छबीराज ओझाबाट असुरक्षित भएको भन्दै शिल्पा पोखरेलले दिइन उजुरी

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, १३ : ३२
छबीराज ओझाबाट असुरक्षित भएको भन्दै शिल्पा पोखरेलले दिइन उजुरी

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छवि र अभिनेत्री शिल्पाबीच पछिल्लो समय खटपटको विषय बाहिरि रहेको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको बताइएको छ ।

श्रीमानले आफूलाई हातपात गर्दा कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले उजुरी दर्ता भएपछि उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए ।

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताइन् । चलचित्र क्षेत्रका जानकारहरुका अनुसार शिल्पाले विकास रौनियारलाई तिहारको टिका लगाएर दार्इ मान्दै आएकी छिन् । अहिले उनै दाइको घरमा शिल्पा संरक्षणमा रहेकी हुन् । यस विषयमा प्रतिक्रिया लिन निर्माता ओझालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । 

लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालमा गोप्यरुपमा बिबाह भएको थियो । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् ।  रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

शिल्पालाई चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए ।

प्रतिक्रिया दिनुहोस