यसरी बच्न सकिन्छ विषादीयुक्त तरकारीबाट

पत्रपत्रिकाबाट

शनिबार, ०४ साउन २०७६, ०९ : २८
यसरी बच्न सकिन्छ विषादीयुक्त तरकारीबाट

काठमाडौँ । हाम्रो भान्सामा तरकारी फलफूलसँगै विषादी पनि भित्रन्छ भन्ने विषय अब नौलो भएन। विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्नेको भान्सामा तरकारी र फलफूलसँगै विषादी भित्रिने जोखिम बढी देखिन्छ। किनकि सहरमा विशेषगरी व्यावसायिक रुपमा उत्पादन गरिएका तरकारी तथा फलफूल भान्सामा पुग्छन्।

भान्सासम्म सहजै विषादी पुग्ने भएपछि त्यसको असर व्यक्तिको स्वास्थ्यमा पर्छ। विषादीयुक्त खानपानले स्वास्थ्यमा नकारात्मक असर पर्ने भएपछि विषादी खानबाट बच्ने उपाय अपनाउन चिकित्सकको सल्लाह छ।

छान्ने तरिका
विषादीबाट बच्नका लागि बजारमा तरकारी तथा फलफूल किन्दादेखि नै सजग हुनुपर्ने फुड टेक्नोलोजिस्ट डा. जितु उपाध्यायको सुझाव छ। बजारमा तरकारी तथा फलफूल किन्दा टलक्क टल्कने, हेर्दा राम्रा  छान्नु हुँदैन। डा. उपाध्यायले भने, ‘आकर्षक देखिने, चिल्ला, चम्किला र सलक्क परेका तरकारी तथा फलफूलमा विषादीको जोखिम बढी हुन्छ।’ डा. अरुणा उप्रेती पनि डा. उपाध्याएको तर्कमा सहमत देखिन्छिन्।

तरकारीमा कुनै किसिमका छिद्र वा प्वाल नदेखिए त्यस्ता तरकारीमा विषादी प्रयोग भएको हुन सक्छ। त्यसैले घिरौँला, लौका, भान्टा, काँक्राजस्ता तरकारी किन्दा बांगोटिङ्गो भएको छान्नु उपयुक्त हुन्छ।

वास्तविक रंग भन्दा अस्वाभाविक रंग देखिएमा त्यस्ता तरकारी तथा फलफूल भान्सामा नभित्र्याउनु नै ठीक। कीरा भएको तरकारी विषादी प्रयोग नभएको सूचकसमेत हो। तर, तरकारी वा फलफूल भित्रै कीरा मरेको छ भने त्यस्तोमा विषादी प्रयोग भएको हुन सक्छ। त्यो भने ख्याल गर्नुपर्छ।

‘विषादीका कारण क्यान्सरको संवाहक बोकेको डिएनए बुवा–आमाबाट बच्चामा सर्दा बच्चालाई क्यान्सर हुने जोखिम बढी हुन्छ।’

डा. उप्रेती बेमौसमको तरकारी तथा फलफूलमा धेरै विषादीको प्रयोग हुने भएकाले सिजनका तरकारी तथा फलफूल खान सुझाउँछिन्। भान्टा, भिन्डी, पर्बलजस्ता तरकारीमा बढी कीरा लाग्ने भएकाले यस्ता तरकारीमा बढी मात्रामा विषादी प्रयोग हुने विशेषज्ञ बताउँछन्। चिकित्सकका अनुसार पर्बल, करेलाजस्ता  हरियो रंग देखाउन र कुहिनबाट बचाउन निलोटुथोमा डुबाइएको हुन सक्छ। निलोटुथो विष हो। निलोटुथो हालेको छ वा छैन भनेर छुट्याउन तथा फलफूलको तरकारीको भेट्नोको खाल्टो भागमा हेर्नु पर्छ। तरकारीको खाल्टो भागमा असामान्य हरियो देखिएको खण्डमा ‘निलोटुथो’ जमेर बसेको हुन सक्छ।

पकाउनु अघि के गर्ने ?
व्यावसायिक रुपमा खेती गरी उत्पादन गरिएको च्याउमा समेत विषादी प्रयोग हुन्छ। त्यसैले च्याउ बफ्याएर मात्रै पकाएर खान चिकित्सकको सुझाव छ।

वर्षादको सिजनको काउली हल्का पखालेर उमालेर पकाउनु उचित हुन्छ। विषादीबाट बच्नका लागि तरकारी पकाउनुपूर्व धारामा बगेको पानीमा पखाल्नुपर्ने डा. उप्रेतीको सुझाव छ। तातोपानीमा भिजाएर, नुनपानीमा आधा घण्टाजति डुबाएर र अमिलोपानीमा पखाल्दा पनि विषादी कम गर्न सकिने चिकित्सक बताउँछन्।

तरकारी तथा फलफूल दुई दिन मात्रै फ्रिजमा राख्ने हो भने पनि चिसोका कारण विषादीको मात्रा घट्ने डा. उपाध्यायले बताए। सामान्यतः तरकारी तथा फलफूलको बाहिरी भागमा विषादी रहेको हुन्छ। यसरी खानुपूर्व नुन–पानीमा डुबाउँदा नुनमा भएको सोडियमले केही हदसम्म भए पनि तरकारी तथा फलफूलमा भएको विषादी काटिदिने विशेषज्ञको राय छ।

तरकारी राम्रोसँग पकाएर खानुपर्ने भए पनि धेरैबेर गल्नेगरी पकाउँदा भने भिटामिन उडेर जान सक्छ। स्याउलाई चम्किलो देखाउन मैन प्रयोग हुने भएकाले स्याउ ताछेर मात्र खानुपर्ने चिकित्सकको सुझाव छ।

विशेषगरी काँचैे खाने गाँजर, धनियाँ, मूलालगायतमा धेरै सावधानी अपनाउनुपर्छ। चाउमिनमा बन्दा, धनियाँ सलादको रुपमा प्रयोग गर्दा किटाणुको जोखिम हुन्छ। वर्षादको समयमा बन्दामा आँखाले नदेखिने प्रोटोजोवा जुकासमेत हुन्छन्। जुका शरीरभित्रै प्यारासाइटको रुपमा बस्न सक्छन्। जसले स्वास्थ्यमा गम्भीर असर पुग्ने जोखिम हुन्छ। त्यसैले बन्दा, गाजर राम्रोसँग केलाएर तातो पानीमा बफ्याएर खानु उपयुक्त हुन्छ। –शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस