काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका लागि आधा दर्जन समिति बने । शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइयो । ७३ जनाको डीएनए परीक्षण नै भयो । तर एक वर्षसम्म पनि अभियुक्त पक्राउ नपर्दा प्रहरीको साखमाथि प्रश्न उब्जिएको छ ।
साउन १० मा उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दै छ । यसबीचमा अभियुक्तको खोजी गर्न भन्दै आधा दर्जन समिति बने । शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइयो । ७३ जनाको डीएनए परीक्षण नै भयो ।
तर अभियुक्त पक्राउ नपर्दा यो मुद्दा सरकारकै निम्ति मात्र पेचिलो बनेको छैन, प्रहरीको साखमाथि पनि प्रश्न उठाएको छ । घटनाले प्रहरीको परम्परागत अनुसन्धान प्रणालीमा रहेका कमजोरीलाई मात्रै बाहिर ल्याइदिएन, अनुसन्धानका क्रममा हुने लापरबाही र पीडित परिवारलाई विश्वासमा लिन नसक्दा कसरी अनुसन्धान जटिल बन्दै जान्छ भन्ने तथ्यलाई पनि सतहमा उतारिदियो ।
प्रहरीकै अनुसन्धान अधिकारीहरू घटनापछि उत्पन्न सामाजिक र राजनीतिक दबाबलाई प्रहरीले झेल्न नसकेको र अनुसन्धानका क्रममा गल्तीका शृंखला निर्माण हुँदै गएको स्विकार्छन् । भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा घटनाका मुख्य अभियुक्त भन्दै दिलीपसिंह विष्टलाई सार्वजनिक गरियो । तर मानसिक सन्तुलन कमजोर रहेका विष्टको संलग्नता डीएनए परीक्षणपछि पुष्टि हुन सकेन । र, उनी छुटे ।
निर्दोषलाई प्रहरीले दोषी करार गर्न खोजेको भन्दै यो घटनापछि प्रहरीप्रतिको स्थानीय विश्वास झनै खस्कियो । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार स्थानीयहरू प्रहरीप्रति यतिसम्म सशंकित थिए कि, कसैसँग तथ्य पुष्टि गर्न केही सोध्नै नसकिने परिस्थिति निर्माण भयो । ती अधिकारीले भने, ‘प्रहरी निरन्तर दबाबमा परिरह्यो । जसले अनुसन्धानलाई झनै प्रभावित पार्यो ।’
निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रहरी सुरुदेखि नै चुकिरह्यो । भदौ ७ मा गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनाली नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो, जसले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पन्त प्रकरणको अनुसन्धानमा प्रहरी चुकेका कैयौं तथ्य उजिल्याएको छ ।
उसले गरेका एकपछि अर्को डीएनए परीक्षणबाट पन्त प्रकरणमा प्रहरी कसरी चर्को दबाबमा परेको थियो भन्ने बुझ्न सकिन्छ । घटनामा व्यक्तिको संलग्नताका आधार पहिल्याउने, घटनासँग उसको सम्बन्ध, घटना भएको दिन, लगत्तैका उसका गतिविधि र त्यसबाट प्राप्त निष्कर्ष नकेलाई चर्को दबाबबीच प्रहरीले निर्मला पन्त प्रकरणको अनुसन्धान अघि बढाएको थियो । तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजा आयुष विष्टको डीएनए टेस्ट प्रहरीले चर्को बाध्यताका बीच गरेको देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ साउन २०७६, ०८ : ०३
लेखकबाट थप