साल्ट ट्रेडिङ्गमा रासायनिक मल फालाफाल, मल खरिद गर्न सहकारीको लर्को

प्रकाश सिग्देल

विहीबार, २३ साउन २०७६, १८ : २६
साल्ट ट्रेडिङ्गमा रासायनिक मल फालाफाल, मल खरिद गर्न सहकारीको लर्को

– प्रकाश सिग्देल
चितवन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले गत आर्थिक वर्षमा ८ करोड १६ लाख ७७ हजार २ सय ५५ रुपैयाँको रासायनिक मल विक्री गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै डिएपी विक्री गरेको हो । कार्यालय प्रमुख बुद्धि विनोद दाहालका अनुसार ५ करोड १५ लाख ८२ हजार ९ सय २० रुपैयाँको २३ हजार २ सय ८८ बोरा मल विक्री भएको हो ।

त्यस्तै २ करोड ४९ लाख ३४ हजार ४ सय १० रुपैयाँको ३२ हजार ५ सय ९४ बोरा यूरिया मल विक्री भएको छ । त्यस्तै ५१ लाख ५९ हजार ९२५ रुपैयाँको ३१९५ बोरा पोटास विक्री भएको हो । दाहालका अनुसार यो परिमाणको मल चितवन नवलपुर र गोरखाका सहकारीले खरिद गरी लगेका हुन् । दाहालका अनुसार चितवनको इछ्छाकामना बाहेकका सबै स्थानीय तह, नवलपुरका ३ सहकारी र गोरखाको २० सहकारीले मल खरिदका लागि कार्यालयबाट स्विकृत पाएका छन् । साल्ट ट्रेडिङ्ग लिमिटेडले अनुदानित मलको जम्मा तीस प्रतिशत मल मात्रै विक्री गर्ने गरेको छ । बाँकी ७० प्रतिशत मल कृषि सामाग्री कम्पनीले विक्री गर्ने जिम्मा पाएको छ ।

बुद्धि विनोद दाहाल
साल्ट ट्रेडिङ्ग चितवनका प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा भरतपुर महानगरका ४७ सहकारीले १२ हजार १०७ बोरा मल लगेका छन् । त्यस्तै कालिकाका ९ सहकारीले २ हजार ९ सय ९३ बोरा, खैरहनी नगरपालिकाका १२ सहकारीले ३ हजार ८ सय ६८ बोरा, माडी नगरपालिकाका ७ सहकारीले १ हजार १ सय ६ बोरा, रत्ननगर नगरपालिकाका १६ सहकारीले १२ हजार ७ सय ७३, राप्तिका १० सहकारीले ११ हजार ६ सय १५, नवलपुरका ३ सहकारीले ६० बोरा र गोरखाका २० सहकारीले १४ हजार ५ सय ५५ बोरा मल लगेको उहाँ बताउनु हुन्छ । अहिले कार्यालयमा मल प्रयाप्त भएको र मल लिनका लागि कार्यालय परिसरमा दैनिक सवारी साधनको लाम लाग्ने गरेको दाहालको भनाइ छ । मलको मागलाई व्यवस्थापन र विक्रीलाई थप सहज बनाउन सबै स्थानीय तहलाई पालो मिलाएर मल विक्री गर्ने गरेको उहाँले बताउनुभयो । कार्यालयमा मल प्रयाप्त रहेको र आउने क्रम पनि तीव्र भएकाले मलको अभाव नहुने दाहाल बताउनु हुन्छ ।

भरतपुर २७ का सहकारीकर्मी राधा कृष्ण भुषालले साल्ट ट्रेडिङ्गले निकै व्यवस्थित तवरबाट मल विक्री गरेको बताउनुभयो । मल आएपछि आफै खवर गरी हरेक स्थानीय तहमा पालो लगाएर मल विक्री गरी किसान र सहकारीलाई सहजता प्रदान गर्न चितवन कार्यालय सफल भएको उहाँको भनाइ छ । साल्ट ट्रेडिङ्गलाई मलको कोटा बढाएर किसानहरुलाई थप सहज बनाउन  सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।   
 

प्रतिक्रिया दिनुहोस