यस्तो छ शी जिनपिङको संघर्षशील राजनीतिक जीवन

सफल खबर संवाददाता

बुधबार, २२ असोज २०७६, १४ : २८
यस्तो छ शी जिनपिङको संघर्षशील राजनीतिक जीवन

काठमाडौं । वर्तमान चिनियाँ राष्ट्रपति शी जिनपिङलाई सरल र प्रतिबद्ध कम्युनिष्ट नेताका रुपमा लिइन्छ । अहिले शक्तिशाली राष्ट्रपति बनेका शी जिनपिङको जीवन त्यति सहज देखिँदैन । जीवनका कैयन् उतारचढाव उनले झेलेका छन् । 

आफ्नै परिवारको उत्थान, पतन र उत्थानका श्रृंखला समेत उनले अनुभूति गरेका छन् । उनले दुख, श्रम र कम्युनिष्ट पार्टीको महत्व बुझेका छन् ।

शी विचारधारा

शी विचारधाराको एउटा महत्वपूर्ण अंग भनेको कम्युनिष्ट पार्टीभित्र अनुशासन हो । कम्युनिष्ट संस्कृतिका पक्षमा, सामूहिता र भ्रष्टाचाररहित संस्कृतिको पक्षमा शी विचारधारा उभिएको छ । अनुशासनको पालना गराउनु उनको विचारधाराको मुख्य आधार पनि हो । तर संयोग नै भनौं, पार्टीको लाइनविपरित गतिविधि गरिएको भन्दै शीका बुवालाई भने सांस्कृतिक क्रान्तिको बेला कार्वाही गरिएको थियो । जेलमा हालिएको थियो ।

सांस्कृतिक क्रान्तिकै कालखण्डमा उनले आफ्नी दिदी पनि गुमाउनु पर्यो । तत्कालिन लडाकु विद्यार्थी दस्ताले दिदीको हत्या गरेको केही मिडियाले उल्लेख गरेका छन् । बुवालाई श्रम कारागारमा पठाउँदा उनी १५ वर्षका थिए । परिवारको साथ छुटेपछि पनि उनको कम्युनिष्ट पार्टीप्रतिको आस्थामा कमी आएन । 

सांस्कृतिक क्रान्तिकै अन्तिम ताका उनी युवा कम्युनिष्ट लिगका सदस्य भए । अनि पार्टी सदस्यताका लागि आवेदन दिए । तर, उनको कम्युनिष्ट पार्टी पाउने सपना त्यति सजिलै पुरा भएन । उनले दश पटक निवेदन दिएपछि बल्ल पार्टीले उनलाई पत्यायो र पार्टी सदस्यता दियो ।

बेइजिङमा जन्मेका थिए शी जिनपिङ

सन् १९५३ को जुन १५ मा शी झोङ्छन र क्वीँ शिनको दोश्रो छोराका रुपमा बेइजिङमा जन्मेका थिए शी जिनपिङ । त्यतिबेला चीनको नयाँ जनवादी क्रान्ति सम्पन्न भएर महान अग्रगामी युगको शुरुआत गरेका थिए माओले । उनका बुवा त्यतिखेर पार्टी र सरकारको निकै महत्वपूर्ण पदमा थिए । उनी प्रचार प्रसार विभाग प्रमुख तथा राष्ट्रिय जन कंग्रेसका उपाध्यक्ष समते बनेका थिए । उनका एकजना दाजु थिए भने दुईजना दिदी । उनीहरुको पुख्र्यौली घर भने हेनान थियो ।

सन् १९६३ मा शी दश वर्षको भएको बेला उनका बुवालाई पार्टीबाट कार्वाही गरियो र हेनानाको ल्योयाङमा रहेको कारखानामा काम गर्न पठाइयो । त्यसको तीन वर्षपछि मई १९६६ मा सांस्कृतिक क्रान्तिका कारण शीको पढाईमा असर पर्यो । सांस्कृतिक क्रान्तिको बेला सबै माध्यमिक तहका विद्यालय बन्द गरिएका थिए । विद्यार्थीहरु समेत आन्दोलनमा उत्रिएका थिए । यही क्रममा शीको परिवार पनि निशानामा पर्यो । र, शी का एकजना दिदी मारिए ।

उनका बुवा कम्युनिष्ट पार्टी र त्यसका भातृ संगठनहरुको निशानामा थिए । पछि गएर शीको आमालाई समेत आफ्नो श्रीमानलाई क्रान्तिको दुश्मन भन्दै सार्वजनिकरुपमा आलोचना गर्न लगाइयो ।

सन् १९६८ मा शीका बुवालाई जेल पठाइयो । शी त्यतिबेला १५ वर्ष पुगेका थिए । उनले १९७२ सम्म बुवालाई भेटन पाएनन । बुवाआमाको संरक्षण बिनाका शीलाई लियाङजियाहे गाउँमा पठाइयो । माओको मुख्य प्रभाव क्षेत्रका रुपमा मानिने येनानको यो गाउँमा शी धेरै टिक्न सकेनन र त्यहाँबाट भागेर बेइजिङ फर्किए । तर उनी पक्राउ परे र नाली खन्ने काममा श्रम कारावासमा पठाइए ।

पढाईलाई निरन्तरता

उनले यति कष्ट सहँदा पनि पढाई छोडेनन । सन् १९७५ देखि १९७९ सम्म बेइजिङको सिङ्गुआ विश्वविद्यालयमा केमिकल इन्जिनियर पढे । इन्जिनियरिङको पढाई भएपनि त्यहाँ १५ प्रतिशत समय माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको पढाई हुने गर्दथ्यो । ५ प्रतिशत समय भने उनीहरुले काम गर्नुपर्दथ्यो ।

इन्जिनियरको पढाई सकिएपछि शीले कुनै बेला उनको बुवाको मातहत रहेका जेङ बीयोको स्वीकीय सचिव भएर काम शुरु गरे । जेङ पछि गएर चीनको केन्द्रीय सैन्य आयोगका सेक्रेटरी जनरल बने ।

अमेरिका पुग्दाको त्यो क्षण

सन् १९८५ मा भने शी अमेरिका पुगे । अमेरिकी कृषि अध्ययनका लागि चिनियाँ प्रतिनिधिमण्डलको सदस्यको रुपमा उनी अमेरिका पुगेका थिए । त्यहाँ उनी मुस्केटिन, लोआमा एउटा अमेरिकी परिवारमा बसे । अमेरिकाबारे दृष्टिकोण निर्माणमा यो भ्रमणले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।

राजनीतिक जीवन

आफ्नै परिवारका सदस्यको दुखद घटनाका बीच पनि शीको मनमा कम्युनिष्ट विचारधाराप्रति कहिल्यै वितृष्णा भएन । यदि उनले आफ्नी दिदी मारिएको र बुवालाई जेल गएको कुरालाई ‘माक्र्सवाद र कम्युनिष्ट गलत छ’ भनेर सोचेको भए उनी आजको अवस्थामा आइपुग्ने थिएनन ।

शीका लागि कम्युनिष्ट विचारधारा मन पर्ने कुरा थियो । त्यसैले उनले सन् १९७१ मा ‘कम्युनिष्ट युथ लिग अफ चाइना’ का सदस्य भए । उनले कम्युनिष्ट पार्टीका सदस्यताका लागि आवेदन गरे । तर शुरुमा नै उनलाई पार्टीले सदस्यता दिएन । दशपटक सम्म निवेदन दिएपछि बल्ल उनले १९७४ मा कम्युनिष्ट पार्टीको सदस्यता पाए । त्यतिबेलासम्म सांस्कृतिक क्रान्ति सकिएको थियो भने देङ लगायतका कैयन नेताहरुलाई पुनः पार्टीमा ल्याइएको थियो । चीनमा माओ र चाओ एनलाई नै मुख्य शक्तिमा थिए ।

उत्पादन समूहको शाखा सचिव भएपछि १९८२ मा उनलाई झेङदीङ प्रान्त ९काउन्टी० पठाइयो । त्यसपछि २००७ सम्म उनले हेबेइ, फुजियान, शाङ्घाईलगायतका राज्यमा मुख्य भूमिकामा रहेर पार्टीमा जिम्मेवारी निर्वाह गरे । सन् १९९० मा भने शी फुझाउको पार्टी स्कूलका सभापनि बने ।

केन्द्रीय कमिटीमा शीको प्रवेश 

सन् १९९७ मा चिनियाँ कम्युनिष्ट पार्टीको १५ औं केन्द्रीय कमिटिमा उनी वैकल्पिक केन्द्रीय सदस्यको रुपमा चुनिए । त्यतिखेर १५१ जना वैकल्पिक केन्द्रीय सदस्यमा उनले सबैभन्दा कम भोट पाएका कारण उनी सबैभन्दा पछिल्लो क्रममा राखिए ।

सन् १९९९ मा उनको बुढुवा भयो र उनी फुजियानको उप गर्भनरको कार्यालयमा पठाइए । त्यही क्रममा उनले ताइवानबाट लगानी आकर्षित गर्नुको साथै राज्यको अर्थतन्त्र मजबूत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

उनको अथक मेहनत र पार्टीप्रतिको प्रतिबद्धताका कारण फेब्रुअरी २००२ मा उनी १६ औं केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्य हुन सफल भए । जेइझिङमा रहँदा भ्रष्ट अधिकारीविरुद्ध उनको कडा भूमिकाको राष्ट्रिय चर्चा शुरु भएको थियो । योसँगै चीनका शीर्ष नेताको आँखामा उनी परे ।

यही बीचमा सन् २००६ मा शांघाईका पार्टी प्रंमुख चेन लियाङ्गयूलाई बर्खास्त गरियो । उनीमाथि सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोप थियो । उनको स्थानमा शीलाई त्यहाँ पठाइयो । उनी सात महिना त्यहाँ बसे । उनले त्यहाँ बस्दा आफ्नो भ्रष्टाचारविरोधी सादा जीवन शैली प्रदर्शन गर्दै सुविधाका लागि दिइएको रेल समेत अस्वीकार गरे । पार्टीको मूल नीति नै सर्वोपरि भन्दै उनले अन्य सबै गुटबन्दीहरुको पनि बिरोध गरे । तपाई एभरेष्टदैनिकडटकमा प्रकाशित सामग्री पढदै हुनुहुन्छ ।

महत्वपूर्ण समय

सन् २००७ को १० औं राष्ट्रिय कंग्रेस शीको जीवनको महत्वपूर्ण समय थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टीको नौ जनाको पोलिटब्यूरो कमिटिको सदस्य बने । यो सँगै उनी कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको पनि शीर्ष क्रमको नेता बने । सन् २००८ मा उनी उनी चीनको उप राष्ट्रपति बने । यो अवधिमा उनले कैयन महत्वपूर्ण जिम्मेवारी पुरा गरे । कैयन देशको भ्रमण समेत गरे । 

सन् २०१२ को नोभेम्बर १५ का दिन शी जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बने । साथै चिनियाँ केन्द्रीय सैन्य कमिशनका उनी अध्यक्ष पनि भए । योसँगै उनले पोलिटब्यूरोको संख्या नौबाट ७ मा झारे । महासचिव भएपछिको उनको पहिलो सार्वजनिक भाषणमा कुनै राजनीतिक नारा थिएन । बरु एउटा सामान्य मानिसको जस्तो उनले बोलेको अहिले पनि स्मरण गरिन्छ । 

उनले हाम्रा जनताले राम्रो शिक्षा, राम्रो स्थायी जागिर, राम्रो आय, स्थायी सामाजिक सुरक्षा, गुणस्तरीय स्वास्थ्य, आरामदायी सुविधानजनक जीवन र उन्नत वातावरण खोजेका भन्दै सबै तहको भ्रष्टाचारलाई निमर्मतापूर्वक अन्त्य गर्नुपर्ने बताए । शीको त्यो भाषण अहिले पनि चर्चित छ ।

सन् २०१३ को मार्च १४ का दिन शी चिनको राष्ट्रपति चुनिए । १२ राष्ट्रिय जन कंग्रेसमा भएको मतदानमा उनले २ हजार ९ सय ५२ भोट पाएका थिए ।

प्रतिक्रिया दिनुहोस