वीरेन्द्र परिवारको २१,५६३ रोपनी जग्गा ट्रस्टमा, लिजमा कहाँ कति ?

पत्रपत्रिकाबाट

शनिबार, २५ साउन २०७६, ०६ : २७
वीरेन्द्र परिवारको २१,५६३ रोपनी जग्गा ट्रस्टमा, लिजमा कहाँ कति ?

काठमाडौं । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।

यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन ।

ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ । कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ।

लिजमा कहाँ कति ?
काठमाडौंको गोकर्णमा ट्रस्टका नाममा ३९७१ रोपनी ३ पैसा ३ दाम जग्गा छ । यसमध्ये २९७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा लिजमा दिइएको छ । वीरेन्द्र जीवित रहँदै एलएम सुवीर ब्रदर्स (नेपाल) प्रालि काठमाडौं र यती होल्डिङ्स प्रालिलाई लिजमा दिइएको थियो । २०६७ वैशाख ५ गते ट्रस्टले लिजको पुनः सम्झौता गरेको छ । नयाँ सम्झौताअनुसार २०२५ मंसिर १५ गतेसम्मका लागि लिजमा दिइएको छ ।

१८ औंदेखि २० औं वर्षसम्म १ लाख ६० हजार, २१ देखि २५ औं वर्षसम्म २ लाख ४० हजार र २६ आंैदेखि ३० औं वर्षसम्म २ लाख ६० हजार वार्षिक भाडा तय गरिएको छ । गोकर्णको केही जग्गा भूमाफियाले कब्जा गरेका छन् भने केही स्थानीयले मिचेका छन् ।

कमलादीमा ट्रस्टको ५ रोपनी २ पैसा जग्गामा काठमाडौं प्लाजाको भवन छ । कन्सेप्ट डेभलपर्स प्रालिले २०५० असार ३ गते यो जग्गा लिजमा लिएको थियो । २०६६ पुस २३ गते लिज पुनः सम्झौता गरिएको छ । सम्झौतामा २०६७ असार ३ देखि २०७२ असार २ सम्म ६१ लाख र २०७२ असार ३ देखि २०७७ असार २ सम्म ७५ लाख रुपैयाँ वार्षिक भाडा तोकिएको छ ।

ट्रस्टको लाजिम्पाटमा रहेको ६ रोपनी १३ आना १ दाम जमिनमा स्ट्यान्डर्ड चार्टर्ड बंैक नेपाल लिमिटेड बसेको छ । बैंकले सन् २००५ मा १५ वर्षका लागि लिज सम्झौता गरेको छ । जुन २०१२ देखि ३१ मे २०१४ सम्म ७५ लाख ५६ लाख, जुन २०१४ देखि ३१ मे २०१६ सम्म ८४ लाख, जुन २०१६ देखि ३१ मे २०१८ सम्म ९३ लाख, जुन २०१८ देखि ३१ मे २०२१ सम्म १ करोड ३ लाख र जुन २०२० देखि ३१ मे २०२१ सम्म एक करोड १५ लाख रुपयाँ भाडा तोकिएको छ ।

टेकुस्थित बिजनेस पार्क पनि न्यून मूल्यमा लिजमा दिइएको छ । १९ रोपनी १२ आनामा फैलिएको बिजनेस पार्कले वार्षिक ४० लाख रुपैयाँ भाडा तिर्छ । पार्कले २०५३ चैत २८ देखि २०८३ चैत २७ सम्म ३० वर्षका लागि लिजमा लिएको हो । २०६६ माघ ५ गते लिज पुनः सम्झौता गरिएको छ । जसअनुसार २०६९ देखि २०७३ सम्म ३० लाख, २०७४ देखि २०७८ सम्म ४० लाख र २०८९ देखि २०८२ सम्म ५० लाख भाडा तोकिएको छ ।

नियमविपरीत लिज
दरबारमार्गस्थित १ रोपनी १४ आना १ पैसा जग्गा ट्रस्टले ऐनविपरीत थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिएको छ । ट्रस्टको जग्गा शिक्षा र स्वास्थ्यको प्रयोजनका लागि मात्रै उपभोग गर्ने ट्रस्ट ऐन २०६४ मा व्यवस्था छ । तर त्यहाँ सर्केुले व्यापारिक भवन बनाइरहेको छ ।

ट्रस्टले थामसेर्कुसँग २०७४ जेठ १४ देखि २१०४ जेठ १३ सम्म ३० वर्षका लागि लिज सम्झौता गरेको छ । २०७४ देखि २०७७ सम्म ५० लाख, २०७८ देखि २०८१ सम्म चार करोड ५० लाख, २०८२ देखि २०८६ सम्म चार करोड ५४ लाख ५० हजार, २०८७ देखि २०९१ सम्म चार करोड ५९ लाख २२ हजार पाँच सय, २०९२ देखि २०९६ सम्म चार करोड ६४ लाख १८ हजार ६२५, २०९७ देखि २१०१ सम्मका लागि चार करोड ६९ लाख ३९ हजार ५५६ र २१०२ देखि २१०४ सम्म ११ करोड ८७ लाख १६ हजार ३३५ रुपैयाँ भाडा तोकिएको छ । ताहाचल र कमलादीस्थित जग्गा लिजमा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको ट्रस्टले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ । 

प्रतिक्रिया दिनुहोस