नेकपा सचिवालय बैठकमा यस्ता भएछन् छलफल

सफल खबर संवाददाता

मंगलबार, १४ साउन २०७६, ०७ : ४२
नेकपा सचिवालय बैठकमा यस्ता भएछन् छलफल

काठमाडौं । पार्टी स्कुल विभागको नेतृत्व रस्साकस्सीका बीच सत्तारुढ दल नेकपाले केन्द्रीय विभागको साङगोपाङगो मिलाउन सकेको छैन । तीन पटक मिति तोकिने र स्थगित हुदै आएको सचिवालयको बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्न त बस्यो, तर अपेक्षा गरिएको विभागिय जिम्मेवारीका विषयमा बैठकमा खासै छलफलले प्रवेश नै पाएन । सचिवालयका एक सदस्यका अनुसार, सोमबारको नेकपा सचिवालय बैठक काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तो मात्रै भयो । ‘बोलाइयो, केन्द्रीय विभाग, आयोगहरुको नेतृत्वका चयनका विषयमा छलफलका लागि, तर एजेण्डामा खासै छलफल नै भएन, सचिवालय बैठक अर्काे बैठक साउन २८ मा बस्ने निर्णय गदै त्यतिकै सकियो,’ ती सचिवालय सदस्यले सफलखबरसँग भने ।

जिम्मेवारी नपाएका केन्दीय नेताहरुसँग उनीहरुका रुची समेत बुझेर कार्यविभाजनको परिमार्जित प्रस्ताव तयार पार्ने र २८ साउनमा बस्ने बैठकबाट कार्यविभाजनको निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । तर, ढेड घण्टा चलेको सचिवालय बैठकमा सहभागी अर्का एक सचिवालय सदस्यले बैठकमा शुरु देखि अन्त्यसम्म भएका नालीवेली सफल खबरलाई सुनाएका छन् ।

नेकपा सचिवालय बैठक सोमबार दिउँसो ३ बजेर १९ मिनेटबाट शुरु भएको थियो । प्रधानमन्त्री बाहेक सचिवायलका अन्य ७ नेता ३ बजे नै बालुवाटार प्रवेश गरेपनि बामदेव गौतम सवा ३ बजेमात्र वालुवाटार पुगे । गौतमलाई पर्खेर बसेका नेताहरुले त्यसपछि प्रधानमन्त्रीलाई सबै नेताहरु जम्मा भईसकेको सूचना पु¥याए । माथिल्लो तलामा रहेका प्रधानमन्त्री त्यसपछि मात्रै बैठक कक्षमा प्रवेश गरेका थिए । त्यसपछि शुरु भयो, – नेकपा सचिवालय बैठक । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले विभिन्न भूमिका बाधेर प्रवक्ता नारायणकाजी श्रेष्ठतिर हेदै सोधे, – ‘अरु विभागहरुको कुरा करिब मिलेकै जस्तो छ, स्कुलमा के गर्ने ? नारायणकाजी जी भन्नुहोस्, अब यो विषयमा कसरी जाने ?’ स्कुल विभागको दाबी गरिरहेका श्रेष्ठलाई प्रधानमन्त्रीले बोल्न भनेपछि श्रेष्ठले बोल्न थाले । उनले पनि भूमिका बाधेर नै मुख्यत : दुई तिन ओटा कुरा उठाए । श्रेष्ठको भनाईका सार सुनाउदै ति सचिवालय सदस्यले सफल खबरसँग भने, –‘संसदीय भूमिकामा म छैन, बामदेवजी र मलाई पार्टी कामको भूमिका पार्टीले दिनुपर्छ ।

वरियतामा आफु भन्दा माथिल्ला नेताहरुले रोजी रोजी विभाग लिनुभयो, मैले रोज्ने बेलामा भने रोज्न दिन खोजिएन, सबैले विभाग राजेर लिने भएपछि मैले त्यसरी रोज्न किन नपाउने ? सचिवालयले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’ श्रेष्ठको त्यस्तो जवाफ पछि प्रधानमन्त्री नाजवाफ भए । श्रेष्ठको त्यस्तो तर्कपछि प्रधानमन्त्री ओलीले विभागका विषयमा अहिले छलफल नै नगरौं, अझै गृहकार्य नपुगेको बताए । सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले सचिवालयका सदस्यहरुले विभागिय जिम्मेवारी नै नलिऔं, तलबाट जिम्मेवारी दिँदा राम्रो हुने प्रस्ताव नेता कार्यकर्ताका धेरै सुनिएका छन्, भन्ने प्रस्ताव गरे । तर वरिष्ठ नेता माधव नेपालले भने, – यस्तो हुन्न । सचिवालयले नै महत्वपूर्ण विभागको नेतृत्व लिनुपर्ने हुन्छ, सबै तलका नेताहरुलाई जिम्मा दिन सकिन्न ।’ त्यसपछि प्रधानमन्त्री ओलीले यो विषय अन्य नेताहरुको रुचीका विषयमा पनि सोधेर निर्णयमा पुग्यौं भन्ने प्रस्ताव गरे ।

ओलीको त्यस्तो प्रस्तावमा अध्यक्ष प्रचण्डले पनि सहमति जनाए । त्यसपछि बैठक कार्यविभाजनको प्रस्तावमा छलफलबाट अन्यत्र विषयमा प्रवेश पायो । प्रधानमन्त्री ओलीले आफु उपचारका लागि एक साताका लागि सिंगापुर जान लागेको सुनाए । ‘मलाई डाक्टरहरुले १२ वर्ष अगाडी गरिएको मृगौला प्रत्यारोपणको एकपटक फलोअप गर्न सुझाएको लामो समय भईसकेको छ । समय मिलाउन सकिरहेको थिइन । यही १८ गते एक साताका लागि सिंगापुर जान सोचेको छु, बैठक अलिक पछि सारौं ’ ओलीले बैठकमा राखेको भनाई उदधृत गदै ति सचिवालय सदस्यले भने । ओली पछि अध्यक्ष प्रचण्डले पनि आफनो भ्रमणका विषयमा जानकारी गराए । उनले आफु दुबही जान लागेको सुनाए । ‘पार्टीका दुवै अध्यक्षले आ–आफनो विदेश भ्रमणका विषयमा जानकारी गराएपछि बैठक विषयवस्तुमा प्रवेश नै गरेन, त्यसपछि विषयान्तर भयो, ’ ति नेताले भने,–‘त्यसपछि त अन्तराष्ट्रिय बाघ सम्मेलन देखि अन्य विषयमा नेताहरुले चर्चा गर्न तिर समय खर्चिन थाले ।’ झण्डै आधा घण्टा त अन्तराष्टिय वाघ सम्मेलनका विषयको चर्चामै नेताहरुले बिताए । वरिष्ठ नेता माधव नेपाल अन्तराष्टिय बाघ सम्मेलनमा सहभागी हुन रसिया पुगेको देखि नेपालले बाघको संख्या कसरी बढाउने भन्ने सम्ममा पनि बैठकमा नेताहरुले चर्चा गरे । त्यसपछि भने विशेष प्रदेश कमिटि र सम्र्पक कमिटिका विषयमा नेताहरुले विषय प्रवेश गराए । त्यसमा पनि अध्यक्षद्धयले गृहकार्य नपुगेको बताएपछि अब दुवै अध्यक्ष विदेशबाट फर्केपछि अन्तरिक छलफल गर्ने, त्यो बीचमा सबै जिम्मेवारी नपाएका केन्द्रीय सदस्यलाई प्राथमिकताको सूचि बनाएर एक ,दुई र तिन नम्बरमा आफ्नो रुचिको प्राथमिकता महासचिवलाई बुझाउन निर्देश गर्ने निर्णय बैठकले ग¥यो । त्यसरी लिइने सुझाब महासचिवले अर्काे बैठकमा प्रस्तुत गर्ने गरी २८ गते दिउँसो ३ बजे अर्काे बैठक बस्ने गरी बैठक सकिएको ति नेताले बताए । स्कुल विभागकै दाबी गरिरहेका सचिवालय सदस्य इश्वर पोखरेलले भने सोमबारको बैठकमा केही बोलेनन् ।

प्रतिक्रिया दिनुहोस