अझै जुटेन स्कुल विभागमा समझदारी, सचिवालय बैठक आज

इश्वर पोखरेल रिङबाटै ‘आउट’ ! नारायणकाजी, झलनाथ या दुई अध्यक्षबाटै नेतृत्व पाउने विकल्पमा छलफल

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, ०७ : १७
अझै जुटेन स्कुल विभागमा समझदारी, सचिवालय बैठक आज

काठमाडौं । सत्तारुढ दल नेकपाको स्कुल विभागको नेतृत्वको रस्साकस्सी अझै टुंगिएको छैन । स्कुल विभागको नेतृत्व नटुंग्गिदा पार्टीले अन्य विभागको जिम्मेवारी पनि तोक्न सकेको छैन । दुई अध्यक्षका बीचमा भएका अनौपचारिक छलफलका क्रममा अझै सहमति जुटेको छैन ।

नेताहरु बीच सहमति नजुटेपनि सचिवालय बैठकबाटै निर्णयमा पुग्ने तयारी शीर्ष नेताहरुले गरेका छन् । सहमति नजुटेपनि नेकपाले आज पार्टी सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘सचिवालय बैठक आज बस्दैछौं, सबै कार्यविभाजन टुंग्गो लगाउँछौं, अहिलेलाई यति भनौं,’ महासचिव पौडेलले भने ।

नेकपाले पार्टी स्कुल विभागमा नेताहरुको रस्साकस्सी समाधान गर्न नसकेपछि सचिवालय बैठक नै दुई दुई पटक स्थगित हुँदै आएको थियो । ‘स्कुल विभागको नेतृत्वका लागि छलफल अझै जारी छ, बैठकमै नेताहरुले छलफल गरेर कार्यविभाजनका सबै प्रक्रियाको टुंग्गो आजै लगाउनुहुन्छ,’ महासचिव पौडेलले भने ।

नेकपाको केन्द्रमा ३२ ओटा केन्द्रीय विभाग र एउटा प्रतिष्ठान रहने छ । स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य इश्वर पोखरेलले दाबी गदै आएका छन् । त्यस्तै, स्थायी समितिबाट घनश्याम भुषाल र डा वेदुराम भुषालले पनि विभागको नेतृत्वका लागि आकांक्षी छन् । तत्कालिन एमाले तर्फका ओली पक्षले पोखरेल र तत्कालिन माओवादी पक्ष र तत्कालिन एमाले पक्षका माधव नेपाल पक्षका नेताहरुले श्रेष्ठलाई स्कुल विभागको जिम्मा दिनुपर्ने मत राखिरहेका छन् ।

इश्वर आउट ! अन्य तिन विकल्पमा छलफल
आइतबार बिहान सम्मको छलफलका आधारमा भन्ने हो भने विभागको नेतृत्वको रिङबाट उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेता इश्वर पोखरेल भने आउट भएका छन् । अब उनको सम्भावना अत्यन्त न्यून देखिएको छ ।

‘एक प्रकारले भन्ने हो भने पोखरेल अब प्रतिस्पर्धाबाटै बाहिर जस्तो देखिइसक्नुभएको छ । अब उहाँको सम्भावना छैन,’ सचिवालयका एक सदस्यले सफल खबरसँग भने, ‘अब पोखरेलको नाममा छलफल करिब समाप्तै भएको छ ।’

ति नेताका अनुसार, अब शीर्ष नेताहरुको छलफलका क्रममा तिन ओटा विकल्प अगाडी आएको छ । पहिलो विकल्प प्रवक्ता श्रेष्ठलाई स्कुल विभागको जिम्मा दिने । दोश्रोमा झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानबाट स्कुल विभागको नेतृत्वमा ल्याउने र तेश्रो विकल्पका रुपमा अध्यक्षद्धय केपी ओली र प्रचण्ड आफैले संयुक्त रुपमा नेतृत्व लिने गरी स्कुल विभागको जिम्मेवारी आफैमा राख्ने ।

सचिवालय बैठक अगाडी दुई अध्यक्षका बीचमा निर्णायक छलफल एकपटक हुन सक्ने ति नेताले बताए । ‘सकभर अब प्रवक्ता श्रेष्ठको नाममा सहमतिको पहिलो प्रयास हुनेछ, त्यसमा ओली सहमत नदेखिए झलनाथ खनाललाई दिने प्रस्ताव आउने देखिन्छ, झलनाथजीकोमा पनि ओली सहमत नदेखिए मात्र तेश्रो विकल्पका रुपमा दुबै अध्यक्षले लिने गरी तेश्रो विकल्पमा छलफल हुन सक्छ,’ ति नेताले भने ।

नेकपामा स्कुल विवादमा विवाद देखिएपनि अन्य विभागहरुको नेतृत्वमा भने खास समस्या देखिएको छैन । संगठन विभागमा बामदेव गौतम, विदेश मामिलामा माधव नेपाललाई जिम्मा दिने तयारी नेकपाको छ ।

३२ विभाग र एउटा प्रतिष्ठानमध्ये स्कुलिङ विभाग बाहेक १८ विभागको नेतृत्व तत्कालिन एमाले र १४ विभागको नेतृत्व तत्कालिन माओवादी तर्फका नेताले जिम्मेवारी लिने गरी भागबन्डाको सहमति छ ।

प्रतिक्रिया दिनुहोस