मदिरा पिएर कार्यालय आएपछि पदबाट निलम्बित

विहीबार, २६ असार २०७६, १६ : १०
मदिरा पिएर कार्यालय आएपछि पदबाट निलम्बित

चितवन । पवित्र तीर्थस्थल देवघाटधामस्थित एक कार्यालयमा कार्यरत कर्मचारीले दिउँसै मदिरा सेवन गरेर कार्यालयमा गएपछि उनी पदबाट निलम्बित भएका छन् ।
देवघाट क्षेत्र विकास समितिले कार्यालयका लेखापाल किरणराज पौडेललाई ६ महिनाका लागि निलम्बित गरेको हो । पदीय मर्यादा विपरीतका गतिविधि गरेको पाइएपछि निलम्बन गरिएको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जनाकारी दिए । 
घिमिरेका अनुसार आर्थिक अनियमितता, हस्ताक्षर समेत किर्ते गरेर दुरुपयोग गरेको र पदिय मर्यादाविपरीत मदिरा पिएर कार्यालयमा आउने गरेका थिए । आर्थिक अनियमितताबारे पनि छानबीन भइरहेको घिमिरेले बताए । 
चरम लापरबाही पाइएपछि लेखापाल पौडेललाई निलम्बित गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । लेखापाल पौडेललाई निलम्बन गर्ने कार्यकारी निर्देशकको सिफारिस समितिले अनुमोदन गरेको अध्यक्ष पौडेलले बताए । 
उनका अनुसार लेखापाल पौडेलले गैरजिम्मेवार गतिविधिबारे अहिलेसम्म जवाफ दिएका छैनन् । धेरै कुराहरु नियतवश गरेको पाइएकाले थप छानबीन भइरहेको अध्यक्ष पौडेलले बताए । लेखापाल पौडेल देवघाट क्षेत्र विकास समितिमा २० वर्षदेखि कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस