ज्वरोका बिरामी बढेपछि भरतपुर अस्पतालमा ज्वरो क्लिनिक शुरु

रासस

मंगलबार, २४ भदौ २०७६, १४ : ११
ज्वरोका बिरामी बढेपछि भरतपुर अस्पतालमा ज्वरो क्लिनिक शुरु

चितवन । भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार एकै दिन बहिरङ्ग सेवामा नयाँ एक हजार ९२२ जनासम्म बिरामीले टिकट काटेका थिए । तीमध्ये नौ सय भन्दा बढी ज्वरोका रहेका थिए ।

 यससँगै पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिनुभयो । 

अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार क्लिनिकमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । अहिले ज्वरोका बिरामीमा डेङ्गु र ईन्फुलुएन्जा देखिएको छ । क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले डेङ्गु देखिएमा तत्काल रगतको परीक्षण र ईन्फुलुएन्जा देखिएमा थुकको परीक्षण गरी उपचार गर्न शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

बहिरङ्गको मेडिकल विभागमा आउने बिरामीलाई परीक्षण गर्न पाँचजना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले आज अस्पतालको योजना समितिको बैठक बसेर ज्वरोको क्लिनिक स्थापना गर्ने र मन्त्रालयसँग थप चिकित्सक माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यससँगै विशेष परिस्थिति भएकाले चिकित्सक स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गर्ने निर्णय पनि गरिएको उहाँले जानकारी दिनुभयो । 

अस्पतालमा आएका बिरामी फर्कन नपरोस भन्नका लागि सबै खालका व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अस्पतालमा रहेका विशेषज्ञ चिकित्सक र सेवाका कारण धेरैको विश्वास भएकाले बिरामीले पालो कुर्नुपर्ने हुँदा धैर्यता अपनाइ सेवा लिनसमेत तिवारीको आग्रह छ । 

जिल्लामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सोमबार साँझसम्म तीन हजार ९९५ जनाको रगतको नमूना परीक्षण गर्दा एक हजार ३१६ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । डेङ्गुकै कारण जिल्लामा दुई जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस