नेपालमा पुस्तकालयप्रति उपेक्षा

विहीबार, १९ भदौ २०७६, ०८ : ५९
नेपालमा पुस्तकालयप्रति उपेक्षा

– रुद्रबहादुर बोहरा
सह–पुस्तकालयाध्यक्ष, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर

विश्वमा मानव विकासको सुरुवात वा चौथों, पाँचौं शताब्दीदेखि नै पुस्तकालयको स्थापना र विकास भएको पाइन्छ । विश्वका जति विकसित मुलुकहरु छन्, ति देशहरुमा पुस्तकालयको विकाससँगै देश विकास भएको इतिहास छ । भनाई नै छ ‘जुन देशमा पुस्तकालय विकास भएको छ, त्यो देशको विकासको पहिचान पुस्तकालयले दिन्छ ।’ यी भनाईमा सत्यता छ । हाम्रो देशका राजनीतिज्ञ, विद्धान आदिले पश्चिमी मुलुक, युरोप, अमेरिका, फ्रान्स आदिको भ्रमण गर्दा यो विषयको ज्ञान भइसकेको होला ।

तसर्थ नेपालमा पनि प्राचिनकाल, मध्यकाल र आधुनिक कालसम्म आइपुग्दा नेपालका प्राचिन मठ मन्दिर, बिहार, गुठी आदिमा लेखिएका, कुँदिएका शिलालेख, भोजपत्र, ताम्रपत्र, माटाका सामाग्रीहरुमा प्राचिन पुर्खाहरुले विभिन्न भाषा जस्तैः नेवारी, मैथिली, संस्कृतमा लेखिएका, कुँदिएका सामाग्रीहरु संकलनलाई नेपालमा (चौथों, पाँचौं शताब्दीमा) पुस्तकालयको रुप मानिएको छ ।

आधुनिक कालमा (पृथ्वी नारायण शाह पश्चात) ति विविध भाषाभाषिका लेखहरुलाई अनुवाद गराई राजाको दरबार र प्रधानमन्त्रीहरुको कोठामा संकलन गरी ति संकलित सामाग्रीहरुलाई पुस्तक खाना वा पुस्तकालयको रुप दिइएको थियो । यसरी ति संकलित सामाग्रीहरु वा लेखोटहरुलाई छापाखानाको व्यवस्था भएपछि पुस्तकको रुप दिइएको पाइन्छ । यसरी सुरुवात भएका विभिन्न किसिमका पुस्कालयहरु देशका विभिन्न संघ÷संस्था आदिमा समेत आ–आफ्नो आवश्यकता अनुरुपका पुस्तकालय खोलि सञ्चालन हुँदै आएका छन् । जसमा राष्ट्रिय, सार्वजनिक, शैक्षिक, व्यक्तिगत आदि पुस्तकालयहरु सञ्चालनमा रहेका छन् ।

यस्ता पुस्तकालयहरुलाई सरकारबाट विगतदेखि वर्तमानसम्म के कति आर्थिक एवम् भौतिक सहयोग भइ व्यवस्थापन हुँदै आएको छ भन्ने कुरा इतिहासको तथ्याड्ढबाट नै स्पष्ट होला । राजा गिर्वाण युद्ध विक्रम शाहबाट वि.सं. १८६९ भाद्र १५ गते शुक्रबार लालमोहर लगाई पुस्तकालयमा कर्मचारी तथा आर्थिकको व्यवस्था गरेको कुरा इतिहास साक्षी छ । अतः वर्तमान समयमा नेपाल सरकार शिक्षा मन्त्रालयले हरेक वर्ष भाद्र १५ गतेलाई पुस्तकालय दिवस मनाउन वि.सं. २०६५ सालदेखि सुरुवात गर्दै आइरहेको छ ।

यो वर्ष पनि २०७६ भाद्र १५ गते ‘पठन संस्कृतिको पुर्वाधारः पुस्तकालय विकास र विस्तार’ भन्ने नाराका साथ १२ औं पुस्तकालय दिवस मनाउन निर्देश गरेको थियो । त्यसै अनुरुप भाद्र १५ गते देशको केन्द्रीय राजधानीदेखि विभिन्न दुरदराजमा रहेका पुस्तकालयहरुले समेत आ–आफ्नो स्थिति अनुसार विभिन्न कार्यक्रम गरी १२ औं पुस्तकालय दिवस मनाएको कुरा विभिन्न सामाजिक सञ्जालबाट थाहा पाइयो । तर सम्बन्धित मन्त्रालय वा राष्ट्रिय स्तरबाट पुस्तकालय दिवसको बारेमा बोलेका, लेखेका कुराहरु राष्ट्रिय पत्रपत्रिका, सरकारी मिडियाबाट प्रशारण प्रकाशित गरिएको पाइएन । अतः यसरी सरकारी स्तरबाट पुस्तकालय प्रतिको रुची, चासो नदेखिएको प्रति राजधानीेदेखि दुरदराजमा सञ्चालनमा रहेका पुस्तकालय तथा पुस्तकालय प्रेमीहरुको मन दुखेको अनुभूति भएको छ । 

आज विश्वका विकसित देशहरुमा राष्ट्रिय, शैक्षिक र सार्वजनिक स्तरमा सञ्चालित पुस्तकालयहरुलाई ति देशको सरकार, विद्धान र जनताको सहयोग, पुस्तकालयप्रतिको प्रेम देख्दा हाम्रो जस्तो अर्धविकसित भर्खर गणतन्त्र र संघीयताको अभ्यासतर्फ अग्रसर रहेको मुलुकमा सरकार, विद्धान र आम जनताले पुस्तकालय के हो ? पुस्तकालयबाट के ज्ञान प्राप्त हुनसक्छ ? यसको विकास र विस्तारमा कति चासो र सहयोग गर्नुपर्छ ? आदि कुरा व्यापकता गराइनु आवश्यक छ ।

यस्ता महत्वपूर्ण कुरामा जिज्ञासा र चासो नहुनु भनेको देश विकासलाई आजको स्थितिभन्दा पनि पछाडि धकेल्नु हो । हाम्रोजस्तो देशमा पुस्तकालयको विकास गरी देशका जनतालाई ज्ञान दिनु आवश्यक छ भन्ने कुरा गरिरहनु आवश्यक ठानिएन । जु कुरा यस वर्षको १२ औं पुस्तकालय दिवसमा सबै पक्षको पुस्तकालय प्रति देखाइएको अनास्थाबाट नै स्पष्ट भएको छ ।

अतः विगतमा भएका भुल र त्रुटीलाई मनन गर्दै आगामी दिन र वर्षहरुमा नेपालको समृद्धि र विकासको गतिलाई अघि बढाउन देशमा रहेका राजनीतिज्ञ, विद्धान र अनुसन्धानकर्ता, सामाजिक अभियान्ता तथा देशका जनता सबैले पाउने सकारात्मक ज्ञानको भण्डार अर्थात् स्रोत भनेको नै पुस्तक हो, ति पुस्तकहरु पुस्तकालयमा संकलन हुन्छन् । सबैले सहयोग गरेर पुस्तकालयको विकास गरेमा देश विकास हुन्छ भन्ने कुरा विश्वका विकसित मुलुकमा रहेका पुस्तकालयको इतिहासले प्रष्ट्याएको छ । विश्व सामु नेपाल चिनाउने हो भने पुस्तकालयको विकास गरी पुस्तकालयबाट असल, गुणात्मक शिक्षा लिएर मात्र नेपालीले नेपालको शिर उच्च राख्न सफल हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस