शालिकराम पुडासैनी आत्महत्या प्रकरण

रवि लामिछानेको ‘असुली धन्दा’ बारे कसले गर्ला छानबिन ?

रविको वित्तीय विवरणबारे छानबिन गर्न प्रहरीले नेपाल राष्ट्र बैंकमा पठायो पत्र

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, १३ : ५३
रवि लामिछानेको ‘असुली धन्दा’ बारे कसले गर्ला छानबिन ?

काठमाडौं । आत्महत्या पूर्व शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेलले सिधा कुरा कार्यक्रममार्फत रकम असुल्ने गरेको गम्भीर आरोपसमेत लगाएका थिए । तर प्रहरीमा जाहेरी पर्दा शालिकरामका दाजु र श्रीमतीले हत्या र आत्महत्या दुरुत्साहनमा अनुसन्धानको माग गर्दा यी दुवै पाटोबारे मात्र अनुसन्धान भयो । जिल्ला अदालत चितवनमा पनि यी दुई विषयले मात्र प्रवेश पाए। यतिबेला एउटा प्रश्न टड्कारोरुपमा उठेको छ, रवि लामिछानेको ‘असुली धन्दा’ बारे कसले गर्ला छानबिन ?

प्रमाणका रुपमा अदालतले समेत स्वीकार गरेको भिडियोमा मर्नुअघि पत्रकार पुडासैनीले रविलाई इङ्गित गर्दै भनेका छन्, ‘वेलकम एडभरटाइजिङको विज्ञापन आएको छ । पैसा कसरी उठ्छ, त्यसको प्रमाण अहिलेसम्म मसँग छ । बालुवा तस्करहरु ठूलाठू्ला व्यापारीहरुसँग लिन्थ्यौ। करोडौँ असुलेका छौ । तिमीलाई पोल्छ ।’

उनको दाबीसँगै सो कार्यक्रममा प्रसारण भएको एक कार्यक्रमसँग जोडिएका व्यक्ति तिलक गैरेले ‘शुक्रवार’ र एक युट्युबमा अपलोड भएको भिडियोमा उनका बाबु जोडिएको बलात्कारसम्बन्धी रिपोर्टिङपछि कार्यक्रमको समूहले १० लाख मागेको र आफूले साढे ३ लाख दिएको दाबी गरेका थिए ।

विभिन्न अनलाइन पोर्टलमा भिन्नभिन्न व्यक्तिले कार्यक्रमको नाममा दिएको दुःख र शंकास्पद व्यवहार दाबी गर्दै समाचार प्रकाशित गरिरहेका छन् । सर्लाहीका शम्भुकृष्ण शाहलाई उद्धृत गर्दै बलात्कारको गलत आरोप लागेको दाबी आइरहेको छ । सिजी मोबाइलका कर्मचारीले पाएको दुःखबारे भिडियो रेकर्ड गरेर पछि प्रशारण नगरेको, लाली गुराँस सहकारीको बदमासीबारे पीडितको भिडियो रेकर्ड गरे पनि प्रशारण नगरेको जस्ता आरोपसमेत लागेको छ ।

चितवन जिल्ला अदालतमा पेश भएको मिसिलअनुसार रविको वित्तीय विवरणबारे छानबिन गर्न प्रहरीले नेपाल राष्ट्र बैंकमा पत्र पठाएको उल्लेख छ । मिसिलमा राष्ट्र बैंकलाई पठाएको पत्र समावेश छ तर पत्रअनुसार जवाफ भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस