‘चारतारे र लालतारे’ कुरा गरेर समय बर्बादी नगरौँ : मन्त्री बाँस्कोटा

सफल खबर संवाददाता

शनिबार, ११ साउन २०७६, १७ : ५६
‘चारतारे र लालतारे’ कुरा गरेर समय बर्बादी नगरौँ : मन्त्री बाँस्कोटा

काठमाडौं । नेपाल टेलिभिजनको गत आव २०७५र०७५ को समीक्षा र चालू आवको कार्ययोजनाबारे आज भएको समीक्षामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिभिजन देशको सम्मानित र जनताले अत्यधिक रुचाएको संस्था भएकाले जनताको भावनालाई केन्द्रित गरेर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

उनले भने, “टेलिभिजन व्यक्ति र दलभन्दा माथि राष्ट्रको माध्यम बन्नुपर्छ, ‘चारतारे र लालतारे’ कुरा गरेर समय बर्बादी नगरौँ, संस्थाको काम छोडेर चियामा गफिनुभन्दा सिर्जनशील भएर संस्थाको हितमा समर्पित बनौँ, अब कडा अनुगमन गरिन्छ । लक्ष्य प्राप्ति मात्रै टेलिभिजनको दीर्घ जीवन हो ।”

संस्थामा अनुशासन, कर्तव्य र जिम्मेवारी सिङ्गो संस्थाको सफलतासँग जोडिएको विषय हो भन्दै मन्त्री बाँस्कोटाले देश र जनताको भावनासँग जोडिएको टेलिभिजनको व्यावसायिकतालाई केन्द्रमा राखेर जिम्मेवारीपूवर्क अघि बढ्न आग्रह गरे । 

“आज परिस्थिति अर्कै छ । प्रतिस्पर्धी बजारको चुनौतीलाई चिर्न सबैको सहकार्य जरुरी छ । टेलिभिजनको सङ्ख्या र प्रकृति बढ्दो छ । हजारौँको भीडमा नेपाल टेलिभिजन पृथक छ, र पृथक राखिरहनुपर्छ यसले सिङ्गै देश बोक्छ । कुनै वर्ग, कुनै जाति, भाषा वा कुनै दल, विचार, दर्शन र मान्यता मात्रै बोक्दैन यसले त हिमाल, पहाड र तराई तथा समग्र देशको चित्रलाई प्रतिनिधित्व गर्छ,” सञ्चारमन्त्री बाँस्कोटाले भने ।

उनले टेलिभिजनले प्रविधिमा रुपान्तरण, विषयवस्तु र प्रस्तुतीमा फरक शैली अपनाएर बढीभन्दा बढी जनताको पहुँचमा जानसक्नुनै सफलताको कडी भएको बताए । नीतिगत सुधारका काम पनि अघि बढाइएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रशारणको रुपमा अघि बढाउन कानून निर्माणको चरणमा रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको सेवालाई समय सापेक्ष प्रविधिमैत्री र विषयवस्तुको गुणस्तर अभिवृद्धि गर्ने गरी काम थालिएको उल्लेख गरे । टेलिभिजनको जनशक्ति र स्रोत साधनको भरपूर उपयोग गरी प्रतिस्पर्धी बजारमा आफ्नो संस्थालाई अब्बल बनाउने योजना सुनाए । 

टेलिभिजनको गत आवको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्दै टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले आव २०७५र०७६ मा ‘नेपाल टेलिभिजनको रुपान्तरणको वर्ष’ को रुपमा घोषणा गरी काम अघि बढाएकोमा प्रविधि विस्तार भएको उल्लेख गरे । उनले नेपाल टेलिभिजनका चारवटै च्यानललाई हाई डेफिनेसन ९एचडी० प्रविधिमा रुपान्तरण गरिनु अघिल्लो वर्षको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । 

आम्दानी बढाउने र खर्च घटाउने रणनीतिक कार्ययोजनाका साथ काम अघि बढाइएको जानकारी दिँदै महाप्रबन्धक रोकाले यो वर्ष ‘विषयवस्तुमा सुधार र पहुँचमा विस्तार’ भन्ने नाराका साथ काम अघि बढाइने उल्लेख गरे ।

नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य टङ्क पन्तले टेलिभिजनको जनशक्तिलाई प्रतिस्पर्धी बजारमा प्रविधि र विषयवस्तुको सुधार गरी खरो रुपमा प्रस्तुत गरिनुपर्ने खाँचो औँंल्याए । 

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन शाखाका अध्यक्ष निराजन खनाल, टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल र टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले संस्थागत सुदृढीकरणसँगै कर्मचारीको वृत्तिविकाससँग जोडिएका कामलाई प्रभावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनमा गत आवमा उत्कृष्ट काम गर्ने विभिन जिल्लाका नौ जना जिल्ला समाचारदातालाई नगद रु १० हजार र प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो । टेलिभिजनमा ३० वर्ष सेवा गर्ने कर्मचारीलाई स्वर्ण पदक र २० वर्ष सेवा गर्ने विभिन्न कर्मचारीलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । तीसबै पुरस्कार सञ्चारमन्त्री बाँस्कोटाले वितरण गरेका थिए  । सोही अवसरमा टेलिभिजनको समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड र टेलिभिजनको आगामी कार्ययोजनासम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

विसं २०४१ माघमा परियोजनाका रुपमा स्थापना भएको नेपाल टेलिभिजनले विसं २०४२ पुस १४ गतेदेखि औपचारिक प्रसारण शुरु गरेको थियो । हाल १९ वटा भूसतही प्रसारण केन्द्रमार्फत ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार गरेको छ । भूउपग्रहमार्फत विश्वका १४६ भन्दा बढी देशमा नेपाल टेलिभिजनका चारवटै प्रसारण हेर्न सकिन्छ । नेपाल टेलिभिजनमा सबै सेवाका गरी करीब ४०० कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस