काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत सोमबार राख्नुभएको मन्त्रिपरिषद् बैठक भोलिपल्टै विवादित बनेको छ। स्वास्थ्य उपचारका क्रममा सिंगापुर रहनुभएका प्रधानमन्त्री ओलीले सञ्चालन गर्नुभएको उक्त बैठकको पक्षरविपक्षमा मंगलबारको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चमा समेत अनेक टीकाटिप्पणी भयो।
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिभिसभा बैठकमा भिडियोमार्फत बैठक बस्दा राज्य सञ्चालनका महत्वपूर्ण सूचना चुहावट हुनसक्ने तर्क गर्दै आपत्ति जनाएको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले त्यसरी बैठक चलाउनु विल्कुलै अनुचित भएको बताउँदै भन्नुभयो– ‘यसबाट सूचना र गोपनीयता चुहिने खतरा रहन्छ। प्रधानमन्त्री नहुँदा त्यसरी बैठक चलाउन मिले सभामुख नहुँदा संसद् बैठक राख्न मिल्ने कि नमिल्ने सभामुखज्यूरु’
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिई गत बिहीबार सिंगापुर जानुभएको थियो।राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत दैनिक प्रशासन सञ्चालन गर्न उपप्रधानमन्त्री पोखरेल कार्यवाहक प्रधानमन्त्री रहनुभएको जानकारी दिइसकेको अवस्थामा भिडियोमार्फत सञ्चालित मन्त्रिपरिषद् बैठकको वैधानिकतामाथि प्रश्न उठ्ने एक नेताले बताए।
यस्तो अवस्थामा कार्यवाहक प्रधानमन्त्रीको हैसियतबारे अन्योल रहेको कानुनविद्को भनाइ छ। कानुनका जानकार विकास भट्टराईले भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले अध्यक्षता ग्रहण गर्न मिल्ने÷नमिल्नेबारे कानुनी प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुभयो।
स्मरणीय छ, यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेला सो प्रविधि प्रयोग गरेर बैठक बस्न मिल्ने गरी सरकारको कार्यसम्पादन नियमावली, २०६४ मा संशोधन गरेको थियो।
सोमबार भिडियो कन्फरेन्समार्फत बसेको बैठकमा प्रधानमन्त्री ओलीले केहीबेर आफ्ना कुरा राखेर मन्त्रीहरूलाई कुरा राख्न अनुमति दिएपछि कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले कुरा राख्नुभएको थियो। उहाँपछि गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्रीलगायत अरू मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयका समस्या प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो।
प्रधानमन्त्रीले सिंहदरबारमै बसेर ठूला परियोजनाहरू हेर्न र मुख्यमन्त्रीहरूसँग भिडियो संवाद गर्न सक्ने गरी गत वैशाखमा बनाइएको एक्सन रुमबाट प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्स गरिएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस