थियो । उनलाई खाना बनाउनका लागि चिनियाँ सेफ सँगै आएका थिए । 

राष्ट्रपति सीको सुरक्षाका लागि नेपाली सेनाले शनिवार दिउँसोदेखि नै हवाई गस्ती गरेको थियो । उनको सुरक्षाका लागि सेनाको नाइटभिजन हेलिकोप्टरबाट रातभर हवाई गस्ती गरेको थियो । उनी हिँड्ने बाटोको दायाँबायाँ रहेका घरका छतहरुमा समेत सुरक्षाकर्मी परिचान गरिएको थियो । उनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, नेपाली सेना तथा चिनियाँ जनमुक्ति सेनाले सुरक्षा दिएका थिए । 
उनको सुरक्षाका लागि काठमाडौं बाहिरबाट समेत सुरक्षाकर्मीलाई काठमाडौं झिकाइएको थियो भने झण्डै १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसरी बित्यो आइतबार
आइतबार बिहान सीले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरे भने नेकपाका मुख्य नेताहरुसँग सामूहिक रुपमा छलफल पनि गरे ।

प्रचण्डसँग भएको छुट्टै भेटवार्तामा दुई देशको आपसी हितका बारेमा कुराकानी भएको बुझिएको छ ।

यस्तै नेकपाका नेताहरुसँगको छलफलका क्रममा उनले नेकपाका नेताहरुलाई आत्मअनुशासन बलियो बनाउन सुझाव दिए । उनले चिनियाँ कम्युनिष्ट पार्टीमा आत्मअनुसशान बलियो रहेको भन्दै नेकपमा पनि आत्मअनुशासन बलियो हुनुपर्ने बताएका थिए ।

उनले जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार बलियो हुने बताएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै दुई देशका बिचमा विभिन्न २० वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यी अधिकांश विकासका योजनाहरुमा सहयोग सम्बन्धी समझदारीपत्र रहेको थियो ।

काठमाडौँ महानगरपालिका चीनको न्यान्सी महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्ने, बुटवल नगरपालिका र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, चीनको छेङदुमा वाणिज्यदुताबास स्थापना गर्ने, विभिन्न विकास परियोजनाहरुमा निर्माणमा सहयोग गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको सामुन्नेमा दुई देशका अधिकारीबीच भएको समझदारी पत्र आदानप्रदान गरिएको थियो । समझदारी समारोहपछि राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

दिउँसो साढे १ बजे उनी सोल्टी होटलबाट स्वदेश प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागेका थिए । बाटोमा उनलाई सरकारी कर्मचारी, सर्वसाधारणले बिदाई गरेका थिए ।


औपचारिक रुपमा बिदाई
त्रिभुवन विमानस्थलमा विभिन्न जातीय पोसाकमा सजिएर उनलाई बिदाई गरिएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सी जिनपङिलाई औपचारिक रुपमा बिदाई गरिन् ।

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारीहरु विदाईका लागि विमानस्थल पुगेका थिए ।

विमानस्थलमा नेपाली सेनाले राष्ट्रपति सी जिनपिङलाई विदाई सलामी अपर्ण गरेको थियो । २३ बर्षपछि उत्तरी छिमेकी देशबाट भएको उच्चस्तरीय भेटघाटलाई महत्वपूर्ण कुटनीतिक उपलब्धीका रुपमा हेरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस