मिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ

रासस

शनिबार, २५ असोज २०७६, २० : ५३
मिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ

फाईल फोटो

पोखरा । पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि निरन्तर छड्के जाँच र गस्ती गर्दै आएकामा आज ती ट्याक्सी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनोमानी भाडा लिने, मिटरमा नजाने जस्ता प्रवृत्तिलाई निरुत्साहन गर्न जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा नै सूचना सङ्कलन, निगरानी, चेकिङ, अनुगमन तथा स्विप अपरेशनलाई तीव्रता दिइएको छ ।

मिटरमा जान नमान्ने र मनोमानी भाडा लिने गरेको पाइएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस