कञ्चनपुर । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार वर्षदिन पुग्यो । एक वर्षसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लगाउन विभिन्न किसिमले अनुसन्धान चलिरहेको सरकारले दाबी गरिरहेकै छ । कसुरदार प्रस्ट नभइसक्दा घटनासँग जोडिएर अदालतमा झन्डै आधा दर्जन मुद्दा परिसकेका छन् । कतिपयले यसलाई घटना अन्तै मोडिन लागेको हो कि भन्ने शंका पनि गरेका छन् ।
अहिले जिल्ला अदालत कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुखसहितका नाममा सार्वजनिक न्यायविरुद्ध र यातना कसुरमा दुइटा मुद्दा विचाराधीन छन् । निर्मलाकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा जाहेरी दिएकी हुन् । उनकै जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दायर गरेको हो ।
प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेर कञ्चनपुरको भीमदत्त–१९ बाग्फाँटाका दिलीप विष्टलाई यातना दिएको थियो । दिलीपका दाजु खड्कले यातना कसुरमा तत्कालीन एसपी विष्टसहित ४ जनाविरुद्ध जाहेरी दिएपछि त्यो मुद्दा पनि अदालतमा छ । आरोपी सबै प्रहरी धरौटीमा छुटिसकेका छन् ।
यससँगै एसपी डिल्ली विष्टका छोरा किरणले पनि पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा गालीरबेइज्जतीसम्बन्धी मुद्दा दिएका छन् । उक्त मुद्दालाई सार्वजनिक न्यायविरुद्धकै मुद्दासँग लगत कायम गरिएको छ । अधिवक्ता विनोद भट्टले पनि पत्रकार भण्डारीविरुद्ध नै प्रतिष्ठाविरुद्धको कसुरमा अदालतमा मुद्दा दिएका छन् । उक्त मुद्दालाई पनि सार्वजनिक न्यायविरुद्धको मुद्दा साथै राखी कार्यान्वयन गर्ने आदेश भएको छ ।
यातना र प्रमाण नष्टको मुद्दामा अदालतले मागेको एमिकस क्युरीको विषयमा अदालतको मानहानि हुने गरी समाचार र फेसबुक पोस्टमा लेखेको ठहर गर्दै अदालतले पत्रकार भण्डारीलाई क्षमायाचना वा १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । यो घटना पनि अप्रत्यक्ष रूपमा निर्मलासँगै जोडिएको छ ।
‘मुख्य कुरा अपराधी पत्ता लगाउने हो, सबैले चाहेको पनि त्यही हो,’ नागरिक समाजका पूर्वअध्यक्ष तथा निर्मलाका हत्यारा पत्ता लगाउन गठित नागरिक संघर्ष समितिका सदस्य नरबहादुर साउदले भने, ‘तर अहिले त मुख्य कुरा ओझेलमा पर्ने गरी व्यक्तिगत चाहनाका आधारमा धमाधम मुद्दा पर्न थाले ।’ यसले अपराधी पत्ता लगाउनैपर्ने मूल विषय ओझेलमा पर्न सक्ने उनले बताए ।
पछिल्लो समय निर्मला प्रकरणलाई जोडेर व्यक्तिगत चाहनाका आधारमा समेत मुद्दा पर्न थालेको उनको बुझाइ छ । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनका आधारमा अनुसन्धान अझै पनि हुन नसकेको साउद बताउँछन् । ‘प्रतिवेदन कार्यान्वयन हुने हो भने अपराधी तत्काल पत्ता लाग्छ,’ उनले भने, ‘विभिन्न पक्षबाट घटनालाई अन्तै मोडन खोजिएजस्तो भएको छ ।’
निर्मलाकी आमा दुर्गादेवीलाई पनि अहिले अदालतमा एकपछि अर्को गरी धमाधम मुद्दा परिरहेका घटना अन्तै मोडिन लागेको जस्तो लागेको छ । ‘हामीले त सुरुदेखि नै हत्यारा पत्ता लगाएर न्याय चाहियो भनेका छौं । अहिले पनि त्यही भनिरहेका छौं,’ उनी भन्छिन्, ‘अहिले अपराधी पत्ता लाग्ने कुरा एकातिर छ तर एकपछि अर्कोगरी मुद्दा परिरहेका छन् ।’ उनले प्रमाण नष्टको आरोपमा ८ जना प्रहरीविरुद्ध जाहेरी दिएपछि पनि अदालतमा आफ्नो मनसाय प्रहरीलाई कारबाही गराउनेभन्दा पनि अपराधी पत्ता लागोस् भन्ने नै भएको भन्दै इजलासमै लिखित पत्र बुझाएकी थिइन् ।
गतवर्षको साउन–भदौमा दोषी पत्ता लगाउन दबाब दिने आन्दोलनमा होमिएका अधिकारकर्मी र निर्मलाका आफन्तजनको गतिविधि भने यतिबेला देखिन छाडेको छ । महेन्द्रनगर बजारको मदन चोकमा शुक्रबार साँझ निर्मलाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । भेला भएकाहरूले निर्मलालाई सम्झँदै मैनबत्ती बाले । स्थानीय हेमराज जोशीले भने, ‘धेरैपटक उनको स्मृतिमा यही चोकमा मोमबत्ती बाल्दै आयौं, अपराधी पत्ता लागे मात्रै उनको आत्माले शान्ति पाउँछ भन्ने हामीलाई लाग्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ११ साउन २०७६, ०७ : २४
लेखकबाट थप