पार्टी नेता–कार्यकर्तालाई विप्लवको ‘गोप्य’  परिपत्र

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, ०९ : ३८
पार्टी नेता–कार्यकर्तालाई विप्लवको ‘गोप्य’  परिपत्र

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तेश्रो चरणको संगठन विस्तार अभियान शुरु गर्न लागेको छ । देशब्यापी रुपमा आफ्ना पार्टी नेता कार्यकर्ताको पक्राउ, धरपकड र हत्यामा समेत सरकार लागिपरेको भन्दै योजनावद्ध प्रतिरक्षाको नीति अन्र्तगत पार्टी गतिविधि विस्तार गर्न उक्त पार्टीका महासचिव विप्लवले पार्टी पङक्तिलाई आन्तरिक सर्कुलर गरेका छन् ।

‘दीर्घकालीन भौतिक कारबाही सञ्चालन गर्ने पार्टी केन्द्रिय नीति तय भएकोले साउन १५ गतेदेखि असोज महिनासम्म तेस्रो चरणको संगठन विस्तार अभियान सम्पूर्ण पार्टी सदस्यले सुरक्षित ढंगले सञ्चालन गर्नु’  विप्लवको गोप्य सर्कुलरमा उल्लेख छ ।

विप्लवले यस्तो परिपत्र साउन ९ मा जारी गरेका हुन् । सबै जिल्ला कमिटी इन्चार्ज, भातृ संगठन इन्चार्ज, विद्यार्थी संगठन इन्चार्ज लगायत पार्टीका सबै संगठनलाई विशेष सर्कुलर पठाउँदै उनले साउन १५ गतेदेखि असोज महिनासम्म तेस्रो चरणको संगठन विस्तार अभियान सुरक्षित ढंगले सञ्चालन गर्न समेत निर्देशन गरेका छन् ।

विप्लवले पार्टी पङक्तिमा जारी गरेको परिपत्रमा पार्टीको नीतिबारे स्पष्ट पार्दै भनिएको छ, –‘संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीले दीर्घकालीन भौतिक कारबाही सञ्चालन गर्ने केन्द्रिय नीति भए अनुसार सम्पूर्ण पार्टी सदस्य सुरक्षित रहनुपर्ने ।’

त्यसो त विप्लवको उक्त परिपत्रको सूचना सुरक्षा निकायसम्म पनि पुगिसकेको स्रोतको दाबी छ । पार्टी कमिटीले आफ्नो असरदार निशानाहरू छनौट गर्नुपर्ने, चन्दा संकलन अभियान निरन्तर सञ्चालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

विप्लवको पार्टीले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा अन्र्तगत पार्टी गतिविधि गरिरहेको छ । सहर र गाउ दुवैलाई जोडने र विद्रोहमार्फत राज्यसत्तामाथी धावा बोल्ने नीति एकीकृत जनक्रान्तिको देखिन्छ । तर विप्लवको पार्टी गतिविधि छापामार युद्धकै शैलीको भएको भन्दै पार्टीमा वहस समेत हुदै आएको थियो । तर विप्लवको पछिल्लो गोप्य सर्कुलरमा पार्टीलाई छापामार शैलीमा ढाल्ने तयारीबारे समेत परिपत्रमा उल्लेख भएको छ । ‘पार्टी क्रमिक रुपमा छापामार शैलीको फौजी स्वरुपमा परिवर्तन हुनेछ,’ परिपत्रमा छ ।

भारतीय माओवादीसँग सम्बन्ध
विप्लवको पार्टीले भारतीय माओवादीसँग पनि सम्र्पक बढाएको सूचना सुरक्षा स्रोतले पाएको छ । सुरक्षा स्रोतका अनुसार, भारतीय माओवादीका कतिपय नेताहरुसँग पछिल्ला दिनमा विप्लवका पार्टीका नेता कार्यकर्ताले भेटघाट समेत गरिसकेका छन् ।

खासगरी, पश्चिम कमाण्ड इन्चार्ज समेत रहेका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’, मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरगञ्ज’, सैन्य फाँटका उदयबहादुर चलाउने ‘दिपक’ सहित अन्य केही नेताहरुले भारतीय माओवादीका नेताहरुसँग भेटघाट गरेको सूचना सुरक्षा स्रोतसँग छ ।

उनीहरुले हरियााणमा भाकपा माओवादीका नेताहरुसँग भेटघाट गरेको अनुमान सुरक्षा स्रोतले गरेको छ । सरकारले वार्ताका नाममा आफुहरुमाथी दमनको नीति अनुसरण गर्न खोजेको भन्दै उसले आफना नेता कार्यकर्तालाई परिपत्रमार्फत सर्तक रहन निर्देशन गरेको हो ।

केही दिनअघि सरकार र विप्लवका पार्टी नेताहरुबीच वार्ताको वातावरण निर्माणका लागि अनौपचारिक छलफल भईरहेको समाचार आईरहेका थिए । त्यही क्रममा उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका नेता माइला लामा पक्राउ परेपछि भने विप्लवका पार्टी नेताहरु सशंकित बनेका छन् ।

लामाको पक्राउको विरोधमा उनीहरुले १५ साउनमा वाग्मति, नारायणी र जनकपुरका केही जिल्ला बन्दको घोषणा समेत गरेका छन् । प्रवक्ता खड्कबहादुर विश्वकर्माले शनिवार वक्तब्य जारी गदै बन्द सहितको संर्घषका कार्यक्रम घोषणा गरेका थिए । लामालाई गत शनिवार पेप्सिकोलावाट प्रहरीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस