कविता : छ्या

शनिबार, २५ साउन २०७६, १४ : ३०
कविता : छ्या

– प्रकाश चापागाइँ

छ्या हाम्रो हिमताज स्वार्थ रहमा डुब्दै गनायो नि छ्या !
हाम्रो संस्कृति होलिवाइनसँगै झुक्ने बनायो नि छ्या !
यस्तैमा छ बिशेष मान महिमा यो भ्रष्ट संस्कारमा
छ्या यो राष्ट्रियभाव गुम्छ कि कतै खोक्रो अहङ्कारमा !

प्यूँछन् रक्त गरीबको तनतनी लाजै नमानेर छ्या !
छ्या कस्तो गरिएछ सङ्गत अहो खासै नजानेर छ्या !
जूठो खान र माग्न तम्सिरहने सस्ता भिखारीसित
छ्या के आस लिएर बाँच्नु कसरी यस्ता अघोरीसित !

छ्या नाङ्गै नवबादशाह जसरी निर्लज्ज भै नाच्दछन्
छौँ आभूषणमा भनी अझ उनै बेजोडले हाँस्दछन्
निर्धाका पसिना लुटेर करमा मान्दै नमानी धक
यो कस्तो गणतन्त्र भन्नु जनको छ्या छ्या चुडाल्यौ हक !

दु:खीका श्रमविन्दुले हृदयका पीडा पखालेपछि
साथीका ब्यबहार छाड्छ जसले सत्ता समालेपछि
जल्ले खोज्दछ लुट्न राष्ट्र घरको कुम्ल्याउँदै सम्पति
त्यल्लाई कमरेड भन्नु कसरी छ्या लाजलाग्दो मति !

छ्या छ्या डुङ्ग गनाउँदैछ घर नैँ के रुङ्नु के डुल्नु छ्या !
छ्या यस्तो परिवेशभित्र कसरी के सिर्जना फुल्नु छ्या !
छन् लालायित बन्न लेखक कुनै खोजेर राम्रा कथा
छ्या के लेख्नु कुकृत्य मात्र दिलमा जम्दै गरेका ब्यथा !

लामो जीवन ज्यूँन निम्ति विषका पोका किनी खान्छु छ्या !
आफू शुध्द सपाट देख्छु दुनियाँ बेकामका ठान्छु छ्या !
यस्तो नीच दरिद्र मानसिकता बोकेर डुक्रन्छु छ्या !
छोपी नाक छ हिँड्न बाध्य जनता यो दृश्य के हेर्नु छ्या !

प्रतिक्रिया दिनुहोस