यो वर्षको वर्षा, कतै डुवानको पीडा, कतै रोपाइँ भएकोमा खुशीयाली

पत्रपत्रिकाबाट

शनिबार, ०४ साउन २०७६, ०६ : २०
यो वर्षको वर्षा, कतै डुवानको पीडा, कतै रोपाइँ भएकोमा खुशीयाली

रौतहट । लामो समयसम्मको खडेरी पछि एक्कासि बर्षेको अविरल बर्षाको कारण रौतहटमा कतै पीडा छ त कतै हर्ष पनि छ ।

बर्षाको कारण डुबानमा परेका जिल्लाका दक्षिणी क्षेत्रका अधिकांश स्थानीय तहमा पीडा छ भने पानी कै कारण ‘मानो रोपेर मुरी फलाउन’ पाइयो भन्दै उत्तरी क्षेत्रका स्थानीय वासी हर्षित पनि छन् । अहिले जिल्ला पीडा र हर्षको संगम स्थल बनेको छ । 
बागमती र लालबकैया नदीमा आएको भिषण बाढीको कारण बाँध भत्किएर बाढी प्रवेश गरेका वस्ती एवं अत्यधिक बर्षेको पानीले निकास नपाउँदा जलमग्न भएका वस्ती, दुबै डुबानमा पर्दा हजारौं मानिस विस्थापित छन् ।

खेतबारी जलमग्न भई खेति प्रभावित हुनु, बाढीले खेतबारी कटान गर्नु, पाँगो र बालुवाले खेत भरिनु, बस्ने घर पूर्ण वा आंशिकरुपले क्षति हुनु, नदी तथा नहरको तटीय क्षेत्रमा त्रिपालको भरमा रात बिताउनु, पोषणयुक्त खाना खान नपाउनु, स्वस्थ पानी पिउन नपाउनु, स्थायी बसोबास हुने की नहुने भन्ने समस्याले पिरोलिरहनु जस्ता समस्याले ग्रसित छन् जिल्लाको दक्षिणी भेगका बाढी पीडत नागरिक ।

जिल्ला प्रहरी कार्यालय रौतहटको तत्थ्याङ्क बमोजिम जिल्लाको गढीमाई नगरपालिकामा सबै भन्दा बढी ३८३ घर परिवार पूर्णरुपमा विस्थापित छन् । यसैगरी गौर नगरपालिकामा ३३३, इशनाथ नगरपालिकामा ३१८ र राजपुर नगरपालिकामा ३०५ घरपरिवार पूर्णरुपमा विस्थापित छन् । गाउँपालिका अन्तर्गत सबै भन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २५० घरधुरी पूर्णरुपमा विस्थापित भएको तत्थ्याङ्कमा जनाइएको छ ।

यसैगरी जिल्लाको दुई गाउँपालिका र १६ वटा नगरपालिकामा दुई हजार ६१७ घर पूर्णरुपमा क्षेतिग्रस्त भएको छन् भने छ हजार ९८५ घरमा आंशिक क्षेति पुगेको छ । जसबाट १८ हजार ७५७ जना विस्थापित छन् । जिल्ला प्रहरी प्रवक्ता नविन कार्कीले भन्नुभयो ‘डुबान क्षेत्रको पानी घट्दै जाँदा मृत्यु हुनेको संख्यामा बृद्धि भइरहेको छ । कम पानी देखेर पानी भित्र पस्न जाँदा डुबेर मृत्यु हुने क्रम बढेको छ । अहिलेसम्म पाँच बालबालिका, २ महिला र ७ पुरुष गरी १४ जनाको मृत्यु भइसकेको छ ।’ 
यो भयावह स्थितिमा डुबानग्रस्त क्षेत्रका नागरिक अत्यन्त पीडामा छन् । वर्सेनि बाढीको पीडा भोग्दै आएका ती नागरिकको दीर्घकालीन समाधानको लागि स्थानीय सरकार नै सक्रिय हुनु पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाको ठम्याई छ । विपत व्यवस्थापन जस्तो कार्यक्रममा स्थानीयतह उदासिन रहनुको परिणाम जनताले भोग्नु परेको उहाँको तर्क छ ।

यता जिल्लाको उत्तरी क्षेत्र जहाँ जलमग्न भएपनि त्यसको दुई दिन पछि खेत रोप्न सुरु गरेका किसान भने खुसी देखिन्छन् । तयारी अवस्थामा रहेको धानको बेर्ना रोप्न पानी पर्खिनु भएका चन्द्रपुर नगरपालिका–६ का किसान भागवत चौधरी धान रोप्न पाएकोमा खुसी हुनुहुन्छ । गुजरा नगरपालिका–२ का जयराम महतोले पनि चार बिघा जमिनमा रोपाई सक्नु भएको छ । चन्द्रपुर र गुजरा नगरपालिकामा अहिलेको अविरल बर्षाको पानीको मौका छोपी साता दिन भित्र करिब ४० प्रतिशत रोपाई भएको दुबै नगरपालिकाका कृषि प्राविधिक उमेश चौधरीले बताउनु भयो ।

यस्तै बृन्दावन, गुजरा, परोहा, मौलापुर, बौधिमाइ नगरपालिकामा यसै साता करिब १५ देखि २० प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र रौतहटको प्रारम्भिक तत्थ्याङ्क छ । तत्थ्याङ्क संकलन कार्य भइरहेकोले पूर्ण र तत्थ्य तत्थ्याङ्क आउन केही दिन लाग्ने केन्द्रका प्रमुख रविन्द्र श्रीवास्तव बताउनु हुन्छ । उहाँकाअनुसार जहाँ जहाँ रोपाई भयो त्यस स्थानका किसान हर्षित छन् तर जहाँ डुबान छ, त्यहाँका नागरिक अत्यन्त पीडामा बाँचेका छन् ।

बाढी पीडितलाई जिल्ला प्रशासन कार्यालय, केही गाउँ वा नगरपालिका, स्थानीय संघ संस्था र व्यक्तिगत तर्फबाट त्रिपाल, खाद्यान्न, पानी, चाउचाउ, विस्कुट, नुन, तेललगायतका राहत सामाग्री वितरण भइरहेको प्रजिअ थापाले जानकारी दिनुभयो । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस