के बामदेवले ‘क्याम्प’ फेरेकै हुन् ?

सफल खबर संवाददाता

विहीबार, २३ साउन २०७६, ०८ : ०२
के बामदेवले ‘क्याम्प’ फेरेकै हुन् ?

काठमाडौं । राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन् भन्ने सन्देश फेरि एकपटक नेकपाका सचिवालय सदस्य बामदेव गौतमले देखाएका छन् । अस्थिर राजनीतिका खेलाडी उनलाई पार्टीभित्र जहिल्यै अवसरवादको खोजी गर्ने नेताका रुपमा चिनिन्छि । आफनो लागि अवसर पाउदा सरलक्कै चिम्पिकिने र अवसर नपाँउदा आलोचनामा उत्रने बामदेवको पूरानै शैली रहेको र त्यो फेरि एकपटक देखा पर्न थालेको नेकपाभित्र अहिले चर्चा चल्न शुरु भएको छ ।

एक त कम्युनिष्टको बलियो जनमत, अर्काेतिर नेपालका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादीले चुनावी गठबन्धन हुँदा समेत बर्दियाबाट गत प्रतिनिधीसभा चुनावमा पराजित भएका बामदेव गौतमले त्यसयता संसदमा छिर्न अनेक छिद्रा दाउ खोजी गरे ।

कहिले डोल्पा, कहिले कता कहिले कताका सांसदलाई भेटदै र पार्टीका शीर्ष नेताहरुलाई समेत आफुलाई लौ न संसदमा ल्याउनु प¥यो भनेर गुहार्दै नेता गौतम दर्गुन थाले । प्रधानमन्त्री केपी ओलीले उनको त्यो दौडाईलाई साथ दिएनन् । बरु पार्टीका अर्का अध्यक्ष प्रचण्डले बामदेव जस्तो जिम्मेवार नेतालाई संसदमा ल्याएर भूमिका दिन सक्दा उत्तम नै हुने ठानी सकारात्मक बनिदिए ।

त्यक्ति गर्दा पनि उनको संसदमा आउने जोर चलेन । काठमाडौं ७ का सांसद रामबीर मानन्धरले उनका लागि सिट खाली छोड्दै पार्टीलाई राजीनामा पत्र बुझाउँदा सम्म ओलीले नेता इश्वर पोखरेललाई अगाडी सारेर बामदेवको सपना तुषारापात बनाईदिए ।

त्यसपछि भने बामदेव ओलीप्रति निक्कै कडा बनेर प्रस्तुत भएका थिए । ६ महिना अगाडीको स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले संयुक्त रुपमा ल्याएको राजनीतिक दस्तावेजमा उनले फरक मत नै ल्याए । सरकारले कामै गर्न नसकेको , पार्टी अस्तब्यस्त बन्दै गएको भन्दै उनले एउटा अध्यक्षले सरकार र अर्काे अध्यक्षले पार्टी सञ्चालनको काम गर्ने गरी कार्यविभाजन प्रस्ताव नै ल्याए ।

त्यसपछि धेरैले लख काट्न थालेका थिए, – ओलीसँग बामदेवको अब चाँही सम्बन्ध विच्छेद भयो । हुन पनि तत्कालिन एमालेको नवौं महाधिशवेनमा ओलीले बामदेवकै साहारामा चुनाव जितेका थिए । त्यसबेला ओलीले उनलाई संसदीय दलको नेता , कार्याबाहक पार्टी अध्यक्ष लगायतका आश्वासन दिएका थिए । तर त्यो वचन ओलीले गौतमका लागि कहिल्यै पूरा गरिदिएनन् ।

पछिल्लो चरण पार्टी सचिवालयमा ओलीलाई पोखरेल र महासचिव विष्णु पौडेलको मात्र साथ हुन थालेपछि कमजोर बन्दै जान थालेका थिए । बामदेव र झलनाथ खनालको स्वभाव बुझेका ओलीले त्यसबीच बामदेवलाई चारो हाल्न थाले , कहिले संगठन विभाग त कहिले कास्कीको उपचुनाव । संगठन विभागमा प्रचण्डको दरिलो साथका कारण मात्र गौतमलाई ओलीले विभाग प्रमुख दिन लचक बनेका थिए ।

त्यसबेला सम्म गौतमको उठबस धेरैजसो अध्यक्ष प्रचण्डसँग हुने गरेको गौतमका निकटवर्ती नेताहरु बताउछन् । तर पछिल्ला दिनमा ओलीले उनको जन्मदिन आफ्नै सरकारी निवासमा बोलाएर मनाईदिएयता गौतम ओलीतिर लपक्कै लहसिन थालेका छन् ।

त्यही क्रममा उनले ओली पक्षले नरुचाएको पार्टीको राजनीतिक कार्यदिशा (कार्यक्रम)मा मुख खोलेका छन् । ओलीले गौतमलाई त्यहीबाट टेस्ट गर्ने रणनीति बनाएका छन् । ‘उहाँ (गौतम)लाई प्रधानमन्त्रीले संगठन विभाग, कास्कीको उपचुनावको टिकट लगायतको आश्वासन दिनुभएको छ, त्यसको लागि पार्टी राजनीतिक कार्यक्रममा असहमति जनाउादै उहाँले पहिले फायर खोल्नुपर्ने शर्त ओलीको देखिन्छ, अहिले उहाँले त्यही अनुसार पार्टीको आम सहमतिमा बनेको राजनीतिक कार्यक्रम प्रति इश्वर पोखरेल भन्दा अगाडी बढ्न खोजेर विरोध गर्न थाल्नु भएको छ,’ नेकपाका एक स्थायी समिति सदस्यले वामदेवको राजनीतिक चरित्रवारे टिप्पणी गदै सफलखबरसँग भने ।

अहिले गौतमले पार्टीको हालै प्रकाशित दस्तावेजमा उल्लेखित राजनीतिक कार्यक्रमप्रति असहमति जनाउन थालेका छन् । वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी लगायत नेताहरुले तयार पारेको राजनीतिक प्रतिवेदनमा उल्लेखित राजनीतिक कार्यक्रम जनताको जनवादप्रति गौतमको असहमति उनी स्वयंले अहिले बाहिर ल्याउन थालेका छन् ।

नेपाली क्रान्ति समाजवादमा पुगेको मान्ने हो भने पार्टीको कार्यक्रम समाजवाद नै बनाउनुपर्छ, गौतमको पछिल्लो भनाई आउन थालेको छ । त्यत्तिःमात्र होइन, उनले तत्कालिन एमालेले अबलम्बन गर्दै आएको राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवादलाई माक्र्सवाद, लेनिनवाद जस्तै सार्वभौम भएको भन्दै सिद्धान्त बनाउनु पर्ने र जनताको जनवादको कार्यक्रमको साटो समाजवादलाई पार्टी कार्यक्रम बनाउनु पर्ने पक्षमा वकालत थालेका छन् ।

ओलीले सचिवालयमा आफु बलियो बनाउन र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल लगायत नेतालाई किनाराको साक्षी मात्र बनाउन खोजेका छन् । त्यही क्रममा केही अवसर दिँदा उपयोगमा आउन सक्ने नेताहरुलाई सरकार र पार्टीको समेत डाडुपन्यु बोकेर आफैले बसेका बेला आश्वासनमा नेताहरुलाई फकाएर आफ्नो पक्षमा माहोल बनाउन ओली अहिले लागेको देखिएको छ । त्यही क्रममा उनले बामदेवलाई आफु तिर तान्ने र उनको क्याम्प बदलिदिने रणनीति अख्तियार गरेका छन् । त्यसमा ओली करिब सफल जस्तै बनेको ओली निकट नेताहरुको जिकिर छ । 

प्रतिक्रिया दिनुहोस