मामाभाञ्जा भएर अझै कति लुट्छौ देश ?

सिंहदरबारमा विप्लव शैलीमा चन्दा उठाएको भन्दै मनोज पाण्डेको चर्को आलोचना

सफल खबर संवाददाता

मंगलबार, १४ साउन २०७६, १४ : ४१
सिंहदरबारमा विप्लव शैलीमा चन्दा उठाएको भन्दै मनोज पाण्डेको चर्को आलोचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको भाञ्जा भएकै करणले मनोज पाण्डेलाई जनतासँग प्रधानमन्त्री कार्यक्रमका लागि भनेर सहकारी तथा गरिबी निवारण मन्त्रालयले २५ लाख दिएको चर्चा सिंहदरबारभरि नै छ । 
२५ लाखको चेककाण्डमा बारेमा भने मन्त्रालयमा चर्चा सेलाएको छैन । भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले कुन शीर्षकमा कसरी पाण्डेलाई पैसा दिएकी हुन्, उनी किन पैसा दिन बाध्य भइन् भन्ने लगायतका विषयमा मन्त्रालयमा खुबै चर्चा हुने गरेको छ । 
सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली निर्वाचन आयोगमा रहँदा आलिसान सवारी साधान किन्न नपाएपछि मन्त्रालयमा फर्किएका थिए । उनै सचिव मैनालीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाललाई रिझाउनका लागि उक्त रकम दिएको जानकारहरु बताउँछन् । तर आमनागरिकलाई चक्रवर्ती व्याज लिएर ठगी गरिरहेका सहकारीलाई पाता कस्ने सम्बन्धमा मन्त्रालयले कुनै पनि पहल गरेको छैन । 
मनोज पाण्डेजस्ता पण्डाहरुलाई सरकारी स्रोतको रकम दिएर चरम भ्रष्टाचार गरेका मन्त्री अर्याल र सचिव मैनालीलाई अख्तियार लाग्ला कि नलाग्ला भन्ने चर्चा पनि उत्तिकै रहेको छ । एउटा सामान्य कर्मचारीले दुई चार हजार घुस माग्दा रंगेहात समाउने अख्तियार मनोज पाण्डे प्रकरणमा किन चुप बसेको छ भन्ने कुरा पनि आश्चर्यजनक रहेको छ । 
पाण्डेले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मात्रै ६५ लाख बराबरको रकम बुझेको बताइन्छ । उनले सामाजिक सुरक्षा कार्यक्रममा सहयोग गरेको र वृत्तचित्र बनाएको भन्दै सो मन्त्रालयबाट रकम लिएको बताइन्छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट २० लाख लिएको र २० लाख बराबरको बिल नेपाल विद्युत् प्राधिकरणमा पठाएको बताइन्छ । तर ती बिलको भुक्तानी भए नभएको बारेमा भने केही बताइएको छैन ।
बन्द भयो जनतासँग प्रधानमन्त्री
सिंहदरबारमा विप्लव शैलीमा चन्दा उठाएको भन्दै चर्को आलोचना भएपछि पाण्डेको कार्यक्रम अहिले बन्द गरिएको छ । प्रधानमन्त्री केपी ओलीले नै त्यो कार्यक्रम बन्द गर्न निर्देशन दिएको बताइन्छ । 
जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द भएपनि पाण्डेले विप्लव शैलीमा चन्दा उठाउने काम रोकेका छैनन् । विष्णु रिमालले फोन गर्ने र पैसा लिन भान्जा भन्दै पाण्डे जाने गरेका छन् । भएभरका सबै सरकारी कार्यालयमा प्रधानमन्त्रीको गतिविधि समेट्ने भन्दै पाण्डेले रकम उठाउने गरेको पाइएको छ । सडक विभागमा मात्रै पाण्डेले ४० लाख बराबरको बिल पु¥याएका छन् । 
उनले हरेक मन्त्रालय, विभाग तथा समिति र संस्थानमा समेत रकम माग गर्दै पत्र पठाएको र वृत्तचित्र बनाउने भन्दै प्रपोजल समेत पठाएका छन् । ‘नदिए विष्णु रिमालले नै फोन गरेर धम्क्याउने गरेका छन् । दिउँ भने कसरी दिनु भन्ने भएको छ’ एक विभागका महानिर्देशकले भने ।
नेत्रविक्रम चन्दले स्थानीय निकायका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई धम्क्याएर चन्दा उठाए जस्तै पाण्डेले सिंहदरबार र बालुवाटारको आडमा चन्दा उठाएका छन् । तर कानून कार्यान्वयन गराउने निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुपचाप रमिता हेरेर बसेको छ । अख्तियारका एक उच्च अधिकारी भन्छन्, ‘कोही कसैले उजुरी गरे कारवाही अगाडि बढाउन सकिन्थ्यो होला, तर हालसम्म कुनै पनि उजुरी परेको छैन ।’ 

प्रतिक्रिया दिनुहोस