संविधानको दीपावली तहसनहस पार्छौँ : लक्ष्मण थारु

बुधबार, २५ भदौ २०७६, १५ : ३१
संविधानको दीपावली तहसनहस पार्छौँ : लक्ष्मण थारु

काठमाडौँ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह पार्ने चेतावनी दिएका छन् । 

सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा÷समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा÷घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् । विविधतायुक्त नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित परिवर्तनको मुद्दालाई कुल्चेर संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको समेत मूल मर्म र भावनाविपरित बेइमानीपूर्वक जबर्जस्त रुपमा खुनी संविधान जारी भएकोले आफूहरुले संविधान दिवस नमनाउने उनीहरुको स्पष्टोक्ति थियो ।

संविधान संशोधन भएर आफूहरुका माग सम्बोधन नभएसम्म संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने पनि उनीहरुले स्पष्ट पारेका छन् । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे ।

उनले भने, ‘संशोधनमार्फत यो संविधानलाई सबैको अपनत्व भएको बनाउनुपर्छ । सबै जाति र भाषाको संविधान नभएसम्म हामी खुशीयाली मनाउन सक्दैनौं ।’
उनले संविधान दिवसलाई कालो दिवस मनाउने क्रममा राज्यले आफूहरुमाथि दमन गरे  बाध्य भएर प्रतिकारमा उत्रिनेपनि चेतावनी दिए । 
 

प्रतिक्रिया दिनुहोस