Safal Khabar - नेपालगञ्ज एअरपोर्ट घटनाको राजनीतिक सार
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
नेपालगञ्ज एअरपोर्ट घटनाको राजनीतिक सार
आइतबार, २९ भदौ २०७६, १३ : २२
नेपालगञ्ज एअरपोर्ट घटनाको राजनीतिक सार

– साकार लामा
केही समयअघि न्यूजिल्यान्डमा भएको आतंकवादी नरसंहारमा एक पागल व्यक्तिले ५१ जना निर्दोषहरुको हत्या गरेका थिए ।

उक्त घटनाको प्रतिक्रिया दिँदै न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले उक्त आतंककारीको नाम समेत आफूले उच्चारण नगर्ने बताउँदै कसैले पनि त्यसको नाम नलिन अनुरोध गर्नु भएको थियो ।

उहाँको तर्कमा त्यो व्यक्ति नाम लिन समेत योग्य नभएको र त्यो एक जना ‘नामविहीन पागलपनको बिरामी रहेको जिकिर गर्नुभयो ।

आज नेपालमा दिल्लीबाट प्रायोजित, नागार्जुनबाट निर्देशित र सुर्खेतबाट सुरु भएको एउटा पागलपनले विभिन्न बहानामा पब्लिक डोमेनमा स्पेस लिन खोजेको देखिन्छ । राजा जनकले हलो जोत्दा सीता जमिनबाट प्रकट भएको पौराणिक कथा जस्तै सुर्खेत प्रहरीले लौरी बजार्दा ती मुस्तण्डे नेपाली समाजिक सञ्जालमा प्रकट भएको बुझिन्छ ।

जसरी धर्मका नाममा हामीले माटोबाट मान्छे कसरी जन्मन सक्छ भन्ने भौतिकवादी प्रश्न गरेनौं, त्यसरी नै सत्ताप्रतिको निराशाका नाममा यी मुस्तण्डेहरु कसरी जन्मिए भन्ने तार्किक प्रश्न नै गरेनौं । उनीहरु को हुन् र यिनीहरूको राजनीतिक सार के हो भन्ने नै खोजेनौं ।

निराशाको उत्पति
नेपाली समाजमा अहिले सत्ता र राजनीतिक दलहरुप्रति चरम निराशा देखिन्छ । यो देखिनुको मु्ख्य तीन कारणहरु छन् । पहिलो, २०६२/६३ को राजनीतिक परिवर्तनले नेपाली समाजमा ठूलो हलचल ल्यायो । सामन्तवादको अन्त्य, धर्म निरपेक्षता, संघीयाता र गणतन्त्र जस्ता नयाँ संरचनाले पुरानो समाजलाई विस्थापित गर्दा समाज निकै खुल्ला, केही हदसम्म छाडा र अनियन्त्रित जस्तो देखियो । नयाँ समाजका नयाँ प्रश्नहरुको उत्तर तत्काल दिन सत्ता असक्षम रह्यो र निराशाले पारो नाघ्यो ।

दोस्रो, विप्रेषणको पोकोसंगै तुलना गर्ने प्रवृत्ति पनि भित्रियो । विदेशी व्यवस्था र नेपालको व्यवस्थालाई तुलना गरी हेर्ने दृष्टिकोणले पनि नेपालीहरुमा चरम निराशा उत्पन्न गरायो । र तेस्रो, सूचना प्रविधिको बिस्तारले ल्याएको सचेतना र कुचेतना पनि प्रमुख कारक हुन् । यी निराशाहरु माथि टेकेर फेरि त्यहीँ सामन्ती व्यवस्था फर्काउन सकिन्छ कि भन्ने मनसायका साथमा यी मुस्तण्डेहरु प्रकट हुन्छन् वा प्रकट गराइन्छन् । यिनीहरु राजनीतिक सार नै निराशा बढाउनु, सत्ताको विरोधको नाममा व्यवस्थामाथि प्रहार गर्नु र देशमा निरन्तर अस्थिरता जन्माउनु नै हो । पुराना प्रेतहरु जगाउन ग्राउन्ड तयार गर्ने एसेम्बल्ड गरिएका यी मुस्तण्डेहरुको योजना के हो ?

जस्ट ईग्नोर देम
बिहान उठेदेखि दूतावासले दिएको मोबाइलमार्फत नेताहरुलाई सामाजिक सञ्जालमा गाली गरेर यिनीहरुको दिन सुरु हुन्छ । यिनीहरुको चाहना धेरैभन्दा धेरै व्यक्तिहरुमा पुग्ने, भ्रम छर्ने र नेतालाई गाली गर्दै व्यवस्थाविरोधी भावना जन्माउने नै हो । यिनीहरु बिहान, साँझ, बेलुका कुनै न कुनै माध्यमबाट सार्वजनिक डोमेनमा देखिन चाहन्छन् । यिनीहरु चाहन्छन् कि हामीहरुले उसको नाम लियोस्, गाली गरोस् । राजनीतिक कार्यकर्ताले त्यो मुस्तण्डेको नाम लिएर गाली गर्दा पनि उसकै प्रचार हुने उसले बुझेको छ । उ नेताहरुलाई तल्लो स्तरको भाषा प्रयोग गर्छ, उ हामीलाई भड्काउन खोज्छ र रियाक्ट गराउन चाहन्छ । 

उसलाई थाहा छ, हाम्रो रियाक्सनलाई कसरी क्यास गर्न सकिन्छ भन्ने । उसको योजनाका लागि उ थुनिन पनि तयार छ । किनकि थुनिनु पनि उसको लागि प्रचार हो, प्रोपोगाण्डाको माध्यम हो । त्यो सुंगुर चाहन्छ कि राजनीति त्योसँग त्यसैको स्तरमा गिरेर हिलोमा कुस्ती खेलोस् । नेपालगञ्ज एअरपोर्ट घटना पनि त्यो सुंगुरले हामीलाई हिलोमा कुस्ती खेल्नको लागि दिएको निम्तो हो ।

अन्त्यमा,
जसरी पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो सुझबुझको प्रयोग गरी त्यो सुंगुरलाई ईग्नोर गर्नेु भयो, त्यसरी नै हामी सबैले त्यसलाई ईग्नोर गरौं । सामाजिक सञ्जालमा टिप्पणी गर्दा होस् वा सार्वजनिक जीवनमा होस्, त्यो मुस्तण्डेको नाम कतै पनि उच्चारण नै नगरौं । त्यसको राजनीतिक गुण नै ‘एटेन्सन सिकर’ भएकोले त्यसलाई ध्यान नदिनु नै त्योमाथिको निर्मम प्रहार हो । उसलाई निरन्तर ईग्नोर गर्दै जानु नै यो रोगको समाधान हो । सबैले ध्यान नै नदिएपछि एटेन्सनको अभावमा त्यसको राजनीतिक सार आफैं मर्छ ।

प्रतिक्रिया दिनुहोस