Safal Khabar - मैले देखेको भरतपुर : हिजो र आज
आइतबार, ०१ भदौ २०७६ (Sunday, 18 August, 2019)
मैले देखेको भरतपुर : हिजो र आज
बिहिबार, १६ साउन २०७६, १२ : १९
मैले देखेको भरतपुर : हिजो र आज

- सिर्जना थपलिया                                 
उपसचिव, भरतपुर महानगरपालिका 

हुन त मैले त्यति समय व्यतित गरेको छैन होला भरतपुर जस्तो शहरको परिवर्तनलाई यसरी आफ्नो अनुभवमा लेख्ने, तर पनि यो दुष्साहस गरेको छु । धादिङको गाँउमा जन्मि हुर्केकी मैले सहर भन्ने पहिलो पटक देखेकी नारायणगढ नै हो । साल त exactly याद भएन तर नारायणगढ बजारमा बुबाको हात समाउदै हिड्दा एउटा टि. भि. पसलमा राखिएको रङ्गिन टि. भि. अनि त्यसमा आएको कार्टुनमा आँखा अड्कदा बुबाको हात नै छुटेको अहिले पनि मलाई राम्ररी याद छ । नारायणगढमा मान्छेको भिड थिएन.. बुबा अलि पर पुग्नुभएको हुँदो हो फर्केर आउनु भो र भन्नु भो "ए ! यहि पो बसिछ, हिड् जाउ", त्यतिवेला लागेको थियो "आहा ! यहि केहिबेर बसेर यो भाँडोको मान्छे हेर्न पाए" ...।

उतिबेला देखि नै नारायणगढ मेरो रहरको सहर बन्यो, सपनाको सहर बन्यो । किनमेलको मुख्य बजार, आफन्तहूरूको बसोबास अनि मामाघर जाने आउने बाटो भएकोले कहिले गाडीको झ्यालबाट, कहिले गाडीको छतबाट त कहिले एकैछिनको किनमेलको लागि झल्याकझुलुक बाहेक नारायणगढ/भरतपुर आउन र बस्न मेरो लागि सम्भव थिएन म सानो हुँदा। SLC पास गरेपछि २०५९ सालमा क्याम्पस पढ्नको लागि पहिलो रोजाइ, मेरो उतिवेलाको सपनाको सहर नारायणगढ पुनः ओर्लिए म, अब एक छिनलाई होइन, एकदिनलाई होइन, पढ्नको लागि, क्याम्पस पढ्नको लागि २,३ वा ५ वर्षको लागि भन्ने मनमा बोकेर । मनको इच्छा लामो समय बस्ने भन्ने भएपनि ९ महिनाको बसाई पछि नै भरतपुरलाई बाइबाइ गर्नुपर्यो । त्यो दश महिना (हिजो) र यसपटकको एकवर्षको अवधि (आज) मा मैले देखेको भरतपुरलाई शाब्दिक रुपमा पस्कने जमर्को गरेको छु ।  

सडक 
हिजो सडकहूरू साँघुरा र कच्चि (राजमार्ग बाहेक) थिए । सडकको छेउमा विद्युत् पोलहूरू थिए । सडकमा सवारी साधन निकै कम गुड्दथ्ये । सडकसँग फुटपाथ कमै देखिन्थ्ये, भएको फुटपाथमा पसलहूरू प्रसस्त हुन्थे, हिड्नेहूरू  सडकमा वेफिक्री हिड्थ्ये। हिड्दा सुस्ताउन सडकको छेउमा ठूला ठूला रुख र चौताराहूरू भेटिन्थ्ये । 

आज फराकिला र पिच भएछन्, फुटपाथ विस्तार हुन थालेछन्, फुटपाथबाट व्यवसायहूरूलाई हटाइएछन् । तर विद्युतको पोल सडकबीचमै बसेछन् । हिजो सडक पनि हिड्नका लागि प्रयोग गरिन्थ्यो आज फुटपाथ पनि सवारी साधनले भरिएछ । हिजो ५ जना साथीहूरू हामी हामी पाँच भन्दै एकै Row बनाएर सडकमै हिड्दा पनि साइकलको घण्टीले मात्र बाटो छाडिदिन आग्रह गर्दथ्यो तर आजको फराकिलो सडकको पेटीमा एक्लै हातबाँधेर हिड्दा पनि कहिले पल्सरको हर्न त कहिले ट्रिपरको व्रेकको आवाजले मुटु नै झस्किने भएछ । 
बाटोको चौडाइ (Width) त बढेछ तर साँघुरोपन (Congestion) उस्तै रहेछ । सडक पक्कि त (Pitch) बनाएछौ तर परमानेन्ट (Permanent) भएनछ । सडकमा प्रविधि त भित्र्याउन खोजेछौ प्रकृति संरक्षण ओझेल परेछ । सडक तथा फुटपाथमा सवारी साधनको स्वतन्त्रता बढेछ तर हिड्नेहूरूको सडक स्वतन्त्रता कतै हराएछ । 

साइकल 
हिजो पुल्चोक देखि चौविसकोठीसम्म साइकलका लर्कनले सडक ढाकेको देखिन्थ्यो । भित्री सडकमा साइकलकै प्रतिष्पर्धा हुन्थ्यो, गाडी र मोटर साइकल विरलै देख्न पाइन्थ्यो । के महिला के पुरुष सबै साइकल चढ्थ्ये । विद्यालय कलेजहूरूले साइकल स्ट्याड र साइकल पार्किङ्क छुट्याएको हुन्थ्यो, अलि टाढाबाट बस्ने शिक्षक देखि विद्यार्थी सम्म सबै साइकलमै आवतजावत गर्दथे । 
साइकल भन्ने देखेकी मात्र मैले साइकल किन्न बुबालाई आग्रह गर्दा "चलाउन सिक् अनि किनिदिन्छु" भन्नु हुँदा अरुको साइकल मागी मागी भने पनि चलाउन सिकेकी थिए तर आज आफैं साइकल किन्न सक्ने हैसियत बनाएर आउदा साइकलको त फेसन नै हराएछ ।  

चुरोट, सुर्ति, गुड्खा र प्लाष्टिक 
हिजो चुरोट सर्काउदै, सुर्ति पड्काउदै सडक छेउ र चोकमा बस्ने मानिसहूरू प्रसस्त देखिन्थे । आज त्यस्ता मानिसहूरू कम देखिन थालेछन् तर चुरोटका ठुँटा, सुर्ति र गुड्खाका प्याकेटहूरूले रंगाङ्गाएको बाटो भने उस्तै रहेछ । प्लाष्टिकका फोहोर; हिजो फाल्नेहूरू मात्र थिए टिप्ने कोही थिएनन् आज सरसफाई अभियान्ताहूरू चोकचोकमा खटिएका रहेछन् तर न त फाल्नेहूरू फाल्न छोडेका रहेछन् न बाल्नेहूरूले बाल्न नै । फरक यत्ति हो हिजो नजानेर गरिने त्यस्ता गतिविधि आज जान्यौ भन्दा पनि नियन्त्रण हुन सकेको रहेनछ ।   

अन्तमा,
चेतनाको स्तरमा समग्र नेपालको अग्रणी स्थानमा रहेको भरतपुर पूर्ण साझर घोषणा भएछ, शिक्षितहूरू बढेछन् । मानिस आफ्नो अधिकार बुझ्ने भएछन् तर सँगै कर्तव्य सम्झिन अझ बाँकी रहेछ । समग्रमा भरतपुरमा भौतिक प्रगतिले गति लिएछ तर पद्धति, प्रकिया, नियत र नैतिकता सुधारमा खर्ह्रो उत्रन अझ बाँकी नै रहेछ । हिजो मैले देख्दा विकासको बाटोमा पाइला चाल्न सुरु गरेको यो सहर आज हिड्न त थालेछ तर अब विकासको शिखर चुम्न, समृद्ध र सुसंस्कृत हुन हिडेर मात्र हुदैन भरतपुरले दौडनु पर्छ, उड्नु पर्छ । विभिन्न हैसियतमा पटक पटक भरतपुरसँग साक्षात्कार गर्ने अवसर जुराइदिनु हुने सम्पूर्णमा हार्दिक आभार । यस अनुभवलाई समय दिई पढिदिनु हुने सम्पूर्णमा नमन । 

प्रतिक्रिया दिनुहोस