Safal Khabar - ‘सतीदेवीको शव बोक्दै’ कुमाले
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
‘सतीदेवीको शव बोक्दै’ कुमाले
मङ्गलबार, २८ साउन २०७६, १६ : ०३
‘सतीदेवीको शव बोक्दै’ कुमाले

– श्याम रिमाल
काठमाडौँ । एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि  आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र  सतीदेवीको मूर्ति बनाउनुभयो  । उहाँ  आफ्नो एक्लोपन मेट्न दैनिक ज्यासलमा जानुहुन्छ र महिलाका रुप सतीदेवी, बूढी आमा, वसुन्धरा आदि बनाउँदै आफूलाई भुलाउनुहुन्छ  ।  

एक फिट अग्लो मूर्तिमा कुमालेले शिव र सतीको मूर्तीकरण गरी एउटा नौलो काम गर्नुभएको छ  । लक्ष्मीमायाले उहाँलाई खेतमा काम नगरी मूर्ति मात्र बनाउन प्रेरणा दिनुभयो,  पतिको रुचिलाई प्रोत्साहन गरिरहनुभयो । लक्ष्मीमाया अहिले हात्तीवन, उद्योगमार्ग घरमा हुनुहुन्न । यही साउन २५ गते आफूसँगको कुराकानीमा उहाँले आफ्नी सतीदेवीलाई सम्झनुभयो र आँशु चुहाएरै छाड्नुभयो । खुलेर कुराकानी गर्न पनि सक्नुभएन । यसरी कुरा भन्दा कामले नै कालुलाई नेपालको क्रोधकला शिरोमणि बनाइदियो ।  हालसम्म उहाँले महाकाल, भैरव, रुद्र आदिका क्रोध मुद्रा र अन्य साना ठूला गरी ६००. मूर्ति बनाउनुभएको छ । अहिले ८७ वर्षमा हिँड्दा पनि उहाँ केही न केही बनाइरहनुहुन्छ । 

शयन गरिरहेका गणेश पनि उहाँको पछिल्लो कृति हो जुन १० इञ्च अग्लो छ । शायद शयन मुद्राको यो गणेशको मूर्ति नेपालमा पहिलो हुनुपर्छ जस्तो पाटन हौगलमा शयन मुद्रामै गौतम बुद्धको मूर्ति बनाउने श्रेय कृष्णबहादुर राजकर्णिकारले पाएको उहाँका छोरा घनश्याम राजकर्णिकार जिकिर गर्नुहुन्छ । “यस्तो बु्ढ्यौलीमा पनि बुवा कल्पना र विचारमा डुबिरहनुहुन्छ”, उहाँका साहिँला सुपुत्र मूर्तिकार राकेश अवालेले बताउनुभयो । राकेशलगायत उहाँका अन्य छोराहरु पनि अहिले मूर्तिकलामा लागिरहनुभएको छ  । राकेशकै प्रबन्ध निर्देशकत्वमा अहिले हात्तीवनमा कालु आर्टस एण्ड ह्याण्डिक्रयाफ्ट प्रालि विसं २०६३ भदौदेखि सञ्चालित छ । प्रालिले कुमालेसँग मूर्तिको पहिलो मैन प्रारुप मूल्य तिरेरै किन्छ । त्यसैलाई प्रालिले प्रायः तामाको मूर्ति बनाउँछ । त्यस्ता मूर्ति कतिपय अर्डरमा आउँछन् भने कतिपय कुमालेका आफ्नै स्वतःफूर्त कल्पनाबाट बनेका हुन्छन् ।  भर्खरै बन्दै गरेको दुई किसानको मुक्कामुक्की उनको प्रारम्भिक जीवनको प्रतिविम्ब मान्न सकिन्छ । उहाँ आफ्नो पृष्ठभूमि र धरातल पनि कहाँ भुल्न सक्नुहुन्छ र ?

Yeti Diistillery
nic asia

हेर्दा धातुका यस्ता मूर्ति हातले  धातु नै कुँदेर बनाइएको हो कि भन्ने लागे पनि त्यस्तो होइन । मौरीको चाकाबाट प्राप्त मैन किनेर त्यसलाई कम्पास, धागो, सिलकु, चायगुजस्ता अनेक उपकरणको प्रयोग गरी रुप दिइन्छ । त्यसलाई  आवश्यकतानुसार हाकुचा, गठीचा, पहेँलो, मसिनो र कडा माटो आदिले लेपन गरिन्छ । सुकेपछि त्यसलाई भुसले छोपिन्छ । त्यो पनि सुकेपछि त्यसमाथि धातु पगालेर हालिन्छ र भट्टीमा लगी पोलिन्छ । यसबाट मैन झरेर जान्छ । पोलिएको माटो उप्काएपछि मूर्तिको आकार आउँछ । त्यसलाई पोलिस गरेपछि मूर्ति तयार हुन्छ । एक सपाट मूर्तिमा आँखा, ओठ, दाँत, कान, गाला, हात तथा भावभङ्गिमा वा मुद्रा आदि सन्तुलन र अनुपात मिलाउनु नै निकै गाह्रो काम हो  । त्यसमाथि एकपछि अर्काे खप्टेका मूर्ति छन् भने तिनको समन्वय गर्नु कम्ती सहज काम होइन । वज्रभैरव महिष संवर मूर्ति त अरुले नसकेर कुमालेले  तीन वर्ष लगाएर पूरा गरे जुन अहिले भिक्टोरिया एण्ड एल्बर्ट म्युजियम लण्डनमा पनि राखिएको थियो । “मलाई भगवान्ले दिएको शक्ति हो यो”, कुमाले भन्नुहुन्छ । 

उहाँ आफ्ना गुरुको ध्यान र धूपबत्ती पनि गर्नुहुन्छ । निदाएका बेला गुरुले आएर मूर्ति निर्माणमा निर्देशन पनि दिने उहाँले बताउनुभयो । “मैले जीवनमा एक घण्टा मात्र सुतेर पनि काम गरेँ, मूर्तिकलामा लाग्नेले आफैँ मेहेनत गर्नुपर्छ”, उहाँले भन्नुभयो । छोराहरु र आफ्नो काम गराइमा फरक पाए पनि तिनलाई मिहिनेत गर्न उहाँले सुझाउनुभयो । अरुको नक्कल गरेर छिनमै मूर्ति तयार नगर्न पनि उहाँ सबैलाई आग्रह गर्नुहुन्छ । आधुनिकताले कला क्षेत्रको मूल्य ह्रास भएकामा  उहाँ चिन्तित हुनुहुन्छ ।  अहिले उहाँ भैरवको मकुण्डो, वसुन्धरा, मञ्जुश्री, वज्रयोगिनी, नमोबुद्ध, ब्रह्मा, गरुड आदि बनाउँदैहुनुहुन्छ । नेपालको एक मात्र उत्तर बग्ने कर्मनशा खोला छेउमा बस्ने कालु र उहाँका छोराहरु भने मूर्तिकला कर्मलाई संस्थागत बनाई नेपाली मूर्तिकलाको विकासमा लाग्ने र आफ्नो कर्मलाई अझ बलियो बनाउने प्रण गर्नुहुन्छ । 

पत्रकारहरुलाई हौसला दिन उहाँ र छोराहरुको सहयोगमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना भएको छ । आफ्नो कलायात्राको हीरक उत्सव मनाउन लाग्नुभएका कुमालेका पहिलेका र पछिल्लो कालका मूर्तिको प्रदर्शन, वृत्तचित्र निर्माण र उहाँको व्यक्तित्व र कृतित्वबारेको पुस्तक प्रकाशन पनि आगामी महिना हुँदैछ । खुशीको कुरा, अहिले कुमालेका छोरा राकेश र राजेश मात्र होइन, नाति रोजेश अवालेमा पनि मूर्तिकला हस्तान्तरण भइसकेकाले नेपालमा मूर्तिकलाको भविष्य उज्यालो भएको ठोकृुवा गर्न सकिन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस