होटल व्यवसायीले रूममा लाग्ने शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यसैगरी खानामा १५ प्रतिशत छुट दिने भएका छन् ।

होटलमा सांसदलाई छुटः

बुधबार, १७ माघ २०७४, २२ : १३

१८ माघ, हेटौंडा । प्रदेशसभाको बैठकमा सहभागी हुन हेटौंडा आइपुगेका सांसदहरुलाई स्थानीय होटल व्यवसायीले रूममा लाग्ने शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यसैगरी खानामा १५ प्रतिशत छुट दिने भएका छन् ।

होटल एशोसिएसन मकवानपुरले प्रदेश सांसदहरुलाई खाना र बसाईमा छुट दिने घोषणा गरेको हो ।

प्रदेश ३ को अस्थायी मुकाम हेटौंडा तोकिएकोमा यहाँका उद्योगी व्यवसायीहरु खुशी देखिएका छन् । माघ ७ गते सपथ ग्रहणका बेला हेटौडा पुगेका सांसदहरुको बसाईमा कठिनाइ पुगेको देखेपछि यसपालि सांसदलाई केही प्रतिशत छुट दिने घोषणा गरिएको होटल व्यवसायीले बताए ।

प्रदेश ३ का १३ वटा जिल्लाबाट हेटौडामा ११० जना सांसदहरु भेला भएका छन् । उनीहरुका सहयोगी, प्रदेश संसदका कर्मचारी एवं सञ्चारकर्मीहरुको हेटौंडामा बाक्लो उपस्थिति देखिएको छ ।

बाहिरी जिल्लाबाट पुगेका सांसद र कर्मचारीहरुले डेराको व्यवस्था गर्न नभ्याएका कारण प्रायः सबै होटलमा नै बस्दै आएका छन् ।

प्रदेश सांसदको तलब र भत्ता तोक्न बाँकी नै रहेका कारण सांसदहरु निजी खर्चमै बैठकमा सहभागी हुनुपर्ने अवस्था छ ।

चुनावका बेला ऋणमा डुबेका सांसदहरु फेरि बैठकमा भाग लिन जाँदा लजको बासले थप आर्थिक भारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस