थालेसिमियाका बिरामीको उपचारमा सहयोग

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, १७ : ५२
थालेसिमियाका बिरामीको उपचारमा सहयोग

चितवन । भरतपुर अस्पतालमा उपचार गराइरहेका थालेसिमियाका बिरामीहरुको उपचारको लागि सहयोग प्राप्त भएको छ । 
चितवन सहायता कोष बेल्जियमले थालेसिमियाका बिरामीको उपचारको लागि ९० हजार रुपैयाँ सहयोग गरेको हो । चितवन बेल्जियम समाजले आज एक कार्यक्रमको आयोजना गरी सहयोग रकम भरतपुर अस्पतालको खातामा जम्मा हुने गरी रकम हस्तान्तरण गरेको छ । 

चितवन सहायता कोष बेल्जियमका अध्यक्ष भुवन सुवेदीले बेल्जियममा बसेका चितवनवासीको कमाइको केही प्रतिशत संकलन गरेको रकम नै थालेसिमियाका बिरामीको उपचारको लागि उपलव्ध गराइएको बताउनुभयो । उहाँले थालेसिमियाका बिरामीको उपचारको लागि छ महिनामा ९० हजार उपलव्ध गराउँदै आइएको बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, ‘२०६७ सालदेखि नै थालेसिमियाका बिरामीलाई सहयोग गरिँदै आइएको छ ।’ उहाँले २०६७ सालमा ३१ जनालाई उपचार खर्च सहयोग गरिएको र अहिले यो संख्या दोब्बरले बढेको बताउनुभयो । 

रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीले सहयोग रकम थालेसिमियाका बिरामीको उपचारको लागि खर्च हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘६ महिनामा ९० हजार आएको हो, यो त एक महिनालाई पनि पुग्दैन, बाँकी ५ महिना थालेसिमिया बिरामीको उपचार भरतपुर अस्पतालले गर्नुपर्छ ।’ उहाँले थालेसिमियाका बिरामीलाई उपचारमा थप सहज र सहयोग गर्न भरतपुर अस्पताल तयार नै रहेको बताउनुभयो । 

कार्यक्रममा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ युवानिधी बसौलाले भरतपुर अस्पतालमा ७८ जना थालेसिमिया भएका बिरामीको उपचार भइरहेको बताउनुभयो । ४३ पुरुष र ३५ जना महिलाको उपचार भइरहेको उहाँको भनाइ थियो । 
कार्यक्रममा रक्त सञ्चार केन्द्रका रमेशकान्त पौडेलले महिनाको १८० पोका रगत थालेसिमियाका बिरामीलाई रगत उपलव्ध गराइएको बताउनुभयो । कार्यक्रममा थालेसिमिया भएका बालबालिकाका अभिभावक हरिबहादुर महर्जन, सरु चापागाईं, एनआरएनका केन्द्रीय सदस्य सरु चापागाईं, चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेल, सचिव सिर्जना अर्याललगायतले मन्तव्य दिएका थिए । 

कार्यक्रममा चितवन सहायता कोष बेल्जियमका सल्लाहकार भरत अधिकारीकी छोरी माल्भिका अधिकारी र बुबा कृष्ण अधिकारीको जन्मदिनको अवसरमा थालेसिमियाका बिरामीलाई १० हजार सहयोग रकम पनि हस्तान्तरण गरिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस