स्कुल विभागको विवाद मिलाउन प्रचण्डको सक्रियता

आइतबार ओलीसँगै साँझ–बिहान दुईपटक छलफल, माधव नेपालसँग पनि छुट्टै छलफल, सचिवालय बैठक आज बस्दै

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, ०७ : १८
स्कुल विभागको विवाद मिलाउन प्रचण्डको सक्रियता

काठमाडौं । पार्टी स्कुल विभागको विवाद मिल्ने भन्दा झन् बल्झिदै जान थालेपछि अध्यक्ष प्रचण्डले सहमतिका लागि दौडधुप तिव्र बनाएका छन् । आइतबार बोलाईएको सचिवालय बैठक स्थगित भएपछि अध्यक्ष प्रचण्डले सहमतिका लागि सक्रियता बढाएका हुन् ।

सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाईएको छ । स्कुल विभागको नेतृत्वका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य इश्वर पोखरेलले दाबी छोडेका छैनन । पोखरेल सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत छन् । पार्टीका ३२ केन्द्रीय विभागमध्ये महत्वपूर्ण विभाग तत्कालिन एमालेले लिएका कारण स्कुल विभाग आफुहरुले पाउनुपर्ने माग पूर्व माओवादी समुहको छ ।

तर, पूर्व एमालेका पनि ओली पक्षले भने स्कुल विभागमा दाबी छोडेको छैन । शनिवार दुई अध्यक्षका बीचमा भएको छलफलमा समेत विवाद मिलाउने भन्दा पनि आ–आफ्नै अडानका मत राखेपछि सिधै सचिवालय बैठकमै छलफलमा लगेर टुंग्याउने समझदारी बनेको थियो । तर आइतबार बिहान दुई अध्यक्षको छलफलमा प्रधानमन्त्री समेत रहेका ओलीले सचिवालय बैठकमा आफु र आफेनो पक्ष च्यापिने देखेपछि उनले अस्वस्थताको कारण देखाउँदै सोमबारका लागि बैठक बोलाऔं भन्ने प्रस्ताव गरे ।

प्रधानमन्त्रीले नै आफु अस्वस्थ्थ भएको बताएपछि बैठक सोमबार सार्न अध्यक्ष प्रचण्ड सहमत भएका थिए । त्यसपछि पनि अध्यक्ष प्रचण्डले सहमतिका लागि दौडधुप तिव्र बनाएका थिए । उनले वालुवाटारमा प्रधानमन्त्रीसँग छलफलबाट बाहिरिएपछि पार्टीका वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका थिए । वानेश्वरस्थित अर्याल होटेलमा उनले नेपालसँग स्कुल विभागको नेतृत्व विवादबारे सहमति कसरी खोज्ने भन्नेमा केन्द्रीत रहेर छलफल गरेको स्रोतले बतायो ।

पार्टी एकताको मर्म अनुसार पनि विभागिय जिम्मेवारीमा माओवादी पक्षले स्कुल विभागको दावी गर्नु स्वभाविक छ । विदेश, संगठन लगायतका महत्वपूर्ण विभाग तत्कालिन एमाले पक्षका नेताहरुले पाएपछि स्कुलिङ विभागमा पूर्व माओवादी पक्षले दाबी गर्नुलाई अस्वभाविक मानिन्न । तर एमाले भित्रको अनुदारवादी खेमाले पछिल्लो चरण पार्टी एकताको मर्म र स्पिरिटलाई नै तेजोवोध गर्ने ढंगले प्रस्तुत हुन थालेपछि एकता जोगाईराख्नका लागि पनि दुबै पक्षको आत्मस्वाभिमानमा ठेस लगाउन दिनु नहुने तर्क नेकपाभित्र उठिरहेको छ ।

प्रचण्डले सहमति प्रयासका लागि वरिष्ठ नेता नेपालसँग छलफल गरेपछि पूनः साझ प्रधानमन्त्रीसँग अलग्गै भेटघाट गरेका छन् । उनले विवाद मिलाउनका लागि अब विलम्व गर्नु नहुने भन्दै सोमबारको सचिवालय बैठकवाट निर्णयमा पुग्नुपर्नेमा ओलीसँग जोड गरेको स्रोत बताउँछ ।

तीन विकल्पमा छलफल
सचिवालयका ९ मध्ये ६ नेताहरु इश्वर पोखरेलको विपक्षमा देखिएका छन् । जसकाकारण पनि उनी ओली, विष्णु पौडेल र स्वयं आफने मात्र साथमा स्कुल विभागको दाबीमा अडिएपनि जिम्मेवारी पाउने सम्भावनाबाट बाहिरिसकेका छन् ।

आफुले जिम्मेवारी नपाउने देखेपछि अहिले उनले सवै विभागिय जिम्मेवारी सचिवालय भन्दा तलबाट दिनुपर्ने प्रस्ताव गर्न थालेका छन् । आफुले नपाउने हो भने अब विभागिय जिम्मेवारी सचिवालय भन्दा तलवाट दिनुपर्ने प्रस्ताव पोखरेलले ओलीसमक्ष राखेको स्रोत बताउँछ ।

सचिवालयमा बहुमतका आधारमा श्रेष्ठ र पोखरेलकै बीचमा निर्णय लिनु परेको खण्डमा प्रवक्ता श्रेष्ठले स्कुल विभागको जिम्मा पाउने सम्भावना छ । पार्टी सचिवालयका ९ मध्ये ६ नेता श्रेष्ठको पक्षमा देखिएका छन् ।

श्रेष्ठलाई अझै ओली पक्षका नेताहरुले स्कुलको जिम्मा दिन अस्वीकार गरेमा वरिष्ठ नेता झलनाथ खनालको दोश्रो विकल्प आउने सम्भावना छ । खनाललाई सर्वसहमतिका आधारमा जिम्मेवारी दिन पनि ओली पक्ष तयार नभएको खण्डमा अध्यक्षद्धयले नै यो विभागको जिम्मेवारी पाउने सम्भावना छ ।

आजको सचिवालय बैठकबाट भने यो निर्णयको टुंगो जसरी पनि लगाइने नेकपा नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस