गुल्मी पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो

सफल खबर संवाददाता

विहीबार, ०९ साउन २०७६, १२ : ३३
गुल्मी पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो

गुल्मी । गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार नेपाली सेनाले तीन दिनदेखि वेपत्ता शव फेला पारेपछि मृतकको संख्या बढेको हो । सोमबार वडा नम्वर ३  र ४ मा  गरि ९  जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी मिनबहादुर घलेले  वडा नम्वर ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका ७ बर्षिया तारा बिक र डेढ बर्षीय बालक सञ्जु विक, वडा नं ३ को ठुलोलुम्पेकमा ३४ बर्षिया माया बिक उनका १४ बर्षिय छोरा बबि बिकको शव फेला परेको जानकारी दिए । 

पाल्पाबाट आएको नेपाली सेनाको टोलीले वेपत्ताहरुको खोजी कार्य गरिरहेको थियो । वडा नम्वर ३ लिम्घामा सोमवार पहिरोले घर बगाउँदा मंगलबार सम्म एकै परिबारका  निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई बुधबार परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उपचारका लागि हेलिकप्टर राखेर काठमाण्डौ ल्याएका थिए । 

प्रतिक्रिया दिनुहोस