चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

बसाई छ एक दिन र एक रात, सवारी चलाउने चाँजोपाँजो भने उत्पात

बुधबार, ०१ असोज २०७६, १३ : ५६
बसाई छ एक दिन र एक रात, सवारी चलाउने चाँजोपाँजो भने उत्पात

काठमाडौं । बसाइ छ, जम्मा एक दिन र एक रातको। तर तयारी यस्तो छ कि, काठमाडौँको चप्पाचप्पा बुझिँदै, फोटो खिचिँदै छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको अर्को महिना हुने नेपाल भ्रमणको तयारीको क्रममा चीनले सुरक्षा स्थिति अध्ययन गर्न दिनैपिच्छेजस्तो बेग्लाबेग्लै टोली काठमाडौँ पठाइरहेको छ।

त्यसक्रममा बेइजिङबाट एक जना जर्नेलनको नेतृत्वमा १७ जनाको फौज सोमबार काठमाडौँ ओर्लिएको छ।

उक्त टोलीले आएकै दिन साँझपख अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, भिआइपी, भिभिआइपी, आउञ्ज, आगमन र प्रस्थान कक्षको अवलोकन गरिसकेको छ।

चिनियाँ विदेशमन्त्री वाङ् यी फर्किएलगत्तै उताबाट आउने टोलीहरु थपिन थालेका छन्।

चिनियाँ पक्षले राष्ट्रपतिलाई काठमाडौँ उतार्दा कतिवटा जहाज, कति मानिस ल्याउनेदेखि लिएर कसलाई कहाँ राख्ने, हिँडडुल र भेटघाटका तालिका कति र कसरी तय गर्नेसम्मका विषयबारे छलफल गरिरहेको छ।

चीनले ८०० सिरिजको तीनवटा बोइङ ७४७ जहाजसहित राष्ट्रपति जिनफिङलाई अवतरण गराउने चाहना व्यक्त गरेको छ । तर, यहाँ त्यस्तो जहाड अवतरण गराउन मुस्किल हुने स्पष्ट पारिएको बताइएको छ।

नेपालसँग भएको र यहाँको विमानस्थलमा सहजताकासाथ अवतरण हुनसक्ने ७४७ बोइङ ‘फोर ई’ क्याटागोरीको हो। तर चिनियाँ जहाज भने ‘फोर–फोर एफ’ क्याटोगोरीका छन्।

हाम्रो विमानस्थलमा ४ सय सिरजको ७४७ बोइङलाई अवतरणमा समस्या छैन।

तर, चीनबाट आउने भनिएको ८ सय सिरिजका बोइङका पखेटा लामा हुन्छन्।

त्यसकारण यहाँको साँधुरो विमानस्थलमा समस्या हुन सक्ने नेपाली अधिकारीले बताएका छन् । यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस