Safal Khabar - भारतको नदी जडान योजनाको कारण हाम्रो तराई डुबानमा
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
भारतको नदी जडान योजनाको कारण हाम्रो तराई डुबानमा
आइतबार, २९ असार २०७६, ११ : १७
भारतको नदी जडान योजनाको कारण हाम्रो तराई डुबानमा

 – लेखनाथ न्यौपाने
भारतको जमिन पश्चिमतिर अग्लो र पूर्वतिर होचो छ । जमिनको बनोटका कारण पानी पूर्वतिर बगेको छ । पश्चिम सुख्खा भएकोले सिंचाइको विशेष योजना अन्तर्गत भारतले वृहत् नदी जडान योजनामार्फत् पूरा गर्दैछ । यो योजना पूरा हुनु र नहुनुमा ७० प्रतिशत नेपालको पानीमा निर्भर रहन्छ । यसकारण यो वृहत योजना लागू गर्नुभन्दा अघि नेपालको स्वीकृति लिनुपर्ने बाध्यता छ तर भारतले नेपालसँग स्वीकृति लिन जरूरी ठानेको छैन । नेपालका ठुला नदीहरु, मेची, कोसी, नारायणी, कार्णाली र महाकाली, जो हिमालय पर्वत शृङ्खलाबाट बगेका छन्, तिनको पानी १२,५०० किमि लामो नहरमार्फत् पश्चिम हुँदै दक्षिण पैयाकावेरीसम्म पु¥याउने योजना भारतले अघिल्लो शताब्दीको ८० को दशकबाट सुरू गरेको छ ।
यो योजनाबाट भारतले पहिलो लक्ष्य, ५९८ जिल्लामध्ये १०१ जिल्लाको ३ लाख ४० हजार हेक्टर भूमि सिंचाइ गर्ने राखेको छ । दोस्रो लक्ष्य, ८३ वटा जिल्ला बाढीबाट प्रभावित छन् । बाँध र नहर बनेपछि बाढी नियन्त्रण हुन्छ र यसबाट हजारौ हेक्टर जमिन खेतीयोग्य हुनेछ । तेस्रो, सन् २०५० सम्ममा भारतको जनसंख्या १ अर्ब ६५ करोड पुग्ने अनुमान गरिएको छ । यो जनसंख्यालाई प्रयाप्त खाद्यान्न पु¥याउनका लागि पनि नदी जडान योजना सुरू गरेको हो । चौथो, नदी जडान योजनाले ३४ हजार मेगावाट थप विद्युत् उत्पादन गर्नेछ । पाँचौ लक्ष्य, यस वृहत् योजनाले ३ करोड ७० लाख प्रतिवर्ष नयाँ रोजगारी सिर्जना गर्नेछ ।
हिमालबाट आएका नदीको पानी सिधै दक्षिण लगेपछि नेपालसँग सिमाना जोडिएका प्रदेशहरु मुख्यतः उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गालमा पानी आपूर्ति गर्नको लागि सीमा क्षेत्रमा बाँध बाँध्ने प्रक्रिया पनि भारतले सुरू गरेको छ । जसको कारण वर्षा सिजनमा नेपालको तराई क्षेत्र वर्षेनी डुवानमा पर्दै आएको छ । महाभारत र चुरेबाट निस्केका नदी र खोलाहरुको पानी एवम् वर्षातमा परेको पानीसमेत सीमा क्षेत्रमा ५४ वटा बाँध बाँधेर पानी जम्मा गर्ने र आवश्यकतामा प्रयोग गर्ने उद्देश्य भारतले राखेको छ । यसअन्तर्गत भारतले ११ वटा बाँध निर्माण गरिसकेको छ भने अरु बन्ने प्रक्रियामा छन् जसलाई भारतले सामान्य सडक निर्माण भनेर झुट बताइरहेको छ ।
कैलालीमा कैलाशपुरी बाँध सीमाभन्दा निकै तल भए पनि मोहना र कर्णाली नदी थुनिदा नेपालको भजनी, सती र राजापुर सबै डुब्नेछ । बर्दियाका सबै नदी, खोला र नालाहरुलाई थुन्नेगरी गोफिया बाँध बनाएको छ । बाँकेमा राप्ती लगायत अरु खोलानाला थुन्नेगरी २२ किमि लामो लक्ष्मणपुर बाँध बनाएको छ । दाङमा जलकुन्डी र कोइलाबास गरी दुईवटा बाँध बनाएको छ । कपिलबस्तुमा महिलीसागर बाँध, रुपन्देहीमा १२ किमि लामो रसियावालदेखि खुर्दलोटनसम्म एउटा र अर्को ३ किमि लामो डन्डा–फरेना बाँध बनाएको छ । डन्डा, तिनाउ र दानउ नदीको पानी थुनिँदा रुपन्देहीमा मात्र १० हजार हेक्टरको तलाउ बन्नेछ । नवलपरासीमा ३ किमि लामो बाँध बनेको छ । वर्षेनी गौर बजार डुवानमा पार्ने गरी बागमतीलाई थुनेर बाँध बनाएको छ भने लालवकैया थुन्नको लागि बाँध बनाउने प्रक्रिया सुरू गर्दैछ । त्यसैगरी सिराहामा हर्कटा बाँध र सप्तरी राजविराजमा लुना–कलौनी बाँध बन्दैछ । यो बाँध बनेपछि सिराहमा ११ वटा र सप्तरीमा १२ वटा हिजोका गाविसहरु डुवानमा पर्नेछन् ।
यी सबै बाँधको उचाइ २० देखि ३० मिटरसम्म हुनेछ तर अहिले भारतले ४–५ मिटर उचाई मात्र भनिरहेको छ । यसरी सीमा क्षेत्रमा ३० मिटर अग्ला ५४ वटा बाँध पूर्व पश्चिम बनाउँदा नेपालको तराई वाह्रै महिना पानीको ताल बन्नेछ भने चुरेको फेदी सिमसार बन्नेछ । यस्तो समस्याका कारण भारतको बाँध निर्माण प्रक्रिया हाम्रो भूमि र भबिष्यको खतरा भएकोले बेलैमा यसप्रति सचेत भएर रोक्ने प्रयत्न गर्न जरुरी छ । 

(लेखक नेकपा केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् ।)

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस