पूर्व पञ्चहरुको पार्टीमा फेरि एकता !

दुई अध्यक्षका बीचमा एकताका लागि तीन पटक अनौपचारिक छलफल

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, ०८ : ३८
पूर्व पञ्चहरुको पार्टीमा फेरि एकता !

काठमाडौं । पूर्व पञ्चहरुको पूरानो पार्टी राप्रपा कति पटक फुटे, कतिपटक मिले हिसाब किताबै छैन । मन लाग्दा फुट्ने र जुट्ने गर्दै आएको राप्रपामा फेरि एकपटक एकताको बहस शुरु भएको छ । नेकपा र काग्रेसको दुई धुव्रिय राजनीतिमा मुलुक अगाडी जान थालेपछि अस्तित्व संकटमा रहेको राप्रपाले पनि आफ्नो समुह सानै भएपनि एकीकृत गर्न खोजेको हो ।

अहिले राप्रपाका दुईओटा धारले एकताको प्रयास गरेका हुन् । दुवैले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने संस्थागत निर्णय गरेर पुनः पार्टी एकीकरणको प्रयास अगाडी बढाएका हुन् ।

राप्रपा (संयुक्त) को ५ र ६ साउनमा बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले विचार र सिद्धान्त मिल्ने पार्टी र व्यक्तिसँग एकताको पहल गर्न अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको थियो ।

उता राप्रपाको गत ६–८ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहलका लागि अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको थियो । सैद्धान्तिक रुपले दुवै पार्टीले केन्द्रीय समितिबाट एक्ताको निर्णय गरेका कारण पनि यी दुई पार्टी एकताको प्रयासमा जुटेका हुन् ।

हुन त यी दुई पार्टीमा विचार, राजनीतिमा कुनै फरक छैन । दुवैको राजनीति पूरातन राजनीति हो । पूर्वपञ्चहरुको यो पार्टी नेतृत्व टकरवाकै कारण विगतमा जुटफुट हुदै आएको थियो । तर अहिले नेतृत्वका लागि आ–आफनो मात्रै डम्फु बजाउन थालेपछि असाध्यै कमजोर भएर जान थालेपछि एकताको महसुस गरेका हुन् । उनीहरुले आगामी दुई महिनाभित्रै एकतालाई निष्र्कषमा पु¥याउने बताईरहेका छन् ।  

‘पार्टी एकता गर्ने विषयमा दुई पार्टीका अध्यक्षबीच अनौपचारिक कुराकानी पटक–पटक भएको छ । पार्टी मिल्ने कुरामा दुई मत छैन । दशैँ अगाडि नै दुई राप्रपा एक हुन्छन्, ’ राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले सफलखबरसँग भने, –‘ एकताका लागि आन्तरिक पहल व्यापक रूपमा अगाडि बढिरहेको छ ।’

दुवै पार्टीले नेतृत्वलाई एकताका लागि पहलकदमी लिन जिम्मेवारी दिएका छन् । तामाङका अनुसार, एकताका लागि दुवैं पार्टीका अध्यक्षहरूबीच कम्तीमा तीनपटक कुराकानी भईसकेको छ ।

हुन त राजनीतिमा यो पार्टीले एकता भएपनि तत्कालै दुरगामी प्रभाव पार्ने वा बलियो अर्थ राख्ने छैन । बढ्दो कम्युनिष्ट र काग्रेसको राजनीतिका बीचमा पूर्वपञ्चको यो पार्टीले खास अर्थ राख्दैन पनि । तर पनि उसको रणनीति कस्तो हुन्छ ? एकतापछि नै देखिने छ । एकताका लागि पार्टी नेता देखि कार्यकर्तासम्मको प्रेसर नेतृत्वलाई तिव्र छ ।

प्रतिक्रिया दिनुहोस