विद्युत प्राधिकरण भरतपुरबाट एक अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन

सुमन गैरे

आइतबार, १९ साउन २०७६, १४ : १९
विद्युत प्राधिकरण भरतपुरबाट एक अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन

चितवन । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा एक अर्ब ८६ करोड २२ लाख २० हजार ५७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्राधिकरणले आर्थिक वर्ष ०७५/०७६ मा १७ करोड ९० लाख २८ हजार ५ सय ३१ युनिट बिक्री गरी उक्त राजस्व संकलन गरेको प्राधिकरण भरतपुरका प्रमुख सुरेशकुमार महतोले बताए । कार्यालयले १८ करोड ९५ लाख ९७ हजार ७ सय ९० उठाउन बाँकी रहेको पनि प्रमुख महतोले जानकारी दिए । जसमध्ये सडक बत्तीको एक करोड ३८ लाख ८७ हजार र गैर व्यापारीको एक करोड ९३ लाख ८५ हजार रहेको उनले बताए ।
प्राधिकरणले सडक बत्तीबाट गत आर्थिक वर्षमा २९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बक्यौता असुल गरेको छ । स्थानीय तहबाट संकलन गरिने सडक बत्तीको बक्यौतामध्येबाट २३ करोड जरिवानाबाहेक संकलन गरेको रकम भएको प्राधिकरणका आयफाँटका प्रमुख मुकेश सिंहले बताए । आर्थिक वर्ष २०७५।०७६ मा २ सय ८ जनाले विद्युत् चोरी गरेको र सोको जरिवाना वापत २० लाख ३३ हजार १ सय रुपैयाँ संकलन गरिएको पनि सिंहले जानकारी दिए । 
भरतपुर वितरण केन्द्रसँग आवद्ध ८६ हजार ४ सय ग्राहक छन् । जसमध्ये गैर व्यापारी ४ सय ३७, व्यापारिक ८ सय ६१, औद्योगिक १ हजार ४ सय ५४ र सिंचाइका ६ हजार ८ सय ८५ र अन्य ग्राहकहरु रहेको कम्प्युटर शाखाका खेमबहादुर गुरुङले जानकारी दिए ।
भदौ महिनादेखि चुहावट नियन्त्रण, बक्यौता असुली निरीक्षण, तार थप्ने र क्षमता बढाउने अभियानमा लाग्ने उनको भनाइ छ । आर्थिक वर्ष ०७४।७५ मा ११ दशमलव २१ प्रतिशत युनिट चुहावट भएकोमा ०७५।७६ मा सो युनिट घटेर ९ दशमलव २३ प्रतिशत प्रतिशत पु¥याइएको प्रमुख महतोले जानकारी दिए ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २०६२ सालदेखि विद्युत् महसुल नबुझाउने २ सय ७५ जना ग्राहकलाई कालोसूचीमा राखेको जनाएको छ । उक्त ग्राहकबाट ८२ लाख ५३ हजार ७ सय ९८ रुपैयाँ उठाउनु पर्ने प्राधिकरणका प्रमुख सुरेश महतोले बताए । यो रकम जरिवानाबाहेकको हो ।

प्रतिक्रिया दिनुहोस