बाढीको प्रभाव : चितवनको सबै क्षेत्र ‘हाईअलर्ट’

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १७ : ५७
बाढीको प्रभाव : चितवनको सबै क्षेत्र ‘हाईअलर्ट’

चितवन । लगातार भारी वर्षापछि चितवनको सबै क्षेत्र हाईअलर्टमा राखिएको छ । सम्भावित विपद व्यवस्थापनका लागि सवै संयन्त्र हाईअलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । चितवनमा राप्ती तथा नारायणी नदी तटिय क्षेत्र जोखिममा रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

शुक्रवार दिउँसो नारायणी नदीमा ८ दशमलव ५१८ मिलीलिटर पानी मापन गरिएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । खतराको अवस्थामा नरहे पनि नारायणी तटीय क्षेत्रका स्थानीयलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । 

माडी नारायणगढ सडक अवरुद्ध
बाढीका कारण माडी नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । माडी नगरपालिका ३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीका कारण सवारी आवगमन विहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारी आवगमन ठप्प हुँदा माडीबाट नारायणढ आउने र जाँने सवारी सञ्चालनमा आउन सकेका छैनन् । 

यस्तै रिउ खोलामा ३ दशमलव ०८७ मिलिलिटर पानि मापन गरिएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । जिल्लाका अन्य साना खोलाहरुमा पनि पानिको सतह बढेकाले केहि स्थानमा सवारी आवगमत अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

चितवनको रत्ननगर, राप्ती नगरपालिकाका अधिकांस क्षेत्रमा पाजी जमेको छ । यद्यपी सवारी आवगमन नरोकिएको र त्यस्तो अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । 

राप्ती नदिमा खतराको सुचक पार गरेको जल मापन केन्द्रले जनाएको छ । ३ दशमलव ९७७ मिलिलिटर मापन गरिएको जनाइएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवन सौराहाका अध्यक्ष गोकर्ण गिरीले रत्ननगरमा पर्ने मुख्य पर्यटकीय क्षेत्र सौराहामा आपत्कालीन अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार राप्तीमा बाढी आएर पानीको सतह निकै माथि आएको छ ।

नारायणगढ मुग्लीन सडकखण्डमा अहिले कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । राति खसेको पहिरो हटाएरसञ्चालनमा आएको सो सडकखण्डमा अहिलेसम्म कुनै समस्या नरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिनुभएको छ । पहिरो खस्ने बित्तिकै तत्काल डोजरसहितको प्रहरी टोली पुग्नेगरी तयारी अवस्थामा रहेकाले सानो पहिरोका कारण लामो समयसम्म जाममा पर्नुपर्ने अवस्था नरहेको जानकारी दिएका छन् । 
जिल्लामा जिल्ला विपद व्यवस्थापन समिति र स्थानिय विपद व्यवस्थापन समिति गरी २ वटा समितिमार्फट विपद व्यवस्थापनका पुर्व सतर्कताका विभिन्न काम गरीरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । कहिँ कतै बाढी पहिरोको आपतकालीन स्थिति आइहाले उद्धार, राहतका लागि आवश्यक जनशक्ति, संयन्त्र तयारी अवस्थामा रहेको प्रजिअ बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस