मालपोत कार्यालयमा रहेको कागजात नै असुरक्षित

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, १२ : ४९
मालपोत कार्यालयमा रहेको कागजात नै असुरक्षित

काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा पद्माकुमारी अर्यालको जिम्मामा छ । यही मन्त्रालय अन्तर्गतको मालपोत कार्यालयमा रहेको कागजात नै असुरक्षित रहेको पाइएको छ ।
सरकारी कागजातको सुरक्षा गर्ने दायित्व सरकारको हो । सरकारको सेना प्रहरी, सुरक्षा निकायको काम समेत सुरक्षाका लागि नै रहेको छ । तर सरकारी निकायमा नै रहेको कागजात सुरक्षित छैन, रहदैन भने त्यसलाई के भन्ने ? यस्तै प्रश्न पछिल्लो दिनमा देखिएको छ । 
काम पनि गर्न नसक्ने विशेष क्षमता भएकी स्याङ्जाकी नेकपा नेतृ अर्यालले सम्हालेको मन्त्रालयमा भइरहेको बेथितिको पछाडिको कारण के होला ? कारण यस्तो रहेछ । भूमिसुधार मन्त्रालयका सचिवका रुपमा रहेका गोपीनाथ मैनालीका कारण सरकारी कागजात असुरक्षित रहेको हो । तत्कालीन सचिव मैनालीले मालपोत तथा नापी कार्यालयका प्रमुखलाई छाडा छाडेका कारण समस्या पैदा भएको हो । 
मन्त्री अर्याललाई कुनै पनि विषयमा जानकारी नहुने गरेको बताइन्छ । हाल सो मन्त्रालयका सचिवका रुपमा रहेका सूर्यप्रसाद गौतम पनि कामभन्दा बढी कमाउधन्दामा रमाउने विशेष क्षमता भएका व्यक्तिका रुपमा परिचित छन् । सो मन्त्रालयका अधिकांश कर्मचारी कसरी कमाउने र कसरी आकर्षक स्थानमा जाने भन्ने विशेष ध्याउन्नमा मात्रै लाग्ने गरेको बताइन्छ । सोही कारण सरकारी कागजात अलपत्र मात्रै परेको छैन, पूर्णरुपमा असुरक्षित समेत बन्दै गएको छ । 
जग्गाको लालपूर्जा घरमा रहे पनि अरु विवरण भने सरकारी कार्यालयमा नै रहने गरेको छ । सरकारले देशभरका जग्गा जमिनको सम्पूर्ण विवरण समेत मालपोत तथा नापी कार्यालयमा नै राख्ने गरेको छ । तर तथ्यहरु भन्छन् – सरकारी कार्यालयमा रहेका जग्गाको विवरण सुरक्षित नभएको पाइएको छ । नागरिकले आफ्नो सम्पत्तिको विवरण सरकारी कार्यालयमा छँदै छ भनेर ढुक्क हुने अवस्था रहेको छैन । 
कारण सरकारी निकायमा रहेको कागजात असुरक्षित हुन थालेको छ । देशभरीका जग्गाको सम्पूर्ण विवरण राख्ने कार्यालयको रुपमा डिल्लीबजार मालपोत रहेको छ । देशभर के कति मात्रामा सरकारी तथा निजी जग्गा छ भन्ने विवरण जिल्ला कार्यालयहरुमा रहने भए पनि एकमुष्ठ विवरण भने डिल्लीबजार मालपोतमा रहने गरेको छ । तर देशभरका सम्पूर्ण जग्गा सम्बन्धी पुराना अभिलेख राखिएको डिल्लीबजारको मालपोत कार्यालय केही वर्ष पहिले भत्किएका कारण सो कार्यालयमा रहेको विवरण असुरक्षित बनेको हो । 
डिल्लीबजार मालपोत कार्यालय भत्केपछि कार्यालयमा रहेको विवरण सुरक्षित राख्ने प्रयास गरेपनि प्रभावकारी काम हुन नसकेको पाइएको छ । मालपोत कार्यालय भत्केपछि सो कार्यालयका कर्मचारीले जग्गाधनीको लालपूर्जा तथा अन्य विवरण संरक्षण गर्न तथा सुरक्षित गर्न कुनै पहल नगरेको पाइएको छ । सो कार्यालमा राखिएको लालपुर्जा, निवेदन लगायत प्रमाण संरक्षणमा कर्मचारीले चासो नदिएका कारण महत्वपूर्ण विवरण हराउने, नष्ट हुने सम्भावना बढेर गएको छ । 
ती कागजातमा पानी पर्ने, च्यातिने तथा हराएर जाने सम्भावना रहेको बताइन्छ । केही कागजात त हराइसकेको बताइन्छ । सो कार्यालयमा के कति कागजात थिए, ती कागजातको विवरण के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा सो कार्यालयका कर्मचारी केही बताउन चाहँदैनन् । 
सरकारी तथा व्यक्तिगत जग्गाको अभिलेखको रेखदेख र संरक्षण मालपोत कार्यालयको प्रमुख जिम्मेवारी भएपनि ध्यान नदिएकोमा भूमिसुधार मन्त्रालयलाई समेत सचेत गराइएको छ । सरकारी कागजात सुरक्षा गर्ने दायित्व राज्यको भएपनि ध्यान नदिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस