एकले अर्कालाई दोष दिएर शैक्षिक गुणस्तर बढ्दैन : महानगर प्रमुख दाहाल

आइतबार, २२ भदौ २०७६, १४ : ५२
एकले अर्कालाई दोष दिएर शैक्षिक गुणस्तर बढ्दैन : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एकले अर्कालाई दोष दिएर शैक्षिक गुणस्तर नबढ्ने बताउनुभएको छ । 

आज भरतपुरको नारायणी नमुना माविमा भएको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा महानगर प्रमुख दाहालले भन्नुभयो, ‘हिजोको दिनमा शैक्षिक गुणस्तरमा कुरा उठ्यो कि, एकले अर्कालाई दोष थुपार्ने र आफू उम्कने काम हुन्थ्यो, अब यस्तो भावना त्यागौँ । सधैँभर अर्कालाई दोष दिएर हुँदैन ।’

उहाँले सबैको हातेमालोबाट शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘भरतपुर शैक्षिक हब भइरहेको छ, यसकारण पनि शैक्षिक गुणस्तर अगाडि बढाउन जरुरी छ । अब कुनै हालतमा गुणस्तरमा सम्झौता गर्न सकिदैन ।’ 

कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरको शैक्षिक गुणस्तर वृद्धिको लागि थुप्रै कार्यक्रमहरु ल्याएको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘शिक्षामा पनि महानगरले पर्याप्त बजेट छुट्टाएको छ, तत्काल आमुल परिवर्तन सम्भव नहोला, तर गुणस्तर वृद्धि भएकै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस