वडा नम्बर चौध बन्यो भरतपुर महानगरकै पहिलो बालमैत्री वडा

उर्गेन तामाङ

विहीबार, २६ असार २०७६, १३ : १०
वडा नम्बर चौध बन्यो भरतपुर महानगरकै पहिलो बालमैत्री वडा

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर १४ लाई महानगरकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री घोषणाका विभिन्न ४१ वटा सूचकहरु पूरा गरेपछि वडालाई महानगरकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । 
महानगर प्रमुख रेनु दाहालले एक कार्यक्रमबीच वडालाई बालमैत्री वडा घोषणा गरेकी हुन् । भरतपुरलाई नेपालकै पहिलो बालमैत्री महानगर घोषणा गर्ने गरी सबै वडामा तयारी तीब्र पारिएको प्रमुख दाहालले बताइन् । दाहालले वडालाई बालमैत्री घोषणा गर्नुभन्दा यसको कार्यान्वयनमा अझ धेरै मेहनत आवश्यक रहेकाले निरन्तर अनुगमन सहितका अन्य कार्यक्रम गर्न आग्रह गरे । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ३९ र महानगरपालिकाले थप गरेका २ गरी जम्मा ४१ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गर्न सफल भएको वडा अध्यक्ष ओमप्रसाद पोख्रेलले बताए । वडा अध्यक्ष पोखरेलका अनुसार ११ हजार १ सय ३ जना जनसंख्या रहेको वडामा १ हजार ३ सय ४० बालिकासहित ३ हजार ३९ जना बालबालिका रहेका छन् । वडामा बालविवाह र बालश्रमिकको संख्या शुन्य रहेको पोख्रेलले बताए । 

बाल श्रम शुन्य हुनु पर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्म दर्ता हुनु पर्ने, प्रत्येक विद्यालयमा बालबालिकाका लागि अतिरिक्त क्रियाकलाप भएको हुनु पर्ने, छ महिनादेखि एक वर्षभित्रका सबै बालबालिकालाई सम्पूर्ण खोप लगाएको हुनु पर्ने, बालविवाहको क्रम घट्दै गएको हुनु पर्ने, विद्यालय उमेरका बालबालिका विद्यालय गएको हुनु पर्ने लगायतका विभिन्न सूचकहरु पूरा गरेपछि बालमैत्री भएको घोषणा गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस