चितवनमा डेंगु परीक्षण किट पर्याप्त

डेंगुलाई महामारीको रुप लिन दिन्नौँ : महानगर प्रमुख रेनु दाहाल

१ हजार किटको ब्यवस्था, आवश्यक परे थप किट उपलब्ध गराउने

प्रकाश सिग्देल

मंगलबार, १७ भदौ २०७६, १६ : ३२
डेंगुलाई महामारीको रुप लिन दिन्नौँ : महानगर प्रमुख रेनु दाहाल

- प्रकाश सिग्देल
चितवन ।
चितवनमा डेंगु रोगलाई महामारीको रुपमा फैलन नदिन सबै सरोकारवाला निकायहरुले सक्रियताका साथ लाग्ने प्रतिवद्धता जनाएका छन् । महामारीकै रुपमा फैलन लागेको डेंगुलाई नियन्त्रण गरी थप क्षति हुन नदिने गरी सबै निकाय सक्रिय भएका हुन् । 

भरतपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको चितवनमा डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकका सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले डेंगु रोग नियन्त्रणका लागि महानगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने बताउनु भयो । 

उहाँले जिल्लामा किटको अभाव हुन नदिन महानगरले १ हजार किटको ब्यवस्था गरेको बताउँदै आवश्यक परे थप किट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूहरुले प्रचार प्रसारदेखि सबै संयन्त्रहरु परिचालन गरी खोज र नष्ट गर अभियान सञ्चालन गरेको बताउँदै डेंगुलाई तत्कालै नियन्त्रण गरिछाड्ने प्रतिवद्धता जनाउनु भयो । 

अहिले हरेक घर, गाडी ग्यारेज, बसपार्क सबैतिर पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरेको र संगै बिरामीहरुलाई थप असर नहुने गरी उपचारलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएको उहाँले बताउनु भयो । यो बेला निजी अस्पतालको पनि दायित्व बढी हुने हँुदा उनीहरुले पनि बढी शुल्क नलिई सामाजिक उत्तरदायित्व वहन गर्न उहाँले निजी स्वास्थ्य संस्थालाई आग्रह गर्नु भयो ।  

कार्यक्रममा सरुवा रोग नियन्त्रण महाशाखाले ३०० किट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौँडाले १२५ किट उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा संघीय सरकार स्वास्थ्य मन्त्रालयका अधिकारी र प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा तीन नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले देशभर डेंगुको अवस्था र यसको न्यूनीकरणका लागि गर्नु पर्ने पहल र प्रयासका बारेमा विवरण प्रस्तुत गर्नु भएको थियो । 

यस्तो छ नेपालमा डेंगुको तथ्यांक 

देशभरिको तथ्यांक हेर्दा तीन नम्बर प्रदेश सबैभन्दा बढी जोखिममा रहेको छ । तीन नम्बर प्रदेशमा १ हजार १ सय ९० जनामा संक्रमण देखिएको छ । 
तीन नम्बर प्रदेशमध्ये चितवन सबैभन्दा बढी जोखिममा रहेको तथ्यांकले देखाएको छ । चितवनमा ६२३ जनामा संक्रमण देखिएको र ३ जनाको मृत्यु भइसकेको छ । 
हालसम्म देशका ४२ जिल्ला प्रभावित भएको र १ हजार ५ सय ३७ जनामा संक्रमण देखिएको तथ्यांकमा उल्लेख छ । डेंगुका कारण आर्थिक वर्ष २०६६/६७ मा ५ जनाको मृत्यु भएको थियो । 
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपककुमार तिवारीले चितवनमा हरेक ४-५ वर्षमा यसले महामारीको रुप लिने गरेको बताउँदै यो नियन्त्रणका लागि खोज र नष्ट गर अभियान तीब्र रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । 
उहाँले चितवनमा आजका मिति सम्म ६२३ जनामा संक्रमण देखिएको र यो बढ्ने क्रममा रहेको बताउँदै यसलाई महामारीको रुप लिनबाट रोक्नु पर्ने बताउनु भयो । त्यस्तै यसको किट ब्यवस्थापनमा बिशेष ध्यान दिनु पर्ने बताउँदै स्वास्थ्य संस्थामा पर्याप्त किट उपलब्ध गराउनु पर्ने उहाँ बताउनु हुन्छ । 

विश्वब्यापी अवस्था 
विगत केही दशकदेखि विश्वभरि नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् । १२८ भन्दा बढी मुलुकका ४ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । 
प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनाका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

नेपालमा डेंगु
▪    सन् २००४ मा पहिलो बिरामी (विदेशी) भेटिएको । 
▪    सन् २००६ मा तराई र भित्रीमधेशका केहि जिल्लामा डेंगुका विरामीहरु भेटिएको ।
▪    सन २०१० मा चितवन लगायत रुपन्देही, नवलपरासी आदि जिल्लाहरुमा महामारीको रुपमा फैलिएको । देश भरीमा ९१७ केशहरु देखिएको । 
▪    सन २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा १५२७ केशहरु देखिएको ।
▪     सन २०१७ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा २१११ केशहरु देखिएको ।
▪    सन २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा ८११ केशहरु देखिएको ।
▪    सन २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन , कास्की र मकवानपुर जिल्लाहरुमा महामारीको रुपमा फैलिएको सुनसरीमा मात्र ३२६६ विरामी पाइएका । सन २०१९ को हाल (भाद्र११) सम्म ४९६२ डेंगु बिरामी भेटिएको ।

चितवनमा डेंगु नियन्त्रणका लागि भएका क्रियाकलाप
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा मिति २०७६ भाद्र १ गतेदेखि ३ गतेसम्म डेंगु रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर अभियान संचालन ।
नियमित रुपमा केन्द्रबाट प्राप्त  भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा कीट उपलब्ध गराइएको ।
बिभिन्न संचार माध्यमहरुबाट सूचना प्रवाह ।
डेंगु ज्वरोको बारेमा टोल विकास संस्थाहरुमा गई जानकारी दिने गरिएको ।
कवाडी संघबाट नियमित डेंगु रोगबाट बच्ने उपायहरुको बारेमा घरदैंलोमा गई माइकिङ्ग गर्ने गरेको ।
भरतपुर महानगरपालिकाको आयोजनामा डेंगु रोग नियन्त्रण वृहत सचेतना ¥यालीको आयोजना ।

डेंगु नियन्त्रणका लागि आगामी कार्ययोजना 
डेंगु किटको लागि निरन्तर पहल
निरन्तर सर्भिलेन्स  
सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम 
प्रचार प्रसार तथा व्यवहार परिवर्तनमा जोड
वडा स्तरका टोल सुधार समितिसंग अन्तरकृया
डेंगु रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर अभियानको दिगोपनाका लागि जोड 
निजामति सेवा दिवसको उपलक्ष्यमा डेंगु रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर अभियान नारायणगढ क्षेत्रमा संचालन गरिने

डेंगुका लक्षणहरु
– उच्च ज्वरो आउनु 
– टाउको दुख्नु
– जोर्नी दुख्नु 
– बान्ता हुनु
– शरीरमा बिमिरा देखिनु 
– आँखाको गेडी दुख्नु
– आलश्य हुनु
– छिटोछिटो श्वास फेर्नु

डेंगुबाट बच्ने उपाय
पहिलो पटक डेंगु हुँदा भने आराम गर्ने र प्रशस्त मात्रामा तरल पदार्थको सेवन गरेर पुरानै अबस्थामा फर्कन सकिन्छ । दोस्रो पटक वा त्यसपछि डेंगु हुँदा भने निकै खतरनाक हुन्छ । 
लामखुट्टेहरु भएको ठाउँमा जाँदा शरीर पूरै ढाकिने गरी कपडा लगाउने । डेंगु लागेको लक्षणहरु देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने । डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थहरु सेवन गर्ने । अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्ने ।
घर वरपर पानी जम्न नदिने ।

प्रतिक्रिया दिनुहोस