काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन पाँच दिन बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी तयारीलाई व्यवस्थित र अनुशासित बनाउन कार्यकर्ता तहमा ४० बुँदे परिपत्र जारी गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जारी ‘निर्वाचन विशेष निर्देशन–२’ मा घरदैलो अभियान, मतदाता परिचालन, मतदान केन्द्र व्यवस्थापनदेखि मतगणनासम्म कार्यकर्ताले पालन गर्नुपर्ने स्पष्ट कार्ययोजना तय गरेको छ।
पार्टीले आफ्नो सम्पूर्ण संगठनलाई चुनाव केन्द्रित बनाउन कार्यकर्ता पंक्तिलाई बुथ देखि मतगणनास्थलसम्म, मतदाता शिक्षा देखि मतदाता परिचालनसम्मको स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिइएको छ । निर्वाचनलाई देशको राजनीतिक अन्योल अन्त्य गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालित हुन निर्देशन गरिएको छ।
परिपत्र अनुसार, पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यहरू निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रूपमा आफ्नो निर्वाचन क्षेत्रमा खटिनुपर्नेछ। पार्टीसँग सम्बद्ध जनवर्गीय संगठन र मोर्चाका सदस्यलाई पनि मतदानमा उपस्थित गराउने जिम्मेवारी दिइएको छ।
मतदाता परिचालनमा जोड
निर्देशनमा विशेषगरी मतदाता परिचालनलाई प्राथमिकतामा राखिएको छ। मतदानको दिन टाढा रहेका समर्थक र शुभेच्छुकलाई समेत मतदान केन्द्रसम्म ल्याउने व्यवस्था गर्न कार्यकर्तालाई भनिएको छ।
मतदाता शिक्षा प्रभावकारी बनाउन, मतपत्रमा कसरी छाप लगाउने भन्नेबारे स्पष्ट जानकारी दिन र मतदातालाई भ्रमबाट जोगाउन प्रचार–प्रसारलाई व्यवस्थित बनाउन निर्देशन दिइएको छ।
यसका साथै समाजका प्रतिष्ठित व्यक्तिहरूलाई उम्मेदवारको पक्षमा समर्थन गर्न प्रेरित गर्न तथा मौन अवधि लागू नहुँदासम्म घरदैलो अभियानलाई तीव्र बनाउन पनि भनिएको छ।
मतदान केन्द्रमा विशेष तयारी
निर्देशनमा मतदान केन्द्रको व्यवस्थापनबारे पनि विस्तृत मार्गदर्शन दिइएको छ। मतदान केन्द्रमा पार्टीका प्रतिनिधि खटाउने, मतदाता सूची राख्ने, मतदातालाई आफ्नो नाम पत्ता लगाउन सहयोग गर्ने र मतदान प्रक्रियाबारे जानकारी दिने व्यवस्था गर्न भनिएको छ।
असक्त वा सहयोग आवश्यक पर्ने मतदाताका लागि सहयोगी उपलब्ध गराउने, मतदान केन्द्रको अवस्थाबारे नियमित जानकारी राख्ने र कुनै समस्या देखिए तुरुन्त माथिल्लो तहलाई खबर गर्ने व्यवस्था पनि समेटिएको छ।
सुरक्षा र सतर्कता
निर्देशनमा मतदान प्रक्रियामा हुन सक्ने अनियमितताप्रति सतर्क रहन पनि कार्यकर्तालाई सचेत गराइएको छ।
मतदानको क्रममा कसैले दोहोरो मतदान गर्न खोजे वा अनधिकृत गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन भनिएको छ। मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण कायम राख्न तथा मतदातालाई सहज रूपमा मतदान गर्न सहयोग गर्न पनि कार्यकर्तालाई आग्रह गरिएको छ।
बुथ व्यवस्थापन र कमाण्ड संरचना
निर्देशनमा प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक परिचालन गर्न, प्रतिनिधिको नामावली तयार गर्न र स्पष्ट कमाण्ड संरचना कायम गर्न जोड दिइएको छ।
पार्टीले मतदान केन्द्रमा खटिने प्रतिनिधि र स्वयंसेवकलाई पूर्वतयारीका रूपमा अभिमुखीकरण गर्न तथा जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गर्न निर्देशन दिएको छ।
मतपेटिकादेखि मतगणनासम्म निगरानी
निर्देशनअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गर्ने, मतपेटिका ढुवानी गर्दा पार्टी प्रतिनिधि अनिवार्य रूपमा साथ रहने र मतगणनासम्म सतर्क रहने व्यवस्था गर्न भनिएको छ।
मतगणनाका क्रममा मुचुल्का, शीलछाप र मतपेटिकाको अवस्था जाँच्ने, मतगणना प्रक्रियामा निरन्तर उपस्थित रहने र समानुपातिकतर्फको मत गणनामा पनि उत्तिकै सक्रिय रहने निर्देशन दिइएको छ।
निर्वाचनलाई ‘राजनीतिक मोड’ का रूपमा व्याख्या
निर्देशनको अन्त्यमा पार्टीले आगामी निर्वाचनलाई देशको राजनीतिक दिशानिर्धारण गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।
२०८२ फागुन १४ गते जारी गरिएको उक्त निर्देशनमा सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर छ।
निर्वाचनको अन्तिम तयारीमा पार्टी संरचनालाई पूर्ण रूपमा परिचालित गर्न जारी गरिएको यो निर्देशनलाई नेकपाको चुनावी रणनीतिक दस्तावेजका रूपमा हेरिएको छ।
हेर्नुहोस् परिपत्रको पूर्णपाठ :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक
कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपामा समाहित
भरतपुर–२५ का १६० बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
नेकपाको प्रतिवद्धता पत्रः १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुशासनको ‘समाजवादी मार्गचित्र’