को बन्ला अब सभामुख ? किन अस्वीकार गरे सुवास नेम्वाङले सभामुखको अफर ?

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, १५ : ४०
को बन्ला अब सभामुख ? किन अस्वीकार गरे सुवास नेम्वाङले सभामुखको अफर ?

काठमाडौं । यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट सांसद बनेका कृष्णबहादुर महराको राजीनामासँगै अब राज्यको पाँचौँ वरियताक्रममा रहेको सभामुख पदको जिम्मेवारी कसले पाउँछ रु भन्ने चासो र चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने स्प्रिटमा २०७४ साल फागुन २५ गते माओवादी केन्द्रको तर्फबाट महरा सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत मध्यनजर गर्दै तत्कालीन एमालेले शिवमाय तुम्बाहाम्फेलाई उपसभामुख बनाएको थियो । तत्कालीन दुई पार्टीबीच सभामुख र उपसभामुख पदको लेनदेन राष्ट्रपति र उपराष्ट्रपति एवम् राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षसँग पनि प्रत्यक्ष जोडिएको छ ।

महराले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख नेकपाकै शिवमाया तुम्बाहाम्फे छिन् । उपसभामुख आफ्नै पार्टीको भएपनि नेकपा सभामुख अरु पार्टीलाई दिने पक्षमा देखिएको छैन । यस्तो अवस्थामा नेकपाले उपसभामुखलाई समेत राजीनामा दिन लगाउने र दुवैमा निर्वाचन गरेर सभामुख आफूले र उपसभामुख अन्य पार्टीलाई दिने योजना बनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्रोतका अनुसार सभामुख पदमा नेकपाले सुवास नेम्बाङलाई अघि सार्न खोजेको छ । पूर्वसभामुख नेम्वाङ भने सभामुख पदको लागि अनिच्छुक देखिउका छन् ।

स्रोतका अनुसार नेम्वाङको भनाइ यस्तो छ, ‘म पटकपटक सभामुख भैसकेको मान्छे । ऐतिहासिक संविधानसभाको अध्यक्षको समेत जिम्मेवारी पूरा गरिसकेकाले अव पनि मैले नै त्यो पद लिनुपर्छ भन्ने छैन । अन्य क्षमतावान साथीहरु पनि हुनुहुन्छ । म नै किन हुनुपर्यो ?’

प्रतिक्रिया दिनुहोस