प्रधानमन्त्रीले पहिलोपटक बोलाए सर्वदलिय बैठक

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनका बारेमा छलफल हुने

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, ०७ : १४
प्रधानमन्त्रीले पहिलोपटक बोलाए सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । सरकारको नेतृत्व गरेको १८ महिनापछि प्रधानमन्त्री ओलीले आज पहिलो चोटी सर्वदलीय बैठक बोलाएका हुन् ।

साझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए ।

‘प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि साझ ५ बजे बालुवाटार बोलाईएको छ,’ प्रेस सल्लाहकार डा अर्यालले सफलखबरसँग भने ।

छलफलमा शान्ति प्रक्रियाका बाँकी रहेका कामको टुंगो लगाउने विषयमा छलफल केन्द्रीत हुने बताईएको छ । नेपालको शान्ति प्रक्रियामा अब वेपत्ता खोजविन र सत्यनिरुपण तथा मेलमिलापको काम मात्र टुंग्याउन बाँकी छ ।

लडाकु ब्यवस्थापन, हतियार ब्यवस्थापन लगायतका कामको टुंगो लगाईसकेको नेपालले सत्यनरिुपण तथा मेलमिलाप र बेपत्ता खोजविनको काम भने गर्न अझै बाँकी छ ।

राष्ट्रिय अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थ टकराउन खोज्दा यि बाँकी दुई विषयको भने टुंगो लाग्न ढिलाई भईरहेको थियो । विगतमा बनाईएका यी दुबै आयोगले खास काम गर्न नसकेपछि अहिले फेरि आयोगमा नयाँ पदाधिकारी नियुक्त गरी काम गर्ने तयारी गरेको छ ।

आयोग पदाधिकारी गठनमै विलम्व हुन थालेपछि प्रधानमन्त्रीले आयोग गठन गरेर प्रक्रिया अगाडी बढाउनका लागि सर्वदलीय छलफल बोलाएका हुन् । सत्यनरिुपणमा तत्कालिन माओवादी र कांग्रेस नेतृत्वले बढी चासो राखिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार संसदमा सम्बोधन गर्दै अब एक साताभित्र दुवै आयोग गठन गरेर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने बताएपछि त्यसको तयारीकै लागि सर्वदलीय बैठक आह्रवान गरिएको सचिवालयको तर्क छ ।

सर्वदलीय बैठकमा विकास निर्माण लगायतका सरकारका काम कार्वाहीका विषयमा पनि छलफल हुन सक्ने बताईएको छ । प्रधानमन्त्री ओली यसै सकभर सत्यनरिुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको पदाधिकारी चयन गरी पून फलोअप उपचारका लागि सिंगापुर जान खोजेका छन् । त्यसका लागि पनि उनले दलहरुको रुची बुझ्ने उदेश्यले सर्वदलीय बैठकको आह्रवान गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस