महासचिव पद खुस्केपछि पार्टी एकता ध्वस्त पार्ने खेलमा पोखरेल

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, १५ : १४
महासचिव पद खुस्केपछि पार्टी एकता ध्वस्त पार्ने खेलमा पोखरेल

काठमाडौं । ओली सरकारमा रक्षामन्त्री रहेका इश्वर पोखरेल विगतमा पार्टीभित्र हालीमुहाली गर्न पाइएको महासचिव पद छाड्नु परेको पिरले रनाहामा परेका छन् । पार्टी एकता भएको चौध महिना भइसक्दा पनि पार्टी एकता ध्वस्त पार्ने असफल खेलमा मन्त्री पोखरेल लागेका छन् ।
सरकारको काम कारवाही तथा पार्टी एकता प्रक्रियामा समेत जालझेल गर्दै आएका केपी शर्मा ओली पछिल्ला दिनमा केही रक्षात्मक जस्तो देखिएपनि उनले जालझेल भने जारी नै राखेको घटनाक्रमहरुले पुस्टि गरेको छ । पछिल्ला दिनमा उनले एकता प्रक्रियामा भाँजो हाल्नका लागि आफ्ना विश्वासपात्र पोखरेललाई अगाडि सारेका छन् । पोखरेलका पछिल्ला गतिविधिले पनि सोही कुराको संकेत गरेको छ । 
पार्टी एकताको क्रममा भएका सहमति तथा सहकार्यका बारेमा नेकपालाई जानकारी नभएको भन्दै पोखरेलले एकता विरोधी प्रतिक्रिया निरन्तर दिइरहेका छन् । उनले हालै मात्र सिन्धुलीमा आयोजित एक कार्यक्रममा समेत तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्व एवम् पार्टी अध्यक्षका बीचमा भएको सहमति तथा सम्झौता मान्नु नपर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् । 
मन्त्री पोखरेलको वरीपरी रहेका केही स्वनामधन्य नेताहरुले समेत निरन्तर एकता विरोधी अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । त्यसमा पूर्वपत्रकार समेत रहेका छन् । पार्टी एकताको नाममा राम्ररी तर मारेका, सधै शक्तिको नजिक रहेर नाम र दाम समेत कमाएका उनीहरु जसरी भएपनि एकता प्रक्रियालाई गिजोल्ने, भताभुङ्ग पार्ने योजनामा लागेको पाइएको छ । 
उनीहरु माओवादी केन्द्र पूर्वएमालेमा मिसिन आएको हो, उनीहरुले गत निर्वाचनमा कम मत पाएका थिए, उनीहरुलाई उचित स्थान दिनु पर्दैन । उनीहरु हाम्रा दास हुन् भने जसरी प्रस्तुत भएका छन् । पूर्व एमाले भित्रका ओली प्रवृत्ति र उनको फेरो समाएर अगाडि बढेका केही स्वार्थी समूहलाई एकता प्रक्रिया फिटिक्कै मन परेको छैन । पूर्वमाओवादी केन्द्रका नेताहरु भाग खोस्न खाए, उनीहरु काम लाग्दा छैनन्, उनीहरु राजनीतिकभन्दा पनि बढी अपराधिक हुन् भने जसरी प्रस्तुत गरिएको छ । 
पोखरेलको मन्त्रालयमा कुनै काम छैन । कर्मचारी सरुवा बढुवा गराएर कुत उठाउने धन्दामा उनी लागेका छन् । गुटको नेता आफू हुने भोक पोखरेलमा छ । ओली गुटमा गतिला नेता नभएको भन्दै पोखरेलले हरेक दिनजसो सिंहदबारको रक्षा मन्त्रालयमा आफ्ना निकटस्थहरुलाई बोलाएर पूर्वमाओवादी त्यसमा पनि विशेष गरी प्रचण्डलाई कसरी सिध्याउन सकिन्छ ? उनका कमी कमजोरीमाथि कसरी प्रहार गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने गरेका छन् । 
पोखरेलको सचिवालयका रहेका एक कार्यकर्ताका अनुसार पोखरेलले माओवादीका नेता तथा कार्यकर्ता, जो हाल नेकपामा छन्, उनीहरुलाई साइजमा ल्याउने उपाय के हुन सक्छ भनेर दैनिकजसो होमवर्क दिने गरेका छन् । त्यस्मा हाल नेकपाका केन्द्रीय ससदस्य समेत रहेका एक नेता, उनका सहयोगी र केही अनलाइन चलाउने पत्रकार समेत सो प्रक्रियामा सहभागी छन् । पोखरेलले ठेक्का पट्टामा पनि उत्तिकै ध्यान दिएका छन् । उनले नेपाल प्रहरीमा विश्वराज पोखरेललाई प्रवक्ता र डिआइजी समेत बनाएका छन् । 
प्रहरी संयन्त्र परिचालन गरेर उठती धन्दा चलाउन पोखरेललाई डिआइजी बनाएको चर्चा रक्षा मन्त्रालय परिसरमा हुने गरेको छ । त्यसो विश्वराज पोखरेल समेत दिनभरी जसो नै रक्षामन्त्री पोखरेलको कार्यकक्ष आसपासमा नै हुने गरेका छन् । प्रहरी भित्रको सूचना जम्मा पार्ने, व्यापारी तथा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन लगाउने काममा मन्त्री पोखरेलले उनलाई परिचालन गरेको स्रोतको दावी छ । 
काठमाडौं प्रहरी प्रमुख हुँदा विश्वराजले इश्वरको निर्देशनमा अधिकाशं व्यापारी तथा व्यवसायीलाई धम्की दिएर उठती धन्दा चलाएका थिए । जानकारहरुका अनुसार विश्वराजले उठाएको मोटो रकमको ठूलो हिस्सा ईश्वर पोखरेल कहाँ पुग्ने गरेको थियो । सोही धन्दालाई अगाडि बढाउने ध्येयका साथ पछिल्ला दिनमा समेत रक्षामन्त्रीको हैसियत भूलेर ईश्वर पोखरेले विश्वराजलाई परिचालन गरेका छन् । 
गृहमन्त्री, प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई समेत विश्वराजले अटेर गर्ने गरेका छन् । त्यसो त उनै इश्वर पोखरलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजदूत बनाउने भन्दै राजीनामा दिन दबाव दिएको जानकार स्रोतको दावी छ । खनाललाई राजीनामा दिन बाध्य पारेर विश्वराजलाई प्रहरी प्रमुख बनाउने योजना समेत तय भएको छ । प्रहरी संगठन राम्रो बनाउन नसकेको, परिचालनमा समस्या रहेको, चेन अफ कमाण्ड नभएको जस्ता फतुर लगाएर खनाललाई राजीनामा गराउन दबाव दिइएको छ । विश्व्राजलाई जसरी भएपनि प्रहरी प्रमुख बनाउने भन्दै इश्वर पोखरेलले शक्ति केन्द्रलाई समेत परिचालन गरेको पाइएको छ । 
राजदूतको चास्नी देखाएर खनाललाई सेबोटेज गर्ने धन्दा सुरु भएपछि गृह मन्त्रालयमा समेत सो बारेमा चर्चा परिचर्चा सुरु भएको छ । विभागिय मन्त्रालय भन्दा बाहिर नै प्रहरी प्रमुखको विषयमा उपप्रधानमन्त्री स्तरमा नै साजिस सुरु भएपछि रक्षा र गृह मन्त्रालयको सम्बन्धमा समेत दरार पैदा भएको छ । एकले अर्कोको सूचना लिनका लागि कर्मचारी स्तरमा नै सुराकी परिचालन गरिएको छ । मन्त्रालयमा काम नभएपछि राजनीतिक रुपमा एकता प्रक्रिया भाँडन लागेका इश्वर पोखरेल प्रहरीको चेन अफ कमाण्ड समेत भत्काउन थालेका छन् । 
रक्षामन्त्रीले नै कमिसन खोजेपछि
नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेश द्रूत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत स्वीकृत गर्न नदिएका पोखरेलले सेनाका अन्य ठेक्का पट्टामा समेत हस्तक्षेप गर्ने गरेका छन् । द्रूतमार्गमा लगानी हुने सरकारी कोषबाट रक्षामन्त्रीले नै कमिसन खोजेपछि डिपिआर स्वीकृत हुन समय लागेको छ । 
कोरियाली कम्पनीले गत फागुनमा बुझाएको डिपिआर हालसम्म पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छैन । त्यसमा इश्वर पोखरेलले नै राष्ट्रिय हित विरुद्ध लागेका पाइएको छ । त्यो डिपिआर किन स्वकिृत गर्ने, देशले नधान्ने आयोजना किन बनाउने, त्यसमा मेरो हिस्सा के हुने जस्ता असाध्यै गैर राजनीतिक चिन्तन राखेर उनले डिपिआर रोकेका छन् । दोष जति भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघूवीर महासेठलाई लगाएर इश्वर पोखरेल पानीमाथिको ओभानो बनेको जानकारको भनाइ छ । 
आफू पूर्वएमालेको महासचिव समेत रहेको, मन्त्रिपरिषदमा प्रधानमन्त्री पछिको दोस्रो वरियतामा रहेका कारणले पनि मैले भनेको हुनुपर्छ भन्दै उनले हरेक पटकको मन्त्रिपरिषद्को बैठकमा रडाको मात्रै झिक्ने गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । पोखरेलको ज्यादती क्रमशः बढ्दै गएपनि प्रधानमन्त्री ओलीले कुनै अब्जेक्श्न नजनाएको बताइन्छ । मन्त्री पोखरेल उम्लिँदै गए भने उनलाई कोही कसैले पनि जोगाउन नसक्ने नेकपाका नेता तथा कार्यकर्ताको विश्लेषण छ । 
पोखरेलले जिल्ला कमिटि चयनमा समेत केही जिल्लामा हस्तक्षेप गरेका छन् । उनले ओली समूह र विशेष गरी आफ्ना मान्छे नपरेको भन्दै ओलढुंगामा हस्तक्षेप गरेका छन् । त्यस्तै जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता चयनमा समेत उनले हस्तक्षेप गरेका कारण जनवर्गीय संगठनको एकता भएपनि पदाधिकारी तथा अन्य सदस्य चयन हुन सकेको छैन । एकताको मर्म र भावना विपरित पूर्व एमाले समूहका मान्छे मात्रै समेट्न पोखरेलले दबाव दिएका कारण पदाधिकारी तथा अन्य सदस्य चयनमा समस्या परेको जानकारहरुको भनाइ छ । पार्टी राजनीतिमा खारिएका, पूर्वमहासचिव समेत रहेका व्यक्ति नै तल्लो स्तरमा उत्रेर राजनीतिमाथि राजनीति गर्न थालेपछि नेकपाप्रति जनताको विश्वास समेत ट्ट्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस