चितवनका बजारमा दसैँको चहलपहल बढ्न थाल्यो (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १३ असोज २०७६, १६ : २९
चितवनका बजारमा दसैँको चहलपहल बढ्न थाल्यो (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । दसैँ सुरु भएसँगै चितवनका ठूला बजार नारायणगढ, भरतपुर, रत्ननगर, पर्सा, भण्डारा, रामपुर, चनौलीलगायतका बजार क्षेत्रमा दसैँको चहलपहल बढ्दै गइरहेको छ । विशेष गरी कपडा पसल र खाद्यान्न पसलहरुमा ग्राहकको बाक्लो उपस्थिति देखियो । 

कपडा, जुत्ताचप्पल, खद्यान्न, भाँडाकुँडा, सुनचाँदीलगायतका पसलहरुमा ग्राहकको घुइँचो देखिन्थ्यो । घटस्थापनाको दिनदेखि विस्तारै दसैँको चहलपहल बढ्दै गइरहेको छ । 

नारायणगढ गंगोत्रीमार्गका कपडा व्यवसायीले भने ‘आज सोमबार भए पनि दसैँको लागि किनमेल गर्न ग्राहकहरु आइरहेका छन् । तपाईं हिजो आउनुभएको भए यसरी क्यामेर लिएर उभिएर फोटो खिच्न सक्नुहुन्थेन्, त्यति धेरै भिड थियो । आज सोमबार पनि राम्रै छ ।’ उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष पनि व्यवसाय नघट्ने दावी गरे ।

जुत्ता व्यवसायीदेखि खाद्यान्न व्यवसायीहरुसम्मले दसैँको चहलपहल बढ्न थालेको बताएका छन् । रत्ननगरका एक व्यवसायीका अनुसार  विगतको तुलनामा व्यापारमा कुनै कमी नआएको बताए । उनले भने, ‘म यहाँ ४ वर्षदेखि कपडा व्यवसाय गर्दै आइरहेको छु, ती वर्षहरुमा झैं यस वर्ष पनि ग्राहकहरु आइरहेका छन् ।’

नारायणगढ मिलन रोडमा रहेको एक सुन व्यवसायीले सुनको व्यापारमा विगतको तुलनामा कमी आएको बताए । उनले भने, ‘सुनको मूल्यमा वृद्धि भएको कारणले होला नयाँ सुन किन्ने ग्रहकहरु खासै आएका छैनन् ।’

हङकङ बजारमा कपडा किनिरहेका एक ग्राहकले महँगी बढेको गुनासो गरेका छन् । उनले खाद्यान्न सामग्रीमा किन्न नसक्ने गरी महँगी बढेको बताए । कपडाहरु भने विभिन्न मूल्यमा पाइने हुँदा आफूले सस्तोसस्तो किन्ने गरेको उनले बताए । 

मिलन रोडमा भेटिएका ग्राहकले आफ्नो भन्दा पनि बालबच्चाका लागि दसैंमा नयाँ लुगा किन्न बजार आएको बताए । बच्चाहरुको कपडा पनि ठूलोकै झैं महँगो भएको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस