काठमाडौँमा डेङ्गुको प्रकोप, के हो डेङ्गु ? कसरी जोगिने ?

विहीबार, १२ भदौ २०७६, १६ : २७
काठमाडौँमा डेङ्गुको प्रकोप, के हो डेङ्गु ? कसरी जोगिने ?

चन्द्रमणि भट्टराई
काठमाडौं । काठमाडौं महानगरमा डेङ्गु रोग लागेर उपचारका लागि अस्पताल जाने बिरामीको संख्या ८३ पुगेको, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिनुभएको छ । गएको साउन २७ गते महानगरको वडा १५ मा पर्ने चमति क्षेत्रमा पहिलो पटक ३ जनामा यो समस्या देखिएको थियो । तीमध्ये एउटा घरका श्रीमान् श्रीमति नै बिरामी परेका थिए । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइएको थियो । त्यसपछि वडा १६ र १८ बाट डेङ्गी भएका बिरामीको बारेमा जानकारी आएको थियो । 

रोगका बारेमा जानकारी पाएको शुरुवाती अवस्थाका बारेमा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्नुहुन्छ —  अहिले हामी यस वडा क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरिरहेका छौं । यस क्रममा वडाका घर घरमा पुगेर रोगका लक्षण र बचावटका उपायका बारेमा जानकारी दिइरहेका छौं । यो महानगरका अन्य वडामा देखिएकोले अब महानगरभरि नै नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको छ । प्रवक्ता डंगोल भन्नुहुन्छ — यस संक्रमणलाई निष्क्रिय बनाउन हरेक महानगरबासी उत्तिकै जिम्मेवार हुनुपर्छ । उहाँहरुको सरसफाईप्रतिको सक्रियताले मात्र संक्रमण नियन्त्रणमा आउँछ । प्रवक्ता डंगोलका अनुसार घर, टोल, गल्ली, चोक सफा गर्न चुना छर्कने तथा पानी जम्ने खाडल पुर्ने कामलाई महानगरले तीब्रता दिएको छ । 

गएको बर्ष कार्तिक महिनामा पनि बालाजु र ढुङ्गेधारा क्षेत्रबाट ९ जना बिरामी पहिचान गरिएको थियो । यसरी बिरामी देखिएपछि संक्रमणलाई फैलिन नदिन घरदैलो र सफाइ कार्यक्रम गरिएको थियो । त्यस क्रममा ४७ घरका पानी ट््याङ्कीमा लामखुट्टेका लार्भा देखिएको नष्ट गरिएको थियो । बिगत बर्षका कार्यक्रमको स्मरण गर्दै यस बर्षका कार्यक्रमका बारेमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल भन्नुहुन्छ — वडा १६ का अधिकांश भागमा संक्रमण देखिएको छ । बसपार्क, बिष्णुमती नदी किनाराका अधिकांश भाग, नयाँबजार टाउन प्लानिङ् क्षेत्रमा संक्रमण धेरै छ । मेरो वडामा एक जनाको यसै कारण मृत्यु पनि भइसक्यो । अब यस बिषयलाई नजरअन्दाज गर्नुहुँदैन । उहाँ थप्दै भन्नुहुन्छ — यसबाट बच्ने उत्तम उपाय भनेकै सरसफाइ हो । यो एका ठाउँको सफाइले मात्र समाधान हुने समस्या पनि होइन । त्यसैले, महानगरबासीलाई सरसफाइमा लाग्न सचेत गराउने पर्नेछ । सबै मिलेर सफाइ गर्नुपर्छ । 

महानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख बज्रचार्यका अनुसार, जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरको वातावरण यवस्थापन बिभाग, वडा समितिको कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयम्सेविका, उपभोक्ता समिति, टोल सुधार समिति एकै ठाउँमा भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानका लागि सचेतनामुलक कार्यक्रम अगाडि बढाउने तयारी भएको छ । यो रोग भाइरसको कारणले लाग्छ । यसका बिरुद्ध खोप वा बिशेष उपचार छैन । बज्राचार्य रोगबाट बच्ने उपायका बारेमा जानकारी दिँदै भन्नुहुन्छ — यसबाट बच्ने उपाय भनेकै, डेङ्गी सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्नु, त्यसका अण्डा, लार्भा, प्यूपा नष्ट गर्नु नै हो । 

यसरी लामखुट्टेको टोकाइबाट सृजना हुन सक्ने समस्या न्युनीकरण गर्न महानगरको वातावरण व्यवस्थापन बिभागले सरसफाइको कामलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । सरसफाइ गर्दा हामी चुना र फिनेल जस्ता सामान प्रयोग गर्दै आएका छौं । उहाँ थप्दै भन्नुहुन्छ — सडकका खाल्टा पुर्ने काम भौतिक पूर्वाधार बिकास बिभागले गर्ने भएकोले हामी अन्तरबिभाग समन्वयमा काम गर्छौ । 

के हो डेङ्गु ?

डेङ्गी भाइरसको संक्रमणले हुने रोग हो । यो भाइरस एडिस प्रजातिको कालो र सेतो रङ्ग मिसिएको छिरबिरे पोथी लामखुट्टेको सार्छ । विश्वभर ट्रोपिकल मौसम भएका देशहरुमा यसको संक्रमण पाइन्छ । एशिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, माल्दिभ्स, श्रीलङ्का तथा अफ्रिका र ल्याटिन अमेरिकामा यसको समस्या छ । सामान्यतया यो रोग गर्मी मौसममा हुने भए पनि जलवायु परिवर्तनको असरले भाइरस बोक्ने लामखुट्टे जाडोमा पनि पाउन थालिएसँगै जाडो मौसममा पनि डेङ्गीको समस्या देखिन थालेको छ । 

डेङ्गु ज्वरोका लक्षणहरु

संक्रमित लामखुट्टेले टोकेको ४८ घण्टामा रगतमा भाइरस फैलिन्छ । यसका लक्षण देखिन ३ देखि १३ दिनसम्म लाग्न सक्छ । सामान्य रुघा खोकी लाग्ने, जोर्नी दुख्ने, आँखाका दाना दुख्ने, सरीरमा डाबर आउने, खानामा अरुचि हुने, जोनी तथा मांसपेशी दुख्ने यसका लक्षण हुन् । त्यस्तै पेट तथा आन्द्रामा गडबढी हुने यस रोगमा रगत जम्ने प्रक्रिया अव्यवस्थित भएर भित्री रक्त श्राव हुने समस्या पनि हुनसक्छ । 

यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । केही बिरामीमा शुरु मै सरीरभरी खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डीफोर जस्ता डावरहरु देखिन्छन् । ज्वरो आईरहेको अवस्थामा नाक तथा गिजाबाट तथा छालामुनि रक्तश्राव हुन सक्छ । 

बच्ने उपाय 

सफा पानीमा बस्ने यो प्रजातिका लामखुट्टेले दिनमा टोक्छन् । यसबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनु पर्छ । सरीर पूरा ढाकिने गरी कपडा लगाउनु पर्छ । लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामाग्रीको प्रयोग गर्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । घर वरपर वा घर भन्दामाबाहिर कामगर्न जादाँ लामखुट्टेले टोक्छ कि ध्यान पु¥याउनु पछृ । झ्याल र ढोकामा जाली लगाएर बन्द राख्नुपर्छ । पानी राख्ने भाडाहरु जस्तै पानी ट्याङ्की, गाग्री, दहीको कतौरा, बाल्टिन, ड्रम आदि सँधैं छोपेर राख्नुपर्छ । लामखट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन खाल्डा—खुल्डी पुर्नुपर्छ । घर आँगन सफा राख्नुपर्छ ।

यो लामखुट्टेले सफा पानीमा फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाउँमा पानी जम्मा गरेर राख्नु हुँदैन । पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टा खाल्डो खनेर नष्ट गर्नुपर्छ । गमला फूलदानी एअर कुलर जस्ता पानी जम्ने सामाग्रीको पानी हप्तामा एक पटक नियमित रुपमा सुख्खा हुने गरी सफा गर्नुृपर्छ । त्यस्तै खानेपानीको पाइप तथा ढलहरु चुहिने भएमा तुरुन्त मर्मतको व्यबस्था गर्नुपर्छ । 
 

प्रतिक्रिया दिनुहोस