नेकपा सचिवालय बैठक १५ दिनका लागि स्थगित, अब साउन २८ गते बस्ने

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १७ : २५
नेकपा सचिवालय बैठक १५ दिनका लागि स्थगित,  अब साउन २८ गते  बस्ने

काठमाडौं । नेकपामा स्कुल विभागकको गाँठो अझै फस्कन सकेको छैन । जुन गाँठोले एकता प्रक्रियालाई नै गम्भीर असर पार्दै लगेको छ । 

स्कुल विभागको नेतृत्वमा देखिएको विवाद सोमबार साँझ बसेको सचिवालय बैठकले पनि टुंगो लगाउन सकेन र दुई साताको लागि सचिवालय बैठक नै पर धकेलिएको छ । अब के हुने चर्चापरिचर्चा सुरु हुन थालेको छ । 

अन्य विभागमा खासै विवाद छैन । तर स्कुल विभागमा भएको विवाद दुई साता भयो, तर सुल्झन सकेको छैन । आज साँझ बसेको बैठकले सुल्झाउने आशा गरिएको थियो । तर त्यो आशा पनि निराशामा परिणत भएको छ । स्कुल विभागका बारेमा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद देखिएको छ ।

व्यक्तिमा पनि पछि पछिल्लो समय पूर्वएमाले र पूर्वमाओवादीबीच स्कुल विभाग कसले लिने भन्ने विषयमा विवाद बढेको देखिन्छ । विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको मुख्य दाबी देखिए पनि अन्य नेताहरुको पनि दाबेदारी कायमै छ । घनश्याम भुसाल पूर्व एमालेमा स्कुल विभाग आए कुनै हालतमा नछोड्ने बताइरहेका छन् । अर्का पूर्व एमालको नेता वेदुराम भुसाले पनि आफूले पाउनेपर्ने दावी गरिरहेका छन् । 

सोमबार बसेको सचिवालय बैठकमा पार्टी एकताका लागि केन्द्रीय निकाय, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय कमिटीमा रहेका सबैको कार्यविभाजन गर्नका लागि कसको कुन विभाग र निकायमा रुची छ भन्ने विषयमा बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले रुची र प्राथमिकताका बारेमा सम्बन्धित व्यक्तिलाई पनि सोधेर निर्णय लिइने बताउँदै अहिलेसम्म कुनै पनि विभागको टुंगो नलागेको बताए । गृहकार्यका लागि भन्दै बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको श्रेष्ठको भनाइ छ ।  ‘सचिवालय बैठकले कुनै पनि विभागको बारेमा कुनै निर्णय गरेको छैन’ उनले भने, ‘एउटाको मात्रै विवाद छ भन्न मिलेन ।’

नेकपाका नेता झलनाथ खनालले पनि अध्यक्षद्वयको गृहकार्य नपुगेको भन्दै रुचीका बारेमा सम्बन्धित व्यक्तिसँग छलफल गरेर साउन २८ गते बैठक बस्ने बताए । ‘अध्यक्षद्वयको गृहकार्य पुगेन’ उनले भने, ‘गृहकार्य गरेर अर्को बैठकले टुंगो लगाउँछ ।’

प्रतिक्रिया दिनुहोस