पूर्वप्रधानमन्त्री प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चलाइने

सफल खबर संवाददाता

विहीबार, ०९ साउन २०७६, १४ : १९
पूर्वप्रधानमन्त्री प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चलाइने

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चल्ने भएको छ । 

पूर्वप्रधानमन्त्री प्रचण्डको पहलमा मन्त्रिपरिषदको बैठकले चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याउने निर्णय गरेको हो । वनमन्त्री शक्ति बस्नेतका अनुसार चितवन देशकै मध्ये भागमा रहेको हुनाले दुई वटा प्रदेशलाई हेर्ने गरी चितवनमा पनि चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याइएको हो । चुरे क्षेत्र संरक्षणका कामहरु अब चितवन जिल्लाबाट पनि प्रभावकारी रुपमा सञ्चालन हुने वनमन्त्री बस्नेतको भनाइ छ । 

राष्ट्रपति चुरे संरक्षण समितिका सदस्य सचिव डा प्रेमनारायण कँडेलले देशभरि चुरे तराई मधेस क्षेत्रलाई समेट्ने गरी ७ वटा प्रदेशमा ५ वटा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो ।उहाँले प्रदेश ३ र ४ नम्बरमा पर्ने चुरे क्षेत्रलाई हेर्ने गरी चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइको कार्यालय सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही साउन महिनाभित्रै चितवन जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रपति चुरे संरक्षणका कार्यक्रम चलाइने छ ।’

राष्ट्रपति चुरे संरक्षण समितिले प्रदेश नं १ को मोरङमा, प्रदेश नं २ को जनकपुरमा, प्रदेश ५ को रुपन्देहीमा र प्रदेश ६ र ७ को लागि धनगढीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइको कार्यालय खोलिने छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ३७ जिल्लामा चलिरहेको छ । 

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर चुरे संरक्षणका कार्यक्रमहरु चलाइने राष्ट्रपति चुरे संरक्षण समितिका सदस्य सचिव डा प्रेमनारायण कँडेलले बताउनुभयो । उहाँले विगतमा पनि चुरे क्षेत्र संरक्षणका कार्यक्रम भइरहेको अब झन् प्रभावकारी रुपमा अगाडि बढाइने बताउनुभयो । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ छिटै सञ्चालनमा आउने बताउनुभयो । उहाँले चितवन जिल्लालाई छोएका चुरे क्षेत्रको संरक्षण हुने विश्वास गर्नुभयो । महानगर प्रमुख दाहालले भन्नुभयो, ‘दुई प्रदेशलाई हेर्ने गरी चितवनमा चुरे क्षेत्र संरक्षणको कार्यालय खोल्नु सकारात्मक हो, यसले समग्र चितवनको चुरे क्षेत्रको संरक्षण गर्छ ।’

माडी, लोथरलगायतका क्षेत्रमा चुरे क्षेत्र संरक्षणका कामहरु हुने छ । चुरे क्षेत्र संरक्षणअन्तर्गत पानी र मोटोको संरक्षण, वृक्षरोपण, बाढीपहिरो नियन्त्रण, हरियाली निर्माणलगायतका कार्यक्रमहरु हुने महानगर प्रमुख दाहालले बताउनुभयो ।

कति छ बजेट ?
सरकारले आर्थिक वर्ष २०७६÷७७ को लागि चुरे क्षेत्र संरक्षणमा एक अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा सरकारले चुरे क्षेत्र संरक्षणको लागि १ अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । प्रदेश ३ र ४ लाई हेर्ने गरी चितवनबाट सञ्चालन हुने चुरे क्षेत्र संरक्षण कार्यक्रमलाई ३० करोडको हाराहारीमा बजेट विनियोजन भएको चुरे संरक्षण समितिले जनाएको छ । 

प्रदेश २ मा चुरे क्षेत्र संरक्षणको लागि ३५ करोड रकम विनियोजन भएको छ । प्रदेश ५ मा ३० करोड, प्रदेश ६ र ७ लाई हेर्ने गरी धनगढीमा सञ्चालनमा ल्याइने इकाइलाई पनि ३० करोडकै हाराहारीमा बजेट विनियोजन भएको चुरे संरक्षण समितिले जनाएको छ । गत वर्षको कार्यक्रमबाट चुरे संरक्षणमा ९५ प्रतिशत भौतिक प्रगति भएको संरक्षण समितिले दावी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस