भरतपुर महानगरका सडकलाई नमुना बनाउन वृक्षारोपण

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १४ : ५१
भरतपुर महानगरका सडकलाई नमुना बनाउन वृक्षारोपण

चितवन । भरतपुर महानगरपालिकाका कालोपत्रे सडकलाई नमुना बनाउन आजदेखि वृक्षारोपण अभियान सुरु भएको छ । भरतपुर महानगरले वडा नं ५ को आनन्दमार्गमा वृक्षारोपण गरी अभियान सुरु गरेको हो । 

महानगर प्रमुख रेनु दाहालले महानगरका मापदण्ड पूरा गरेका कालोपेत्र सडकको छेउछाउमा फलफूलका वृक्षहरु रोपेर सडकलाई नमुना बनाउने अभियान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक छेउमा हरियाली कायम राख्न बिरुवा नभई अलि ठूला वृक्ष नै रोपिएको छ, जसका कारण छिटोभन्दा छिटो सडक छेउ हरियाली बन्ने छ ।’

उहाँले महानगरका हरेक कालोपत्रे सडकको छेउछाउमा फलफूलका रुखहरु नै रोपेर नमुना सडकको अभियान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फलफूलका रुखले हरियालीसमेत हुने र ताजा फलफूल पनि खान पाइने हुनाले अन्यभन्दा फलफूलकै रुखहरु रोपिएको हो । प्रमुख दाहालले आनन्दमार्गको सडकबाट वृक्षरोपण अभियान सुरु भएको र विस्तारै अन्य सडकलाई नमुना बनाउन वृक्षरोपणको अभियानलाई जारी राख्ने बताउनुभयो । 

वडा नं ५ का वडाध्यक्ष पदमपाणी सुवदीले भरतपुर महानगर, वडा नं ५ को वडा कार्यालय, रोटरी क्लब अफ चितवन, न्यू आनन्द टोल विकास संस्थाले संयुक्त रुपमा आनन्दमार्गमा वृक्षरोपण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरको अभियान आनन्दमार्गबाट सुरु भएको छ, यो अभियान विस्तारै अन्य वडाहरुमा सरुवा हुँदै जान्छ ।’ उहाँका अनुसार वडा नं ५ को आनन्दपुर चौतारीदेखि ४ नं वडाको सिमानासम्म एक किलोमिटरमा आँप, लिची, अम्बा, कटहर, सितलचिनीलगायत १५० भन्दा बढी फलफूलका बिरुवाहरु रोपिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरको यस वर्षको नमुना सडक बनाउने नीति तथा कार्यक्रमअन्तर्गत वृक्षरोपण कार्यक्रम सुरु भएको बताउनुभयो । उहाँका अनुसार वृक्षरोपणपछि मोज्याक टायलदेखि साइकल लेनसम्म निर्माणका कार्यक्रम चरणबद्ध रुपमा सुरु हुने छन् । 

वृक्षरोपण कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, वडा नं ५ का प्रतिनिधिहरु, टोलसुधार समितिका प्रतिनिधि, रोटरी क्लबका प्रतिनिधि, हरियाली अभियानका अभियन्ता, आमा समूहलगायतका उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस